जब पोर्शेका धेरै लगानीकर्ताहरूले सेयर बेचिदिए...

काठमाडौं । जर्मन स्पोर्ट्स कार निर्माता पोर्शेको लगानीकर्ताहरू सोमबार असन्तुष्ट देखिए । कम्पनीले यो वर्षको नाफामा कमी आउने चेतावनी दिएपछि धेरै लगानीकर्ताले आफ्ना सेयर बेचिदिए, जसका कारण सेयर मूल्य ठूलो मात्रामा घट्यो । पोर्शे अहिले आफ्ना परम्परागत पेट्रोल कार र बढ्दो इलेक्ट्रिक सवारीसाधन बजारबीच सन्तुलन मिलाउन संघर्ष गरिरहेको छ । साथै कम्पनीको विद्युतीय कारको उत्पादन ढिलो हुँदा नाफामा थप दबाब परेको छ । पोर्शेको सेयर सोमबार ७ प्रतिशतभन्दा बढीले घट्यो । कम्पनीले शुक्रबार इलेक्ट्रिक सवारी उत्पादन ढिलो गर्ने र नाफाको लक्ष्य घटाउने घोषणा गरेको थियो, जसको कारण चीनको कमजोर माग र अमेरिकामा बढेका भन्सार शुल्कहरू रहेका छन् । पोर्शेको समस्या युरोपेली सवारीसाधन उद्योगकै ठूलो चुनौतीको संकेत हो । चीनमा कडा मूल्य प्रतिस्पर्धा र आर्थिक मन्दीका कारण विशेषगरी उच्चस्तरीय ब्रान्डहरूको माग घट्दै गएको छ । मातृ कम्पनी फक्सवागनले उत्पादन पुनर्गठनका कारण ५.१ अर्ब युरो (६ अर्ब डलर) घाटा बेहोर्नुपर्ने र केही ईभी मोडेल ढिलो गरी हाइब्रिड र इन्धन इन्जिन कारमा प्राथमिकता दिने बताएको छ । यस ढिलाइका कारण पोर्शेको सञ्चालन नाफा यस वर्ष १.८ अर्ब युरोसम्म घट्नेछ । ईभी माग घट्दा पोर्शेको नाफाको लक्ष्य खुम्चियो पोर्शेले अब २०२५ को नाफा मार्जिन २ प्रतिशतभन्दा बढी नहुने अपेक्षा गरेको छ, जुन अघिल्लो ५–७ प्रतिशत लक्ष्यभन्दा निकै कम हो । केही विश्लेषकहरूले यो कटौतीलाई अपरिहार्य भनेका छन्, किनकि ईभीको सुस्त मागका कारण पोर्शेले आफ्ना पेट्रोल इन्जिन कारहरूको जीवनचक्र बढाउनुपर्ने दबाब छ । युरोपेली संघ (ईयू) ले २०३५ देखि नयाँ पेट्रोल कार बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको भए पनि गाडी कम्पनीका उच्च पदाधिकारीहरूले यो लक्ष्यलाई असम्भव भन्दै लचिलो बनाउन ब्रुसेल्सलाई आग्रह गरेका छन् । पोर्शेले भने मध्यम र दीर्घकालीन समयमा यो पुनर्संरचनाले सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेको छ । कम्पनीले २०२३ मा १८ प्रतिशत र २०२४ मा १४ प्रतिशत बिक्री नाफापछि मध्यम अवधिमा १०–१५ प्रतिशत सञ्चालन नाफा लक्ष्य बनाएको छ । तीन वर्षअघि सेयर बजारमा सूचीकृत हुँदा पोरशेले दीर्घकालीन रूपमा २० प्रतिशतभन्दा बढी बिक्री नाफा लक्ष्य लिएको थियो । तर अहिले कम्पनीको सेयर मूल्य आधाभन्दा बढी घटिसकेको छ । बर्नस्टिनका विश्लेषकहरूले भनेका छन् कि ईभीमा अर्बौं युरो लगानी गरे पनि पोरशे टेस्लाजस्ता शीर्ष प्रतिस्पर्धीलाई चुनौती दिन सक्षम भएको छैन । ‘ग्राहकहरूले माग गरेको लचिलो र विभिन्न पावरट्रेन विकल्पका उत्पादनहरू पुनः विकास गर्न समय र ठूलो रकम लाग्नेछ,’ बर्नस्टिनले लगानीकर्तालाई पठाएको नोटमा भनेको छ । ईभीमा अत्यधिक भरपर्दा भएको ‘गल्ती’ सच्याउने प्रयास पोर्शेमा ७५.४ प्रतिशत स्वामित्व राख्ने फक्सवागनले पनि आफ्नो नाफा लक्ष्य ४–५ प्रतिशतबाट घटाएर २–३ प्रतिशतमा ल्याएको छ । जेफ्रीजका विश्लेषकहरूले यो वर्ष पोरशेको तेस्रो पटकको नाफा पूर्वानुमान घटाइले उत्पादन चक्र र ब्रान्डमै चुनौती ल्याउन सक्ने चेतावनी दिएका छन् । १.८ अर्ब युरोको नोक्सानी मुख्यतस् तेस्रो त्रैमासमा हुने भएकाले दोस्रो अर्धवार्षिक नोक्सानी हुने अपेक्षा गरिएको छ । एक स्थानीय सेयर व्यापारीले यो रणनीतिक निर्णयलाई ‘अपरिहार्य’ बताए र कम्पनी अत्यधिक ईभीमा भर पर्न पुगेको चेतावनी दिए । ‘ईभीमा अत्यधिक भर पर्न गएको पूर्व गल्ती सच्याउन समय लाग्छ,’ व्यापारीले नाम नखुलाउने सर्तमा भने । पोर्शे र फक्सवागनमा बढेका समस्या देखेर लगानीकर्ता र श्रमिक यूनियनहरूले ओलिभर ब्लुमेलाई दुवै कम्पनीको सीईओको दोहोरो जिम्मेवारी समाप्त गर्न आग्रह गरेका छन् । सेमीकन्डक्टर क्रान्तिमा भारत : १० ठूला परियोजना र १.६ ट्रिलियनको लगानी मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज  

