नाडामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएपछि निर्वाचन कार्यक्रम रद्द

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि १७ सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुने सम्भावना देखिएको थियो । तर, अन्तिम समयमा उम्मेदवार दीपककुमार अग्रवालले आफ्नो नाम फिर्ता लिएसँगै सबै सदस्यहरू निर्विरोध चयन भएका हुन् । नाडा स्रोतका अनुसार अग्रवाललाई पछि कार्यसमितिमा मनोनित गर्ने सहमति जुटेपछि निर्वाचनको अन्योल हटेको हो । व्यक्तिगततर्फबाट विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी र विकास जोशी निर्वाचित भएका छन् । त्यसैगरी, संस्थागततर्फ सातै प्रदेशका अटोमोबाइल्स एशोसिएसनबाट प्रतिनिधिहरू चुनिएका छन् । जसमा डिल्लीराज आचार्य (मोरङ), केदारकुमार अग्रवाल (जानकी), दामोदर प्रसाद अटल (हेटौंडा), दीपेन्द्र कोइराला (पश्चिमाञ्चल), गणेशप्रसाद भट्टराई (लुम्बिनी), भद्र भण्डारी (कर्णाली) र पुस्करराज ओझा (सुदूरपश्चिम) रहेका छन् । नाडाको विधान अनुसार २९ सदस्यीय कार्यसमितिमा २५ जना निर्विरोध चयन भएका छन् भने निवर्तमान अध्यक्ष स्वतः सदस्य रहने व्यवस्था छ । बाँकी तीन सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ । गत पुस ९ गते ४९ औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचन कार्यतालिका नमिलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो । सोही बमोजिम पुस २५ गतेका लागि निर्वाचन तय गरिएको थियो । तर, व्यवसायीहरूबीचको आपसी समझदारी र एकताका कारण चुनाव नगरी नै नयाँ नेतृत्व छानिएको छ ।

नाडामा असन्तुष्ट पक्ष अदालत जाने तयारी, कार्यसमिति निर्विरोध गराएर नाटक गरेको आरोप

