चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुल्यो
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा (२०८३) का लागि अनलाइन आवेदन खुलाएको छ । साउन पहिलो साता नै खुलाइसक्नुपर्ने एकीकृत प्रवेश परीक्षाको आवदेन खुलाउन नसकेको गुनासोपछि आयोगले आवेदन खुलाएको हो । आयोगको परीक्षा निर्देशनालयले एक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट साउन २५ गते बिहान १० बजेदेखि भदौ १५ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन आह्वान गरेको छ । निर्धारित अवधिमा आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरी भदौ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । आयोगले यसअघि शैक्षिक कार्यतालिकाअनुसार आवेदन प्रक्रिया सुरु हुन नसकेपछि एमबीबीएस, बीडीएस, बीएससी नर्सिङलगायत स्वास्थ्य विज्ञानका स्नातक तहका कार्यक्रममा अध्ययन गर्न इच्छुक हजारौं विद्यार्थी अन्योलमा परेका थिए। पछिल्लो सूचनासँगै प्रवेश परीक्षा प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । आयोगले आवेदन दिनुअघि सम्बन्धित कार्यक्रमको योग्यता, आवश्यक कागजात र परीक्षा सम्बन्धी विवरण आयोगले प्रकाशन गरेको सूचना र निर्देशिकाबाट अध्ययन गर्न पनि उम्मेदवारलाई आग्रह गरेको छ ।
बिर्सने बानी बढ्दै छ ? स्मरणशक्ति बढाउन रोजमेरी उपयोगी हुनसक्ने
काठमाडौं । पछिल्लो समय तनाव, अपर्याप्त निद्रा, असन्तुलित खानपान र अत्यधिक स्क्रिन प्रयोगका कारण कम उमेरमै स्मरणशक्ति कमजोर हुने समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा रोजमेरी नामक सुगन्धित औषधीय जडीबुटी स्मरणशक्ति र मस्तिष्क स्वास्थ्यका लागि उपयोगी हुनसक्ने आयुर्वेद विशेषज्ञले बताएका छन् । विज्ञहरूका अनुसार रोजमेरीमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट तथा बायोएक्टिभ तत्वहरूले शरीर र मस्तिष्कलाई अक्सिडेटिभ तनावबाट जोगाउन सहयोग गर्न सक्छन् । रोजमेरी स्वस्थ जीवनशैलीको एक हिस्सा मान्नुपर्ने उल्लेख गर्दै विज्ञहरू यसलाई कुनै गम्भीर रोगको उपचारको विकल्पका रूपमा प्रयोग गर्न नहुने चेतावनीसमेत दिएका छन् । विभिन्न वैज्ञानिक अध्ययनले पनि रोजमेरीको सुगन्ध र यसमा रहेका सक्रिय तत्वले स्मरणशक्ति तथा एकाग्रतामा सकारात्मक प्रभाव पार्न सक्ने संकेत गरेका छन् । नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनमा प्रकाशित अध्ययनअनुसार रोजमेरीका केही यौगिकले मस्तिष्कका कोषिकाको संरक्षण गर्न र संज्ञानात्मक क्षमता सुधार्न सहयोग गर्न सक्छन् । यस्तै, नर्थम्ब्रिया विश्वविद्यालयको एक अध्ययनले रोजमेरीको आवश्यक तेलको सुगन्ध भएको कोठामा रहेका सहभागीहरूले स्मरणशक्ति परीक्षणमा राम्रो प्रदर्शन गरेको देखाएको छ । यद्यपि यस विषयमा अझ ठूलो स्तरका क्लिनिकल अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धानका अनुसार रोजमेरीमा पाइने कार्नोसिक एसिड, कार्नोसोल र रोजमारिनिक एसिड शक्तिशाली एन्टिअक्सिडेन्ट हुन् । यी तत्वले मस्तिष्कको सूजन कम गर्न, न्युरोनलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन तथा सिकाइ र स्मरण प्रक्रियामा महत्त्वपूर्ण मानिने एसिटाइलकोलिनको स्तर कायम राख्न सहयोग गर्न सक्ने अध्ययनहरूले देखाएका छन् । रोजमेरी स्मरणशक्तिमा मात्र सीमित छैन । अध्ययनहरूका अनुसार यसले पाचन प्रणालीलाई सक्रिय बनाउन, ग्यास तथा अपचको समस्या कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन तथा जोर्नीको सुन्नाइ र गठियाबाट हुने असहजता कम गर्न पनि सहयोग गर्न सक्छ । रोजमेरीको विशिष्ट सुगन्धका कारण यो विश्वभर लोकप्रिय छ । यसको तेल कपालको वृद्धि, चिन्ता कम गर्न तथा मनोदशा सुधार्न उपयोगी हुन सक्ने दाबी गरिँदै आएको छ । यही कारण औषधी तथा सौन्दर्य प्रशोधन उत्पादन गर्ने कम्पनीहरूले पनि यसलाई विभिन्न उत्पादनमा प्रयोग गर्दै आएका छन् । विज्ञहरूका अनुसार हालसम्मका अध्ययनले रोजमेरीका सम्भावित फाइदाबारे सकारात्मक संकेत दिएका भए पनि यसलाई स्मरणशक्ति बढाउने ‘चमत्कारी औषधी’ मान्न मिल्दैन । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र मानसिक सक्रियतासँगै यसको प्रयोग गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ । साथै कुनै औषधि सेवन गरिरहेका वा सप्लिमेन्टका रूपमा रोजमेरी प्रयोग गर्न चाहने व्यक्तिले चिकित्सक वा आयुर्वेद विशेषज्ञको सल्लाह लिनुपर्ने विज्ञहरूको भनाइ छ ।
नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार (आज) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।