क्यान्सर विवाद टुंग्याउन जेएन्डजेको साढे ७ खर्ब बढी क्षतिपूर्ति प्रस्ताव, यस्तो छ विवाद

काठमाडौं । प्रसिद्ध औषधि कम्पनी जोन्सन एन्ड जोन्सनले आफ्नो बेबी पाउडर तथा टाल्कयुक्त (टाल्कम) उत्पादन का कारण डिम्बाशय (ओभरी) क्यान्सर भएको आरोप लगाउँदै दायर गरिएका हजारौं मुद्दा टुंग्याउन ५.५ अर्ब अमेरिकी डलर (७ खर्ब, ६८ अर्ब २६ करोड रुपैयाँ) सम्म क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव विगत धेरै वर्षदेखि चलिरहेको ठूलो कानुनी विवाद अन्त्य गर्ने प्रयासका रूपमा आएको हो । उक्त विवादका कारण न्यु जर्सीस्थित यस स्वास्थ्य सेवा कम्पनीमाथि निरन्तर कानुनी र आर्थिक दबाब पर्दै आएको छ ।   यद्यपि, जोन्सन एन्ड जोन्सनले सुरुदेखि नै यी आरोप अस्वीकार गर्दै आएको छ । कम्पनीले आफ्ना टाल्कयुक्त उत्पादनले क्यान्सर नहुने दाबी गरेको छ । साथै कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र पनि परिवर्तन गरिसकेको जनाएको छ । कम्पनीका मुकदमा व्यवस्थापन (लिटिगेसन) सम्बन्धी उपाध्यक्ष एरिक हासले सोमबार यी आरोपलाई ‘निराधार’ भएको बताएका छन् । उनले कम्पनी केवल यो लामो समयदेखिको कानुनी विवादलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले सम्झौता गर्न तयार भएको स्पष्ट पारे । जोनसन एन्ड जोन्सनले आगामी वर्षभित्र ३ अर्ब अमेरिकी डलरसम्म भुक्तानी गर्ने जनाएको छ । त्यसपछि सन् २०२८ अघि थप कुनै भुक्तानी गर्नुपर्ने छैन । के हो विवाद ? जोन्सन एन्ड जोन्सनविरुद्ध धेरै वर्षदेखि हजारौं महिलाले कम्पनीको टाल्कयुक्त बेबी पाउडर तथा अन्य उत्पादनको प्रयोगका कारण डिम्बाशयमा क्यान्सर भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् ।  केही मुद्दामा अदालतले पीडितको पक्षमा फैसला गर्दै कम्पनीलाई ठूलो क्षतिपूर्ति तिर्न आदेश दिएको छ भने धेरै मुद्दा अझै कानुनी प्रक्रियामै छन् ।  कम्पनीले भने आफ्ना उत्पादन सुरक्षित रहेको र टाल्कयुक्त उत्पादनले क्यान्सर गराउने आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।  यसबीच कम्पनीले सन् २०२३ देखि विश्वव्यापी रूपमा टाल्कयुक्त बेबी पाउडरको बिक्री बन्द गरी कर्नस्टार्च (मकैको स्टार्च) आधारित उत्पादनलाई प्रतिस्थापन गरेको थियो ।  अहिले प्रस्ताव गरिएको ५.५ अर्ब अमेरिकी डलरको सम्झौता वर्षौंदेखिको यही कानुनी विवाद अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ ।

जीवनसाथी खोजिदियो एआईले, २६५ जोडी विवाह बन्धनमा

काठमाडौं । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ । सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेका छन् ।      ‘टोकियो एनमुसुबी’ नामक यो एप सेप्टेम्बर २०२४ मा सञ्चालनमा आएको थियो । विवाह गर्न इच्छुक करिब ७० प्रतिशत व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी नभएको सरकारी सर्वेक्षणपछि उनीहरूलाई सहज रूपमा जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।      एपमा सहभागी हुन इच्छुक व्यक्तिले आफू कानूनी रूपमा अविवाहित रहेको प्रमाण पेश गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । यसबाट विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिमात्र सहभागी हुने वातावरण बनाइएको सरकारको भनाइ छ ।      यस वर्ष जुन ३० सम्म एपमा करिब ३६ हजार आवेदनमध्ये १६ हजार सदस्य दर्ता भएका छन् । सरकारी तथ्याङ्कअनुसार हाल ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा छन् भने २६५ जोडीले विवाह गरिसकेका छन् ।      सरकारले सार्वजनिक गरेको अनुभवमा ‘टर्टल’ नामबाट चिनिएकी एक महिलाले आफ्नो ४०औँ जन्मदिन नजिकिँदै गर्दा यसलाई ‘अन्तिम अवसर’ ठानेर एप प्रयोग गरेको बताएका छन् । उनका अनुसार धेरै ब्लाइन्ड डेटपछि अगस्टको अन्त्यतिर वर्तमान पतिसँग भेट भएको, सेप्टेम्बरको मध्यदेखि गम्भीर सम्बन्ध सुरु भएको र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरिएको थियो ।      एपमार्फत जीवनसाथी भेट्टाउन सफल अर्का एक प्रयोगकर्ता ‘स्काइट्री’ ले एआईले सम्भावित जोडीसँगको अनुकूलता चरणबद्ध रूपमा देखाउने भएकाले भेट गर्ने निर्णय लिन सहज भएको बताएका छन् । उनका अनुसार आफ्नी प्रेमिकासँगको एआई अनुकूलता मूल्याङ्कन अत्यन्त उच्च रहेको थियो ।      यसबीच, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको सङ्ख्या घटेर छ लाख ७१ हजार २३६ मा पुगेको छ । यो सङ्ख्या लगातार दशौँ वर्षको वार्षिक गिरावट हो । सोही अवधिमा मृत्यु सङ्ख्या १६ लाखभन्दा बढी पुगेको छ भने प्रजनन दर १.१५ बाट घटेर १.१४ मा झरेको छ । यद्यपि विवाहको सङ्ख्या भने केही बढेको मन्त्रालयले जनाएको छ ।  

