चार पूर्वशिक्षामन्त्रीमध्ये खनाल र पुनमात्र विजयी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन लडेका चार जना पूर्वशिक्षामन्त्रीमध्ये दुई जनामात्र विजयी भएका छन् । प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका पूर्वशिक्षामन्त्री शिशिर खनाल र महावीर पुन विजयी भएका हुन् । पूर्वशिक्षामन्त्री नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल भने पराजित भए ।  महावीर पुन  म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका पूर्वशिक्षामन्त्री महावीर पुन नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भए । पुन  २२ हजार ८ सय ५० मतका साथ विजयी भएका हुन् । पुन शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रूपमा पहल गर्ने मुद्दा अघि सार्दै निर्वाचनमा होमिएका थिए ।              शिशिर खनाल  पूर्वशिक्षामन्त्री शिशिर खनाल काठमाडौं– ६ बाट विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका खनाल २७ हजार ७ सय ११ मतसहित विजयी भएका हुन् । उनी यसअघि २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत पाए ।  पोखरेल र पौडेल पराजित पूर्वशिक्षामन्त्री पुन र खनाल विजयी हुँदा नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल पराजित भए । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–२ बाट निर्वाचन लडेका पौडेलको जमानतसमेत जफत भएको छ । रास्वपाका उम्मेदवार नरेन्द्रकुमार गुप्तासँग पराजित भएका पौडेलले जम्मा १ हजार ८सय ३८ मत प्राप्त गरेका थिए ।  ४४ हजार १ सय ३८ मत प्राप्त गर्दै गुप्ता विजयी भएका हुन् ।  गिरिराजमणि पोखरेल २०७२ सालमा करिब ९ महिना र २०७४ सालमा ३२ महिना गरी दुई पटक शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेल पनि यस पटकको निर्वाचनमा पराजित भएका छन् । उनी १० वर्षमा पाँच पटक नेपाल सरकारको मन्त्री भइसकेका व्यक्ति हुन् ।  २०६४ सालयता चुनाव जित्दै आएका पोखरेल यो पटक महोत्तरीबाट पराजित भएका हुन् । रास्वपाका प्रमोदकुमार महतोसँग पराजित पोखरेलले  १२ हजार ६ सय २४ मत ल्याउँदै पराजय बेहोरेका छन् ।

संसदीय यात्रामा रहेका पर्यटन व्यवसायीमध्ये कसले जिते, कसले हारे ?

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक दर्जन पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध भएका व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । होटल, ट्रेकिङ, पर्वतारोहण र पर्यटन व्यवस्थापन क्षेत्रमा सक्रिय उनीहरू विभिन्न दलबाट उम्मेदवार बनेका थिए । पछिल्लो निर्वाचन परिणाम हेर्दा केही उम्मेदवार विजयी भएका छन् भने अधिकांशले हार बेहोर्नुपरेको छ । निर्वाचनमा होमिएकामध्ये डिपी अर्याल, प्रकाशसिंह कार्की, धनञ्जय रेग्मी, योगेश गौचन थकाली र टेकबहादुर गुरुङ मात्रै संसदमा प्रवेश गर्न सफल भएका छन् । डोलप्रसाद अर्याल  डिपी ट्राभल, ट्रेकिङ सर्भिस, होटेलसहितका पर्यट व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक उपसभापतिसमेत हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनावमा उठेका थिए । अर्यालले ३५ हजार ९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याएर दोस्रो भइन् । धनञ्जय रेग्मी  पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले रास्वपामार्फत स्याङ्जा–१ बाट चुनाव लडेका थिए । डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरे । ढकालले १८ हजार ८५७ मत प्राप्त गर्दा ढकालले १८ हजार ८५७ मत ल्याएका छन् । प्रकाशसिंह कार्की  पर्यटन क्षेत्रमा लामो समय बिताएका प्रकाशसिंह कार्की नेपाली कांग्रेसबाट सोलुखुम्बु १ बाट चुनावमा उठेका थिए । वर्ल्ड फ्रेड कार्गोसहित विभिन्न पर्यटकीय गतिविधिमा सक्रिय कार्कीको संसदमा प्रवेश गर्ने यात्रा साकार भएको छ । उनले नेपाली कम्युनिष्ट पार्टीका असिम राईलाई पराजित गर्दै जीत निकालेका हुन् । उनले १३ हजार १६६ मत प्राप्त गरेका छन् भने राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । योगेश गौचन पर्यटन व्यवसायी योगेश गौचन थकालीले मुस्ताङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले नेकपा एमालेका इन्द्र धारा डादु विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका छन् । उनले ३ हजार ३०७ मत प्राप्त गरेका छन् । टेकबहादुर गुरुङ पर्यटन व्यवसायी टेकबहादुर गुरुङले मनाङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले पनि यस क्षेत्रबाट जीत हासिल गर्न सफल भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी)लाई १९ सय ६१ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २ हजार ४१५ मत ल्याउँदा गुरुङले ४५४ मात्रै मत प्राप्त गरेकी छिन् । जसले चुनाव हारे भागिरथ सापकोटा  ठमेलमा गोछाली ट्राभल चलाउने पुराना पर्यटन व्यवसायी भागिरथ सापकोटा नवलपुर १ बाट एमालेबाट चुनावमा उठेका थिए । तर उनले जित हासिल गर्न सकेनन् । उक्त क्षेत्रमा रास्वपाका राजन गौतमले जित हासिल गरे । गौतमले ५० हजार ९४५ मतसहित जीत हासिल गर्दा सापकोटा भने ९ हजार १३१ मत ल्याएर तेस्रोमा सीमित भएका छन् । रमेशप्रसाद धमला ठमेलमै केन्द्रित रही पर्यटन व्यवसायमा संलग्न रमेशप्रसाद धमला पनि संघीय संसदको दौडमा नेपाली कांग्रेसबाट धादिङ– २ बाट चुनावमा होमिए । उनी हिमालय इकोलोजी ट्राभलका सञ्चालकसमेत हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उनी दोस्रो स्थानमै सीमित भए । उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले हराएका हुन् । श्रेष्ठले २६ हजार १४५ मत पाउँदा धमलाले २० हजार २७९ मत ल्याएर दोस्रोमै चित्त बुझाउन बाध्य भएका छन्। मिङ्मा शेर्पा हेली एभरेष्ट र सेभेन स्टार समिटका सञ्चालक मिङ्मा शेर्पाले रास्वपाका तर्फबाट संखुवासभामा संघीय संसदका निम्ति चुनावमा उठे, तर उनले जीत निकाल्न सकेनन् । उनी ११ हजार १३५ मतसहित दोस्रो स्थानमा सीमित भए । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन् । उनले १२ हजार ३९६ मतले विजयी भएका छन् । कृष्ण रिजाल  पर्यटन व्यवसायी धाधिङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । तर उनको संसदमा प्रवेश गर्ने सपना साकार हुन सकेन । उक्त क्षेत्रमा रास्वपाका आसिका तामाङले ३९ हजार १२८ मत ल्याएर विजयी भएकी छिन् । रिजालले भने १० हजार ८० मत ल्याएर चौंथो नम्बरमा सीमित भए । कृष्णकुमार (किसान) श्रेष्ठ  होटल व्यवसायमा लगानी रहेका कृष्णकुमार (किसान) श्रेष्ठ बारा–४ बाट चुनावमा उठेका थिए ।  उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उठेका थिए । तर जीत हासिल गर्न सकेनन् । उनलाई रास्वपाका रहबर अन्सारीले पराजित गरे । अन्सारी  ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् । श्रेष्ठले भने ११ हजार ६३९ मत ल्याएर दोस्रोमा सीमित भए । सुमन सायमी  होटल व्यवसायी सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काठमाडौं–८ बाट चुनाव लडेका थिए । तर उनलाई रास्वपाका विराज भक्त श्रेष्ठले पराजित गरेका छन् । श्रेष्ठले २४ हजार ५९२ मत ल्याउँदा सायमीले ३ हजार २१७ मत ल्याउर दोस्रोमा सीमित भए । प्रेमकुमार खत्री ठमेलको चर्चित क्लब एलओडीसँगै एसीई दी हिमालयन ट्रेकिङका सञ्चालक प्रेमकुमार खत्रीले नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । पछिल्लो मतपरिणामअनुसार खत्रीको पराजित सुनिश्चित भइसकेको छ । उक्त क्षेत्रमा रास्वपाका २८ हजार ९६५ मत ल्याउँदा खत्रीले १५ हजार २३० मात्रै प्राप्त गरेका छन्। 

पूर्वस्वास्थ्यमन्त्री सबै पराजित

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका ८ जना पूर्वस्वास्थ्यमन्त्री सबै पराजित भएका छन् । ८ जनामध्ये ६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबाट पराजित भएका छन् भने एक जना नेपाली कांग्रेस र अर्को एकजना नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबाट पराजित भएका हुन्।   गगन थापा पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही– ४ मा पराजित भए । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका थापा यसपटक तराई झरेका थिए । उनी रास्वपाका अमरेश सिंहसँग पराजित भएका हुन् ।  रास्वपाका उम्मेदवार अमरेश सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा गगनले २२ हजार ८ सय ३१ मत ल्याए । २०६४ सालको निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् पसेका थापा २०७० सालको निर्वाचन पछिका हरेक निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुँदै आएका थिए । उपेन्द्र यादव   जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संसदीय यात्रामा पनि ब्रेक लागेको छ ।  सप्तरी– ३ बाट उम्मेदवार रहेका यादव रास्वपाका अमरकान्त चौधरीसँग पराजित भएका हुन् । चौधरीले ३२ हजार ८ सय ७५ मत ल्याउँदा यादवले १५ हजार २ सय ३० मत मात्र पाए ।  २०६४ सालको निर्वाचनमा मोरङ र २०७४ सालको निर्वाचनमा सप्तरी २ बाट विजयी भएका यादवको संसदीय यात्रामा ब्रेक लागेको हो ।  प्रदीप पौडेल   नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि पराजित भएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका उनी रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भए । पोखरेलले ३० हजार ७ सय ३७  मत ल्याउँदा पौडेलले १९ हजार ५१ मत ल्याए ।  प्रदीप यादव  पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव पनि रास्वपाका उम्मेदवारबाट पराजित भएका छन् ।  जसपाबाट स्वास्थ्यमन्त्री बनेका यादव जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरी योपटक पर्सा १ बाट उम्मेदवार बनेका थिए ।  रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २ सय ७४ मत प्राप्त गरी विजयी हुँदा यादवले १३ हजार ३० मत प्राप्त गरेका थिए ।  पदम गिरी  एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पनि पराजित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट पर्वत १ बाट उम्मेदवार बनेका उनी रास्वपाका उम्मेदवार सागर भुसालसँग पराजित भएका हुन् । भुसालले २६ हजार ५ सय ६१ मत ल्याउँदा गिरीले १५ हजार ७५ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।    शेरबहादुर तामाङ एमालेबाटै चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ पनि पराजित भएका  छन् । फागुन २१ गते सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलालसँग पराजित भएका हुन् । दुलालले २१ हजार ६ सय ९९ मत ल्याउँदा तामाङ १५ हजार ९ सय २६ मत ल्याए ।  भानुभक्त ढकाल  पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेबाट तेह्रथुम–१ मा उम्मेदवार बनेका ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भएका हुन् ।  सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याउँदा ढकालले १० हजार ६ सय ८२ मत ल्याएका थिए । गिरिराजमणि पोखरेल दुई पटक स्वास्थ्यमन्त्री बनेका गिरिराजमणि पोखरेल फागुन २१ गतेको निर्वाचनमा पराजित भएका छन् । नेकपाबाट महोत्तरी –१ मा उम्मेदवार बनेका पोखरेल रास्वपाका प्रमोदकुमार महतोसँग पराजित भएका हुन् । महतोले ३४ हजार ६ सय ३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका थिए ।