साझाका ५ वटा सटल बस काठमाडौंदेखि नारायणगढसम्म

काठमाडौँ । दशैंको बेला उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहजता प्रदान गर्न साझा यातायातले सटल बस सेवा सञ्चालनमा ल्याएको छ ।  यस वर्ष सवारीसाधनको कमी हुने र सडकको अवस्था पनि बिग्रिएको हुनसक्ने भएकाले यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले यो सेवा सुरु गरिएको साझा यातायातले जनाएको छ ।  साझा यातायाताका अनुसार काठमाडौं-नारायणगढ रुटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । मंगलबारदेखि सुरु भएको यो सेवा दशैंअवधिभरि जारी रहनेछ । दैनिक पाँचवटा बसले यो रुटमा सेवा दिनेछन् । बसहरू हरेक दिन बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा कलंकीबाट छुट्ने छन् । साझाका अनुसार बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म बसहरू काठमाडौंबाट प्रस्थान गर्नेछन् । यात्रुले सिटमा मात्र बस्न पाउने, उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाउने साझाले जनाएको छ । टिकटबिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने संस्थाले स्पष्ट पारेको छ ।  प्रारम्भिक दिनमा यात्रुको संख्या केही कम भए पनि, अहिले फोनमार्फत सोधपुछ र अनलाइन बुकिङ गर्नेहरूको संख्या बढेको साझा यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालले विकासन्युजलाई जानकारी दिए ।  उनका अनुसार टिकटको मूल्य सरकारी दररेटअनुसार निर्धारण गरिएको छ  । यात्रुहरूले अनलाइन माध्यमबाट पनि टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  नारायणगढसम्मको भाडा एकतर्फी ३०० रुपैयाँ तोकेको उनको भनाइ छ । यात्रुले अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । यात्रुहरूको सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरिनुका साथै ट्राफिक समन्वय अधिकारीहरूसँग पनि सहकार्य गरिएको छ । बस्यालका अनुसार विगतमा यातायात व्यवसायीहरूको आन्दोलनका बेला पनि साझाले उपत्यकाभित्र र बाहिर बस सञ्चालन गरेर यात्रुहरूलाई सहयोग गरेको थियो ।  चीन सरकारको अनुदानमा १०० वटा विद्युतीय बस ल्याउने योजना साझाको छ ।   साझा यातायात नेपाल सरकारको ९९ प्रतिशत लगानी रहेको एक सार्वजनिक यातायात संस्था हो । हाल साझा यातायातसँग १ सय ११ वटा बस सञ्चालनमा छन् । उपत्यकाभित्र चल्ने बसहरूका लागि आफ्नै परिसरभित्र २० वटा चार्जिङ स्टेशन पनि निर्माण गरिएका छन् ।  यात्रुहरूले साझालाई सुरक्षित र भरपर्दो यात्राका लागि मन पराएको प्रतिक्रिया साझाले पाएको छ । जसले गर्दा धेरै यात्रुहरूले अन्य सार्वजनिक यातायातभन्दा साझालाई प्राथमिकता दिने गरेको बस्यालले बताए । 

२ महिनामा ७ अर्ब बढीका सवारी साधन भित्रिए, साढे ४ अर्ब रुपैयाँ  राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ बराबरका सवारीसाधन तथा पार्ट पुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्ट पुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार गत आवको उक्त अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ का सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए । कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको २ महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । ‘गत आवको २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ,’ उनले भने । गत आवको २ महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ  राजस्व सङ्कलन भएको थियो भने चालु आवको २ महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख रुपैयाँ  राजस्व सङ्कलन भएको छ । चालु आवको २ महिनामा ४३ करोड ५२ लाख रुपैयाँका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख रुपैयाँका २९५ वटा जीप, कार र  भ्यान आयात भएको थियो । चालु आवको २ महिनामा २ अर्ब ७९ करोड रुपैयाँका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा १ अर्ब ८५ करोड रुपैयाँका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको २ महिनामा ६६ करोड ४३ लाख रुपैयाँका ३१८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।