भुजुङ हाइड्रोको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा सकिने

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ। कम्पनीका अनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि अवधि सेयर बाँडफाँट भएको मितिले ६ महिनापछि अर्थात् २०८३ साउन २६ गते समाप्त हुनेछ ।  

एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक सीताराम थपलियाको राजीनामा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक सीताराम थपलियाले दिएको राजीनामा स्वीकृत भएको छ । असार २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थपलियाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलका अनुसार कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा (३) (ग) बमोजिम सञ्चालकको राजीनामा स्वीकृत गरिएको हो ।  को हुन् उनी ? सीताराम थपलिया नेपालको वित्तीय क्षेत्रका अनुभवी पूँजीबजार विज्ञ हुन् । उनले नेपालको पूँजीबजारको विकास र आधुनिकीकरणमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । थपलियाले सन् २०१३ देखि २०१७ सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्य गरेका थिए । उनको नेतृत्वमा नेप्सेमा पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली लागू गरिएको थियो भने धितोपत्र कारोबारलाई डिम्याट प्रणालीमार्फत डिजिटल बनाउने महत्वपूर्ण काम सम्पन्न भएको थियो । उनले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा अध्यक्ष तथा सञ्चालकको जिम्मेवारीसमेत सम्हालेका थिए । त्यस क्रममा उनले डिपोजिटरी सेवालाई देशभर विस्तार गर्नुका साथै धितोपत्र फर्छ्योट (सेटलमेन्ट) प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यसका अतिरिक्त थपलियाले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नागरिक लगानी कोष (सीआईटी) का सञ्चालक समिति सदस्यका रूपमा पनि काम गरेका छन् । ती संस्थाहरूमा रहँदा उनले नेपालको पूँजीबजारसम्बन्धी नीतिगत तथा संस्थागत सुधारमा महत्वपूर्ण योगदान दिएका छन् ।    

मौद्रिक नीति अघिको बजार २४ अंकले बढ्यो

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजार २४.५७ अंक बढेको छ । सोमबार २६ अंकले घटेको बजार आज उकालो लागेको हो । यससँगै बजार २६५१.६८ विन्दुमा उक्लिएको छ । आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । कारोबारतर्फ ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजार २२ पटकमा किनबेच भएको छ । कंलगा हाइड्रो, आरबीबी फोकस फन्ड, सनिगाड हाइड्रो, उपकार लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् । धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट रहेका छन् । समूहगत सूचकतर्फ १३ वटै समूह बढेका छन् । बैंकिङ १.५२, विकास बैंक १.१३, व्यापार १.८९ प्रतिशत बढे ।  त्यस्तै फाइनान्स ०‍.५७, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशत बढेका छन्  । आज राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।