हर्मुजमा इरानको पकड बलियो, सबै विदेशी जहाज तेहरानकै मार्गमा

काठमाडौं । हर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमनलाई प्रभावित गर्ने इरानको रणनीति प्रभावकारी बन्दै गएको देखिएको छ ।  पछिल्ला तीन दिनको समुद्री तथ्यांकअनुसार जलडमरूमध्यबाट गुज्रिएका सबै जहाजहरूले तेहरानले तोकेको मार्ग (कोरिडोर) नै प्रयोग गरेका छन् ।  समुद्री गुप्तचर संस्था मारिस्क्सले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिमा अमेरिकी पक्षले सुझाव दिएको ओमानको तटीय वैकल्पिक मार्गबाट भने एउटा पनि जहाज नगएको उल्लेख गरिएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शनिबारदेखि सोमबारसम्म होर्मुज जलडमरूमध्यबाट ७८ वटा जहाज आवतजावत गरेको देखिएको छ । तीमध्ये २० वटा जहाज इरानी झण्डा बोकेका थिए । बाँकी ५८ वटा गैर–इरानी जहाजले इरानले तोकेको समुद्री कोरिडोर प्रयोग गरेका थिए। अमेरिकी सेनाले सिफारिस गरेको ओमानको तटीय वैकल्पिक समुद्री मार्ग प्रयोग गरेको कुनै पनि जहाज देखिएको छैन । पछिल्लो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम (एआईएस) तथ्यांकले पनि प्रतिबन्धका बाबजुद गैर–इरानी व्यावसायिक जहाजहरू इरानको नियन्त्रणमा रहेको उत्तरी समुद्री मार्गबाटै सञ्चालन भइरहेको देखाएको छ ।  अर्को समुद्री विश्लेषण कम्पनी विन्डवर्ड  ले पनि आइतबार हर्मुज जलडमरूमध्यबाट गुज्रिएका सातवटै जहाज इरानको नियन्त्रणमा रहेको उत्तरी मार्गबाट गएको जनाएको छ । हर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका र इरानबीच फेरि तनाव बढेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले पटक–पटक हर्मुजबाट गुज्रिने जहाजहरूले तेहरानको अनुमति लिनुपर्ने चेतावनी दिँदै आएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार प्रकाशित इरान डेलीसँगको अन्तर्वार्तामा वासिङ्टनले होर्मुज जलडमरूमध्यमा वैकल्पिक समुद्री मार्ग सञ्चालन गरेर इरान–अमेरिका समझदारीको जानाजानी उल्लङ्घन गरेको आरोप लगाए । इरानको सरकारी टेलिभिजन आईआरआईबीका अनुसार इरानी सेनाले जलडमरूमध्यको दक्षिणी भागबाट जान खोजिरहेका केही जहाजलाई मार्ग परिवर्तन गर्न निर्देशन दिएको छ । यसैबीच अमेरिकी नाकाबन्दीका बाबजुद इरानी बन्दरगाहमा तेल ट्यांकरहरूको आगमन निरन्तर भइरहेको बताइएको छ । विन्डवर्डको समुद्री तथ्यांकअनुसार आइतबार खार्ग द्वीपस्थित तेल लोडिङ टर्मिनलमा २४ वटा ट्यांकर पालो कुरिरहेका थिए। अघिल्लो दिन त्यहाँ २१ वटा ट्यांकर रहेका थिए ।  यसैबीच अमेरिका दुई सातासम्म जारी बमबारीपछि इरानमाथिको सैन्य आक्रमण अस्थायी रूपमा रोक्ने निर्णयमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पटक–पटक वार्ताको आग्रह गरिरहेको दाबी गर्दै कूटनीतिलाई अर्को अवसर दिन चाहेको बताएका छन् । तर, ट्रम्पले इरानसँगको वार्ता असफल भए अमेरिका पुनः सैन्य आक्रमण सुरु गर्न सक्ने चेतावनी पनि दिएका छन्। (अन्तर्राष्ट्रिय सञ्चारमाध्यबाट अनुदित तथा सम्पादित)