काठमाडौं । नेपालको अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध हुने लगभग निश्चितजस्तै भएको छ ।  तर नाडाभित्रको असन्तुष्ट पक्षले भने यो सम्पूर्ण निर्वाचन प्रक्रियालाई अवैधानिक र नाटकको संज्ञा दिँदै बहिष्कार गरेको छ । असन्तुष्ट पक्षले नयाँ नेतृत्वको वैधतामाथि प्रश्न उठाएको छ । असन्तुष्ट पक्षका एक अटो व्यवसायीका अनुसार यो चुनाव एउटा समूहले मात्र गरेको र यसमा आफूहरूको सहभागिता नरहेको बताए । ‘यो विधानविपरीत भएको निर्वाचन हो, यसको कुनै अर्थ छैन । यो चुनाव एउटा नाटक मात्र हो,’ उनले भने, ‘हामीले त्यहाँ सहभागी नै भएका छैनौं, त्यसपछि निर्विरोध त भइहाल्छ नि ।’ उनका अनुसार विगतमा करण चौधरीपछि आकाश गोल्छालाई नेतृत्व दिने गरी विधानसमेत संशोधन गरेर सहमति भएको थियो तर उक्त सहमति कार्यान्वयन भएन। उनले नाडा अब पहिलाको नाडाजस्तो नरहेको जिकिर गरे । ‘नाडा नाडा जस्तो रहेन, यहाँ सवारीसाधनका आयातकर्ता निकै कम छन्, अब यो पार्ट्स र डिलरहरूको मात्र संस्था बन्न लाग्यो,’ उनले भने । असन्तुष्ट पक्षले निर्वाचन प्रक्रियाविरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतको फैसला नै आफूहरूलाई मान्य हुने जनाएको छ ।  नाडाको ४९ औं साधारण सभा तथा निर्वाचन विरुद्ध असन्तुष्ट पक्ष अदालतमा जाने तयारीमा छ । अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा उप्रेतीको मात्रै उम्मेदवारी परेको थियो । यद्यपि निर्वाचन समितिका अनुसार उनलाई निर्वाचित घोषणा गर्न भने बाँकी छ । नाडाका कोषाध्यक्ष मिलन मल्लले भने, ‘अहिले उहाँलाई निर्वाचित भन्न मिल्दैन । निर्विरोध उम्मेदवार हुनुभएको हो । चुनाव त यही २५ गतेलाई तोकिएको छ ।’ नाडाको नेतृत्व सम्हाल्न तयार उप्रेती अटोमोबाइल क्षेत्रमा परिचित नाम हो । हेटौंडा भएका उनी विशेषगरी स्पेयर पार्ट्सको आयात व्यवसायमा संलग्न छन् । उनी पीएलओ समूहसँग पनि आबद्ध छन् । लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटो क्षेत्रको उत्थानमा उप्रेती सक्रिय मानिन्छन् । यसअघि नाडाको कोषाध्यक्ष र महासचिव पद सम्हालिसकेका उप्रेतीले लुब्रिकेन्ट र वातावरण समितिको सदस्य रहेर समेत काम गरिसकेका छन् ।  नाडाको विधानअनुसार निर्वाचनबाट एकजना अध्यक्ष र १७ जना सदस्य निर्वाचित हुन्छन् । त्यसपछि निर्वाचित अध्यक्ष र सदस्यहरूले आफूहरूमध्येबाटै अन्य पदाधिकारीहरू (उपाध्यक्ष, महासचिव, सचिव आदि) चयन गर्छन् । यस प्रक्रियामा निवर्तमान अध्यक्षसहित कुल १९ जनाको भोटिङबाट पदाधिकारीहरूको टुङ्गो लाग्नेछ ।  एकातर्फ उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति आउने निश्चित देखिएको छ भने अर्कोतर्फ संस्थाभित्रको गहिरो मतभेद र कानुनी चुनौतीले नाडाको आगामी यात्रा सहज नहुने देखिन्छ। यसअघि गत पुस ९ गते नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचनको प्रक्रिया भने केही अन्यौलपूर्ण बनेको थियो । निर्वाचन कार्यतालिका बिना नै साधारण सभा बोलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन रोक्न निर्देशन दिएको थियो ।  प्रशासनको सोही आदेशको पालना गर्दै नाडाले पुस २५ गतेका लागि नयाँ निर्वाचन मिति तय गरेको थियो । अध्यक्षमा उप्रेती निर्विरोध भएसँगै अब अन्य कार्यसमिति सदस्य र पदाधिकारीहरू पनि सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको नाडाले जनाएको छ । अन्यौलमा नाडा निर्वाचन, विधान उल्लंघन र अदालतको चक्करमा नयाँ नेतृत्व नाडाको ४९ औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि पुस २५ गते निर्वाचन हुने नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौं । नेपालको अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) ले नयाँ नेतृत्व पाएको छ । नाडाको आगामी कार्यकालका लागि वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएको कोषाध्यक्ष मिलन मल्लले जानकारी दिए ।  मल्लका अनुसार आगामी पुस २५ गते हुने निर्वाचनका लागि बिहीबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो । सो समयसीमाभित्र अध्यक्ष पदका लागि उप्रेतीको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन् । निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।  लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटोमोबाइल क्षेत्रको उत्थानमा सक्रिय उप्रेती कुशल संगठित मानिन्छन् । यसअघि नाडाको कोषाध्यक्ष र महासचिव पद सम्हालिसकेका उप्रेतीले लुब्रिकेन्ट र वातावरण समितिको सदस्य रहेर समेत काम गरिसकेका छन् ।  व्यवसायिक रूपमा उनी प्रतिष्ठित एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनको नेतृत्वमा रहेको एसटीसी ग्रुपले नेपालमा टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्ट्सको व्यवसायमा बलियो उपस्थिति जनाउँदै आएको छ ।  यसअघि गत पुस ९ गते नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचनको प्रक्रिया भने केही अन्याैलपूर्ण बनेको थियो। निर्वाचन कार्यतालिका बिना नै साधारण सभा बोलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन रोक्न निर्देशन दिएको थियो ।  प्रशासनको सोही आदेशको पालना गर्दै नाडाले पुस २५ गतेका लागि नयाँ निर्वाचन मिति तय गरेको थियो । अध्यक्षमा उप्रेती निर्विरोध भएसँगै अब अन्य कार्यसमिति सदस्य र पदाधिकारीहरू पनि सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको नाडाले जनाएको छ । अन्यौलमा नाडा निर्वाचन, विधान उल्लंघन र अदालतको चक्करमा नयाँ नेतृत्व नाडाको ४९ औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि पुस २५ गते निर्वाचन हुने नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन