खाजा पसलदेखि तीन दर्जन होटल, ५० हजार ऋणबाट अर्बौंका मालिक
काठमाडौं । कुनै काम सुरु गर्दा यसरी लाग्नुहोस् कि तपाईंको मिहिनेत देखेर अरू थाकून् तर आफू थाकेको महसुस नहोस् । तन, मन र धन लगाएर गरेको मिहिनेतले कहिल्यै पछाडि फर्कन पर्दैन । बरु कसरी अगाडि बढ्ने भन्ने आँट र हिम्मत दिन्छ । यस्तै तन मन र हिम्मत लगाएर मिहिनेत गरेका एक सफल उद्यमी हुन् लक्ष्मण न्यौपाने उर्फ चिन्तामणि । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी नेपालमा आतिथ्य सेवा क्षेत्रमा उदाएको मौलिक ब्राण्ड हो, जसले होटल, रेस्टुरेन्ट, क्याफे र रिसोर्टहरू सञ्चालन गर्दै आएको छ । आजभन्दा २६ वर्षअघि एउटा खाजा पसलबाट सुरु गरेको उनको व्यावसायिक यात्रा अहिले पाँचतारेदेखि बुटिक होटलसम्म पुगेको छ । यस चेनभित्र हालसम्म नेपालमा विभिन्न ३३ ठाउँमा होेटल सञ्चालनमा छन् । नेपालभित्र सफल बन्दै गएको यस ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ आफू लागिरहेको उनी बताउँछन् । को हुन् लक्ष्मण ? ५३ वर्षअघि गुल्मीको छत्रकोट गाउँपालिकाको हुँगामा जन्मेका थिए न्यौपाने । ६ जना दाजुभाइमध्ये उनी माइला हुन् । त्यो बेला धन कमाउन जाने एउटै ठाउँ थियो भारत । उनका बुवा भारतमा काम गर्थे । १२ वर्षको उमेरमा उनी पनि भारत पसे । बुवाले भारतको गुवाहाटी भन्ने ठाउँमा खाद्यान्न÷रासनको सामान बेच्थे । न्यौपाने भारत जाँदा उनका बुवाले गाईफर्म सुरु गरेका थिए । जहाँ गाईलाई घाँस काट्नेदेखि दूध दुहेर बेच्ने काम बुवाले गर्थे । त्यही काममा बुवालाई सघाउन थाले उनले । एक पटक बुवाले गाईफर्म बेच्ने योजना बनाएका थिए । तर, उनले त्यसलाई रोके । आफूलाई सानैदेखि आफ्नै काम गर्ने रुचि भएको उनी सुनाउँछन् । उनको परिवार ठूलो थियो । गाउँमा खेतीपाती पनि ठूलो थियो । काम भ्याइनभ्याइ हुन्थ्यो । ‘मलाई खेलेर आनन्द लिएको याद छैन, काम गरेरै आनन्द लिनुपर्थ्याे,’ बाल्यकाल सम्झँदै न्यौपाने भन्छन्, ‘त्यही बानी परेर होला आज पनि मलाई खाली बस्न मन पर्दैन ।’ नाबालकमै भारत छिरेकाले उनी भारतमै हुर्के, बढे । करिब १४ वर्ष भारतमै बित्यो । त्यसमध्ये पनि भारतको गार्डन सिल्क मिल्स कम्पनीमा उनले धेरै वर्ष काम गरे । त्यहाँ उनको मिहिनेत देख्दा कम्पनीका सिनियरले पनि उनलाई माया गर्थे । सबैले विश्वास गर्दथे । ‘त्यहाँ काम गर्दा मैले यति धेरै माया पाएँ कि अहिले जाँदा पनि सिनियरहरू भेट्न आउनुहुन्छ,’ उनी भन्छन्, ‘मैले काम गर्दा कहिल्यै घडी हेरिनँ, मेरो समय सकियो जान्छु भनेर हिँडिनँ, जे काम भेटियो कि गरिहाल्थेँ ।’ श्रम क्षेत्रमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने गरिन्छ । तर, न्यौपानेलाई यस्ता मापदण्ड सही लाग्दैनन् । उनी भन्छन, ‘कसैलाई १५ घण्टा काम गर्न मन होला, कसैलाई ८ घण्टा मात्र काम गर्न मन होला । जसलाई जति काम गर्न मन छ, त्यति गर्न दिए हुन्छ । कार्यसम्पादनका आधारमा उसले प्रतिफल पाउनुपर्छ । मान्छेले श्रम गर्ने समय मेसिनमा झैं सेट गरिनु हुन्न ।’ त्यसपछि फर्किए नेपाल न्यौपानेलाई भारतमै अरूको कम्पनीमा काम गरेर बस्न चित्त बुझेन । नेपालमै केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उनी बुवासँगै नेपाल फर्के । त्यो बेला उनी २५ वर्षका थिए । उनीलाई तीन प्रकारका व्यवसाय गर्न मन थियो । पहिलो– ट्राभल, दोस्रो– गार्मेन्ट र तेस्रो– होटल । ट्राभल, गार्मेन्ट व्यवसाय गर्न आवश्यक पुँजी उनीसँग थिएन । त्यसैले थोरै पुँजीबाट चल्ने खाजा–खाना खुवाउने होटलबाट व्यवसाय सुरु गरेको उनी सुनाउँछन् । तर, सामाजिक परिवेशले न्यौपानेलाई होटल खोल्न पनि सहज भएन । ‘ठूलो रेस्टुरेन्ट खोल्न पैसा थिएन, खाजा पसल खोल्दा सबै काम आफैले गर्नुपर्ने, गाउँमा सबै चिनजानका मान्छे हुने, देख्नेहरूले भाँडा माझ्न थाल्यो भन्ने,’ उनी विगत स्मरण गर्दै भन्छन्, ‘त्यही भएर चिनेका मान्छे खासै नपुग्ने, गाउँघरबाट धेरै टाढा तर नयाँ बजार विकास हुँदै गरेको स्थानमा व्यवसाय थालेँ ।’ विसं २०५४ माघ २७ गते न्यौपानेले सिद्धार्थ फाष्टफुड सञ्चालन गरे टीकापुरमा । पसल सञ्चालनका लागि ५० हजार रुपैयाँ ऋण लिएका थिए । आफूलाई काम सघाउन एकजना सहयोगी त राखेका थिए । तर, खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका सबै काम आफैले गर्थे । टीकापुरमा उनको पसल राम्रो चल्यो । त्यसपछि उनलाई अझ मिहिनेत गर्न मन लाग्यो । थप लगानीमा व्यवसाय गर्न उनले ठूलो बजार खोजे र नेपालगञ्ज रोजे । त्यहाँ उनले सिद्धार्थ कटेज सुरु गरे । अब उनलाई एक्लै अघि बढ्न गाह्रो थियो । उनले साझेदार भित्र्याउन थाले । ज्वाइँ मुक्तिनाथ भण्डारी र कृष्ण भण्डारीलाई साझेदार बनाए । लक्ष्मण र ज्वाइँहरू नेपालगञ्जको सिद्धार्थ कटेजमा लाग्दा टीकापुरको सिद्धार्थ खाजा पसलको जिम्मा कान्छो भाइ केशव न्यौपानलेलाई सुम्पिए । एक्लै काम गर्दै आएका न्यौपानेलाई सहयोग गर्ने साथी हुँदा विगतको तुलनामा सहज भयो । त्यहाँ पनि व्यवसाय राम्रो चल्यो । त्यसपछि फेरि अर्को ठाउँ पुग्ने उनको योजना तयार भयो । त्यसपछि उनले सूदुरपश्चिमबाट पूर्वतिर आफ्नो व्यवसाय फैलाउँदै लगे । विसं २०५८ सालमा काठमाडौंको सुन्धारामा होटल सिद्धार्थ सञ्चालनमा ल्याए । विसं २०६० सालमा तीनकुनेमा सिद्धार्थ कटेज, रेष्टुरेन्ट एण्ड बार सुरु भयो । टीकापुर, नेपालगञ्ज, काठमाडौंमा विभिन्न होटेल, रेस्टुरेन्ट सञ्चालनमा आएपछि उनका धेरै ठाउँ व्यापार छरिए । लगानी र शाखा बढेपछि न्यौपानेले कम्पनी ग्रुप दर्ता गर्ने योजना बनाए । विसं २०६१ सालमा उनले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको रूपमा कम्पनी दर्ता गराएर व्यवसाय अगाडि बढाए । पहिले कटेजका रूपमा रहेको नेपालगञ्जको सिद्धार्थ कटेजलाई लक्जरी चारतारे होटलका रूपमा होटल सिद्धार्थ सञ्चालनमा ल्याउन सफल भए । त्यसपछि कर्णाली चिसापानीमा रिभरसाइड रिसोर्ट सञ्चालनमा ल्याए । व्यवसायले ठूलो फड्को मारेपछि उनलाई हौसला बढ्दै गयो । ५० हजार ऋण निकालेर सुरु गरेको उनको व्यवसाय अहिले अबौँमा पुगेको छ । ठाउँ-ठाउँमा सञ्चालनमा आएको व्यवसाय चल्न थालेपछि उनी टिम निर्माणमा लागे । उनले आफ्ना दाजुभाईलाई पनि आफ्नो व्यवसायमा आवद्ध गराए । अहिले उनको समूहमा वकिलदेखि सिएसम्मका व्यक्ति आवद्ध छन् । यी पनि उनको आफ्नै परिवार र साथीभाइ भित्रका नातेदार हुन् । उनी यहाँसम्म आफू पुग्न एक्लै असम्भव रहेको बताउँछन् । भन्छन्, ‘म एक्लै पुगेको होइन, मलाई लखेट्दै लखेट्दै मेरो टिमले यहाँसम्म पु¥याएको हो, साथीभाइले मलाई, मैले साथीभाइलाई, परिवारले मलाई, मैले परिवारलाई नगरेको भए यो सम्भव थिएन ।’ धैर्यता र मिहिनेत आवश्यक आजभोलि नेपालमा रेस्टुरेन्टमा गएर खानेपिउने क्रम बढेको छ । यही जीवनशैलीभित्र अवसर देखेर सहरी क्षेत्रमा धमाधम रेस्टुरेन्ट खुलिरहेका छन् । तर, लामो समयसम्म टिक्न भने गाह्रो हुन्छ । क्याफे तथा रेष्टुरेन्ट खोल्ने लहर मात्र छैन, एक सर्वेक्षणले साना तथा मझौला होटल र रेष्टुरेन्टहरूको स्वामित्व किनबेच सर्वाधिक देखाएको छ । क्याफे रेष्टुरेन्ट खोल्ने, बेच्ने क्रम उच्च रहेको जानकारहरू पनि बताउँछन् । ‘रहरले मात्र हुँदैन, व्यवसायप्रतिको प्यासन चाहिन्छ, समय दिन सक्नुपर्छ र यसलाई न्याय गर्न सक्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘आफै भान्छामा पस्न सकिन्छ कि सकिँदैन, कस्तो खाना कुन लेबलको बनाइरहेका छौं, त्यो कुरामा पनि सोच्नुपर्छ ।’ नवउद्यमीलाई सुझाव दिँदै उनी भन्छन्, ‘मजस्तो बन्न मन लागेर मात्र हुँदैन, यसका लागि मेरो जत्तिकै संघर्ष गर्नुपर्छ ।’ न्यौपाने रेस्टुरेन्टमा खानेकुरा पकाउँदा कुक सिकेकै हुनुपर्छ भन्ने नहुने बताउँछन् । आफूसँग भएको सीपले जसरी अहिलेसम्म पकाउँदै आइएको छ त्यसरी नै पकाउँदा पनि हुन्छ, किनकि यसो गर्दा स्वादमा फरक आउँछ । ‘मानौं एउटा कुनै कलाकार गीत गाउन गयो त्यहाँ फरक स्वर भएका थुप्रै कलाकार छन् भने एउटाको धोद्रो स्वर पनि नयाँ सुनिन्छ, मासले मन पराउँछन्, खाना पनि यस्तै हो,’ उनी थप्छन्,‘ तपाईंले हृदयदेखि बनाउनुभयो भने यत्तिकै मिठो बन्छ, त्यसप्रति समय दिएर गर्नुहुन्छ भने गर्नुहोस् न भए रहरले कुनैपनि बिजनेस सुरु नगर्नुहोस् ।’ पुँजी ठूलो कि प्लान ? व्यवसायका लागि पुँजी र प्लान दुवै आवश्यक पर्छ । कुनै एकमात्र छ भने पनि राम्रो हुँदैन । ‘पैसा नभइ नहुने पनि हो, सबै पैसा पनि होइन,’ न्यौपाने भन्छन्, ‘पैसाभन्दा ठूलो साथीभाइ, ब्राण्ड हो, अर्को संस्कार हो ।’ कुनैपनि व्यक्तिले होटल, रेष्टुरेन्ट बनाउन सुरु गर्दा सबैभन्दा पहिले पुँजी हुनुप¥यो । होटल भनेको ग्लायमर बिजनेस हो, किनभने यहाँ शो बढी हुन्छ । यसका चुनौती पनि त्यत्तिकै छन् । होटल क्षेत्रमा पहिले एउटा उखान थियो, ‘भए दोब्बर, नभए गोबर’ । त्यो बेला होटलमा खाना मात्र बेच्ने भएर पनि होला । खाना खाने मान्छे आयो भने त दोब्बरै हुन्छ, होइन भने त गोबर । न्यौपाने अहिले पनि लगभग त्यही उखान रहिरहेको बताउँछन् । होटल सञ्चालन गर्नु भनेको चानचुन होइन । ठूलो लगानी हुन्छ । ठूलो पूर्वाधार निर्माण गर्नुपर्छ । चलेन भने सबै डुब्छ । होटल बनाउँदा १० वर्षपछिको बजारलाई पनि पूर्वानुमान गर्न सक्नुपर्ने उनको भनाइ छ । पर्यटकीय विकासको हिसाबले तराईभन्दा पहाडको भविष्य राम्रो भएको उनी बताउँछन् । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको ब्यानरभित्र १. सिद्धार्थ भिलाज बनबास, चितवन २. सिद्धार्थ भिलाज, भैरहवा ३. सिद्धार्थ होटल, नेपालगन्ज ४. सिद्धार्थ सन्नी रिसोर्ट, सुर्खेत ५. सिद्धार्थ बुटिक होटल, बौद्ध ६ सिद्धार्थ होटल ग्रान्ड सिटी, बिर्तामोड ७. सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट, चन्द्रौटा ८. सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर ९. होटल सिद्धार्थ कैलाली, टिकापुर १०. होटल सिद्धार्थ, सुन्धारा ११. सिद्धार्थ होटल ग्रीन लुम्बिनी, लमही १२. सिद्धार्थ कुटीज, बुटवल १३. सिद्धार्थ रिसोर्ट, चिसापानी १४. सिद्धार्थ रिभर साइड रिसोर्ट, चुम्लिङटार १५. सिद्धार्थ होटल वाटर टावर, नुवाकोट १६. सिद्धार्थ होटल, दमौली १७. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट एण्ड बार, तिनकुने १८. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, धोबीघाट १९. शान्ति सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, नेपालगन्ज २०. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, जैकुटी बुटवल २१. सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वर २२. एस क्याफे, तिनकुने २३. एस क्याफे टुथ, महाराजगन्ज २४. एस क्याफे धोम्बोजी, नेपालगन्ज २५. एस क्याफे लगनखेल, ललितपुर २६. एस क्याफे मनमोहन, काठमाडौं २७. सिद्धार्थ कन्सर्न प्रा. लि. २८. सिद्धार्थ लिंक प्रा. लि. २९. सर्वा टेक्नोलोजी प्रा. लि. ३०. सिद्धार्थ केयर एण्ड रेस्पोन्सिीविलिटी ३१. सिद्धार्थ बायोटिका ३२. सिद्धार्थ एकेडेमिया, भैरहवा ३३. पाथिल होलिडे टिम आवश्यक न्यौपाने आफू यहाँसम्म पुग्नुको पछाडिको श्रेय टिमलाई दिन्छन् । आफूसँग टिम रहेको बताउँदै व्यवसायमा लाग्ने युवाहरूलाई व्यवसायसँगै राम्रो टिम आवश्यक पर्ने बताउँछन् । अहिलेको जमानामा ‘सिंगल अनरसिपमा’ बिजनेश गर्न गाह्रो हुने उनको अनुभव छ । उनको टिममा कृष्ण भण्डारी, मुक्तिराम भण्डारी, इन्द्रलाल न्यौपाने, केशवराज न्यौपाने, पुस्कल न्यौपाने, योगराज न्यौपाने, शेखर ढुंगाना, कृष्ण भण्डारी, कृष्ण न्यौपाने, भीलाल न्यौपाने, किरण रिमाल, ईश्वर पाण्डेलगायत रहेका छन् । टिमभित्र पनि आफूले कसरी नेतृत्व गर्ने भन्नेमा उनी प्रष्ट छन् । उनलाई भीडमा सँगै हिँड्दा ठोकिन्छ भन्ने हेक्का छ । पछि हिँड्न मन छैन । अगाडि जान अरूको भन्दा बढी मिहेनत गर्ने पर्ने उनको निष्कर्ष छ । ‘अरूले राति सपना देख्छन् होला, म दिउँसै कल्पना गर्छु कि म यहाँसम्म पुग्छु भनेर र सोहीअनुसार काम गर्छु,’ उनी भन्छन् । मरेपछि पनि बाँच्ने इच्छा कुनै पनि व्यक्ति सामान्य अवस्थाबाट अलि सम्पन्न हुँदा चाहनाहरू बढ्दै जान्छन् । ब्राण्डेड लुगा लगाउने, चर्चित रेस्टुरेन्टमा खाना खाने, त्यहीअनुसारको गाडी किन्ने सोख हुन्छ । तर, उनलाई खान लगाउन त्यति सोख छैन । ‘खाना पहिलेको भन्दा आधी भइसक्यो, लगाउन पनि उस्तै हो, पहिला पो कसरी राम्रो बन्ने भन्ने हुन्थ्यो अहिले त्यो पनि जाँगर लाग्न छोड्यो,’ न्यौपाने भन्छन्, ‘जस्तो भएपनि पनि चलेकै छ, मलाई ठूलो पुँजी चाहिएको हैन, म मरेपछि पनि बाँच्न चाहन्छु ।’ न्यौपानेलाई एक हप्तासम्म एउटै होटलमा बस्नुभन्दा पनि एक वर्षमा धेरै होटलमा बस्न मन लाग्छ । तर, यो उनको सोख होइन । यसलाई आनन्द लिनुभन्दा पनि फरक–फरक होटलबाट फरक–फरक सिकाइ लिन चाहन्छन् । न्यौपानेले कुनै होटल म्यानेजमेन्ट पढेका होइनन्, विश्वविद्यालयमा बिजनेश वा व्यवस्थापन पनि पढेका होइनन् । बरु उनको शिक्षा स्कुल तहसम्म मात्र हो । तर, उनले विश्वका नामी विश्वविद्यालय पढेर व्यवसायमा लाग्नेको भन्दा राम्रो गरेर देखाइरहेका छन् । आफ्नो सीप विकासको लागि उनले विभिन्न तालिमहरू लिएका छन् । खाना कसरी बनाउने भन्ने बारे कुकको तालिम लिए । अरू उनलाई चाहिने बेसिक कोर्स इन्स्टिच्युटमा गएर सिके । आवश्यकता अनुसार उनी अहिले पनि अनौपचारिक अध्ययन गरिरहेका हुन्छन् । फरक यति हो, उनले कुनै कलेज भर्ना भएर परीक्षा दिएनन् । उनीसँग उच्च शिक्षा हासिल गरेको प्रमाणपत्र छैन । ‘मलाई अहिले पनि पढ्न उत्तिकै रहर लाग्छ,’ उनी भन्छन्, ‘आजभोलि पनि दैनिक ३० पेज पढ्छु । मलाई इतिहास पढ्न बढी रुचि हुन्छ ।’ अबको योजना न्यौपानेको इच्छा सिद्धार्थलाई इन्टरनेशनल ब्राण्ड बनाउने छ । उनी अहिले त्यसैमा कोसिस गरिरहेका छन् । नेपालमा जस्तै विभिन्न देशमा म्यानेजमेन्ट गरेर जाने योजना रहेको उनले बताए । उनी भन्छन्, ‘एफडीआई गरेर पैसा लिएर गयौं भने हामी लगानी गर्न सक्दैनौं । तर, यहाँको म्यानेजमेन्ट लिएर जान मिल्छ, हामी यसैगरी जोडी खोजिरहेका छौँ । ’ उनले यसका लागि इण्डियामा एक/दुई ठाउँ कुरा पनि भइसकेको बताए । उनी आफू मरेपनि सिद्धार्थ जीवित रहोस् भन्ने चाहन्छन् । उनी लोकल ब्राण्ड कमजोर नहुने बताउँछन् । नेपालको कानुनले विदेशमा लगानी गर्न निषेध गरेको छ । विदेशमा लगानी खुला गरेमा आफूहरूले सिद्धार्थ हस्पिटालिटी ब्राण्डको चेन होटल विदेशमा पनि लैजान इच्छुक रहेको उनी बताउँछन् । ‘विदेशमा लगानी गर्न पाएँ भने त मैले नेपाललाई बलियो बनाउँछु नि, लगानी नेपालको हितमा छ कि छैन विज्ञहरूले यो विषयमा छलफल गर्नुप¥यो’, उनी भन्छन्, ‘धेरैले अहिले पनि नेपालका घर बेचेर अस्टे«लिया, युरोपतिर घर किनिरहेका छन्, यो त रोक्न सकिएन । हामीले भन्सार दर बढाउँछौं । तर, चोरबाटोबाट सामानहरू आएर यहाँ धमाधम बेचेका हुन्छौं, त्योभन्दा त भन्सार आधा गरे भइहाल्यो नि ।’ नेपालमा विदेशी ब्राण्डसँग जोडिएर चलेका होटलहरूको भीडमा नेपाली ब्राण्ड सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसबीजीएच) रफ्तारमा विस्तार भइरहेको छ । २६ वर्षअघि सानो पुँजीमा फाष्टफूड क्याफेबाट व्यवसायमा प्रवेश गरेका लक्ष्मण न्यौपानेको नेतृत्वमा यस ग्रुपले देशभर २६ स्थानबाट आतिथ्य सेवा प्रदान गर्दै आएको छ । सिद्धार्थ हस्पिटालिटीलाई उच्चस्तरको ब्राण्ड बनाउँदै अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनको लक्ष्य छ । ‘म धेरै सम्पत्ति कमाएर आफ्नो छोरा, भोलिको सन्तति बिगार्न चाहन्नँ । सन्ततिले आफै संघर्ष गर्नुपर्छ । म कर्म गर्न आएको हुँ, कर्म गर्ने हो,’ उनी भन्छन्, ‘हामी जन्मँदा मृत्युको सजाय पाएर आइसकेका छौं, धेरै साथीभाइहरू पाँचतारे होटेल खोल्दैछस् कसरी चलाउँछस् भनेर सोध्नुहुन्छ, विश्व मार्केटमा नेपालीहरूले राम्रो कम्पनीमा काम गरिरहनु भएको छ, म उहाँहरूलाई जोड्न चाहन्छु ।’ न्यौपानेको कम्पनीमा दुई हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । जसमध्ये एक हजारभन्दा बढी रोजगारदाता सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । होटलबाहेक उनले ट्रेडिङ बिजनेशमा पनि हात हालेका छन् । अर्को होटलको सेटअपको काम पनि उनीहरूले गर्छन् । सिद्धार्थ टेकले मोबाइलको आयात गर्छ । गुल्मीमा एग्रिकल्चर फर्म खोलेका छन् । त्यस्तै, ट्राभल र ट्रेनिङ इन्स्च्यिुट सञ्चालनमा ल्याएका छन् । न्यौपानेले होटलको सेयर निष्कासन गर्ने र कम्पनीलाई पब्लिक बनाउने तयारी पनि थालेका छन् । यसका लागि एक चरणको काम सकेर निकट भविष्यमा जाने तयारी गरेको भन्दै उनले सुरुमा पाँचतारे होटललाई आईपीओमा लैजाने योजना रहेको सुनाए । त्यसपछि अन्य कम्पनीलाई एक–एक गरी लैजाने उनको योजना छ । धैर्यतामा जोड अहिले सबै विदेश गए नेपाल खाली भयो भन्ने सुनिन्छ । उनी भने अब बल्ल नेपालको सुध्रने दिन आएको बताउँछन् । ‘ठूलो नेपाली जमात विदेशमा सेटल भइसकेको छ, अझै जाने क्रम छ । अब केही समयपछि आउनेक्रम सुरु हुन्छ । त्यसपछि उसले किराना पसल खोल्दैन, मार्ट खोल्छ । आधुनिक शिक्षा र स्वास्थ्य सेवाको सुरुवात गर्छ । विकास यसरी नै हुँदै जान्छ,’ उनी आशावादी हुँदै भन्छन् । नेपालीलाई लामो समय विदेशमा नबस्न पनि उनले सुझाए । ‘४० वर्षभित्र आफ्नो भविष्यको तयारी गरिसक्नुपर्छ । तर, नेपालीहरूले यही समय विदेशमा गएर फर्किरहेका हुन्छन्,’ उनी भन्छन्, ‘४० वर्षपछि विदेशबाट फर्किँदा काम गर्ने हिम्मत नै आउँदैन । २५ देखि ३५ वर्षको उमेरलाई अत्यन्तै उपयोगी बनाउनुपर्छ ।’ नीतिगत अस्थिरता हुनु, उच्चदरको कर हुनु, उद्यमीप्रति सरकारी प्रशासन सहयोगी नबन्नु नेपालमा व्यवसाय गर्नुको मुख्य समस्या भएको न्यौपानेको बुझाइ छ । तर, चुनौतीसँग लडेर काम गर्नुको विकल्प पनि नभएको उनी बताउँछन् । ‘विदेशबाट आयात गरेको सामान बेच्ने पसलेले १३ रुपैयाँ युनिटको बिजुली पाउँछ । चारतारे होटल भन्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने जस्तो गम्भीर समस्या छन्, यस्ता नीति सुधार गर्न सबैले सरकारलाई दबाब दिनुपर्छ,’ उनी भन्छन्, समस्या छ, चुनौती छ भनेर कहाँ जानु, हामीले यही चुनौतीसँग लडेर काम गर्नुपर्छ । समस्या भएको ठाउँमा सुधार गर्नुपर्छ, देशको बिग्रेको प्रणालीलाई सुधार्दै अगाडि बढ्नुपर्छ । अब यो जिम्मा युवाहरूको हो ।’ पर्यटनबाटै समृद्धि सरकारले नेपालको पर्यटनलाई मात्र ध्यान दिने हो भने नेपालको समृद्धि पर्यटन क्षेत्रबाट हुने न्यौपानेको विश्वास छ । नेपालको पहाडी क्षेत्रमा भूमि र हावापानी बस्नको लागि उत्कृष्ट भएकोले विदेशीलाई जमिन लिजमा दिने र घर बनाएर बस्न मिल्ने नीतिगत व्यवस्था गर्न उनी सुझाव दिन्छन् । यस्तो व्यवस्था भएको विदेशीका धनीहरूका लागि नेपाल आकर्षक भूमि हुने र उनीहरू हरेक वर्ष नेपाल आउने, लामो समय बस्ने र त्यसले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सबैभन्दा ठूलो भूमिका खेल्ने उनको विश्वास छ । मान्छेलाई तान्ने, भिजिट गराउने, पर्यटक बोलाउने भनेको होटल भएको बताउँदै उनी ठाउँ–ठाउँमा होटल खोलिनु राम्रो भएको बताउँछन् । नेपालभन्दा सानो देशहरूले करोडौं पर्यटक भित्र्याइरहेको बेला नेपालले १६ लाख पर्यटक पनि भित्र्याउन नसकेको अवस्थामा सरकारले यस्तो विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन् । राम्रो बाटोघाटोसहितको पूर्वाधार अभावले पनि पर्यटक नेपाल ल्याउन कठिन भएको उनको ठम्याइ छ । ‘नेपालमा एयरपोर्ट बनायो जहाज उड्दैन, ६/७ वर्षसम्म सय किलोमिटर बाटो बन्दैन, अनि कहाँबाट हुन्छ ?,’ उनी भन्छन्, ‘यहाँ होटलभन्दा बाटोघाटो राम्रो नहुँदा पर्यटक आउन सकेनन् ।’ हिमाल चढ्ने, ट्रेकिङमा जाने एक तहको परम्परागत हिसाबले आउने पर्यटक मात्र आइरहेका बताउँदै न्यौपाने छोटो समयका लागि आएर रमाएर जाने पर्यटकलाई आकर्षण गर्न नसकेको बताउँछन् । नजिकैको छिमेकी भारत तर चीनबाट मात्र ठूलो संख्यामा पर्यटक ल्याउन सकिने सम्भावना धेरै भएको उनी सुनाउँछन् ।
वित्तीय क्षेत्रका खम्बा
गभर्नर महाप्रसाद अधिकारीलाई वित्तीय क्षेत्रमा सक्रिय रूपमा काम गरेको चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकमा निर्देशक तथा कार्यकारी निर्देशकको भूमिकामा होस् वा डेपुटी गभर्नर र अहिले गभर्नरको रूपमा पनि उनले वित्तीय क्षेत्र सुधारमा उल्लेखनीय काम गरेका छन् । आगामी चैतमा गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल सकिँदैछ । अधिकांश समय नियामक निकायमा र करिव ४ वर्ष लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)भएर काम गर्दा अधिकारीले आफूलाई कुशल व्यवस्थापक र प्रशासकको रूपमा उभ्याएका छन् । मर्जरमा सफलता अधिकारी डेपुटी गभर्नर हुँदै नेपाल राष्ट्र बैंकले अगाडि सारेको बैंक मर्जरको नीतिलाई सहज रूपमा प्रभावकारी बनाउन उनले प्रशंसनीय भूमिका खेलेका छन् । २०६७/६८ सालमा ३२ वटा रहेका वाणिज्य बैंक अहिले २० मा सीमित छन् । त्यतिबेला ८९ वटा विकास बैंक रहेकोमा अहिले १७ वटा भएका छन् । त्यतिबेला ७९ वटा फाइनान्स कम्पनीहरू रहेकोमा अहिले १७ वटामा सीमित भएका छन् । नेपाल राष्ट्र बैंकमा अनुसार २०६७ पुस मसान्तमा बैंक तथा फाइनान्स कम्पनीको संख्या २७७ वटा थिए । पछि मर्जर हुँदै अहिले जम्मा १०७ वटा बैंक तथा वित्तीय संस्था भएका छन् । संख्याका आधारमा बैंक तथा वित्तीय संस्थाको संख्या ६१ प्रतिशतले घटेका छन् । यसलाई उनले आफ्नो सफलताका चित्रण गर्ने गरेका छन् । ‘हामी फोर्स मर्जरमा गएनौं, स्वेच्छिक रूपमा बैंकलाई मर्जर हुन प्रोत्साहन गर्यौं, परिणामस्वरूप अहिले बैंक तथा वित्तीय संस्थाको संख्या कम भएको छ । पुँजीका हिसाबले बैंकहरू बलियो बनेका छन्,’ अधिकारी भन्छन्, ‘यसलाई हामीले नीतिगत सफलताका रूपमा लिएका छौं ।’ २०६७ सालपछि पनि जिल्लास्तरीय विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरू धेरै खुलेका थिए । वित्तीय पहुँच विस्तारका लागि भन्दै गभर्नर चिरञ्जीवी नेपालको पालामा ग्रामीण क्षेत्रमा बैकिङ सेवा दिन चाहनेलाई लाइसेन्स पनि वितरण भएका थिए । महाप्रसाद गभर्नर भएपछि कुनै पनि बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स वितरणको काम राष्ट्र बैंकले गरेन । पछिल्लो समय वित्तीय क्षेत्रमा नयाँ प्रकृतिमा समस्याहरू देखिएका छन् । आर्थिक मन्दी ऋणीहरूको व्यावसायिक असफलतासँगै बैंक तथा वित्तीय संस्थामा खराब कर्जा अनुपात बढेर गएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाका नेतृत्वले दवाव महसुस गरिरहेका छन् । गभर्नर अधिकारी भन्छन्, ‘एक दशकअघिको तुलनामा बैंक तथा वित्तीय संस्था धेरै बलिया भएको छन् । जोखिम बहन गर्न सक्ने सामर्थ्य वृद्धि भएको छ । यदि राष्ट्र बैंकले समयमा नै मर्जरको नीति लिएको थिएन र त्यसको सफल कार्यान्वयन भएको थिएन भने यतिबेलाको समस्या समाल्नै नसक्ने तहमा पुग्न सक्थ्यो ।’ डिजिटल कारोबारमा छलाङ अधिकारीले आफ्नो कार्यकालमा सबैभन्दा प्रभावकारी रूपमा अगाडि बढाएको एजेण्डा हो डिजिटल बैंकिङ । उनी राष्ट्र बैंकको गभर्नर बनेपछिको पहिलो मौद्रिक नीतिमै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने अगाडि सारे । अहिले देश डिजिटल बैंकिङमा अगाडि बढिरहेको छ । एउटा सामान्य किराना पसलदेखि ठूल्ठूला कर्पोरेट हाउस तथा मार्टहरूमा क्यूआर कोडमात्रै भेटिन्छ । उनी मोबाइल, इन्टरनेट तथा डिजिटल बैंकिङ र क्यूआर कोड प्रोत्साहन गर्न आफै बजारमा निस्किए । ठाउँ–ठाउँमा तरकारी तथा फलफूल पसलमा गएर क्यूआर कोड सञ्चालन गरे । अधिकारी गभर्नरका रूपमा नियुक्त भएको वर्ष २०७७ कात्तिक महिनामा २० खर्ब ५८ अर्ब रुपैयाँ डिजिटल भुक्तानी भएको थियो । २०८१ कात्तिक महिनामा ९४ खर्ब ८६ अर्ब रुपैयाँ डिजिटल भुक्तानी भएको छ । यो भनेको ३७५ प्रतिशत वृद्धि हो । डिजिटल भुक्तानीमा यो किसिमको गतिको श्रेय उनैलाई जान्छ । ‘यो अवधिमा हामीले डिजिटाइजेसनका कुरालाई एग्रेसेभ्ली अगाडि बढायौं, बैंक तथा वित्तीय संस्थासँगै प्रत्येक नागरिकलाई डिजिटल भुक्तानीका कुरा सिकायौं, आज देश डिजिटल भुक्तानीमा आश्रित छ,’ उनी भन्छन्, ‘अहिले राष्ट्र बैंक डिजिटल करेन्सीको विषयमा काम गरिरहेको छ, त्यसमा पनि सफलता पाउने विश्वास छ ।’ विदेशी मुद्रा सञ्चिति वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या हो । वैदेशिक व्यापार विदेशी मुद्रामा हुन्छ । देशको व्यापार घाटा बढ्दै जाँदा सरकारको ढुकुटीको विदेशी मुद्रा सकिँदै जान्छ । नेपाल राष्ट्र बैंकको लागि सबैभन्दा ठूलो टाउको दुःखाइको विषय हो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्नु । यही विषयले अधिकारीलाई सर्वाधिक तनावमा पुर्यायो । विदेशी मुद्रा सञ्चिति सकिएपछि छिमेकी देश श्रीलंका टाट पल्टियो सन् २०२३ जुलाईमा । पाकिस्तान, अफगानिस्थान, बंगलादेशमा पनि विदेशी मुद्राको भण्डारण सकिँदै गएको थियो । २०७७ साल माघमा नेपालसँग झण्डै १२ महिनाका लागि विदेशबाट वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्राको मौज्दात थियो । ढुकुटीमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलरको हाराहारीमा थियो । २०७८ सालको माघमा ढुकुटीमा ९ अर्ब ७४ करोड अमेरिकी डलर बचत थियो । एक वर्षमा देशको कुल विदेशी मुद्रा सञ्चितिको २२ प्रतिशत घट्यो । डलर सञ्चिति २२ प्रतिशत घटेपनि विदेशी वस्तु तथा सेवा आयात धान्ने क्षमतामा ५० प्रतिशतले कमी आएको थियो । २०७७ पुसमा १२ महिनालाई वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकामा २०७८ मा ६ महिना १८ दिन मात्र धान्न पुग्ने अवस्थामा झर्यो । यसरी विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा नेपाल श्रीलंका झंै टाट पल्टन्छ कि कि भन्ने चिन्ता विज्ञ र व्यवसायीमा मात्र होइन, सर्वसाधारणको तहमा पुगिसकेको थियो । व्यवसायी जगतले चर्को आलोचना गरे पनि, सरकारले निलम्बन गरे पनि गभर्नर अधिकारी अविचलित रहे । वित्तीय क्षेत्रको सुदृढिकरण, डिजिटल कारोबारमा वृद्धि, विदेशी मुद्रा सञ्चिति बचाउन लिएको कडा नीति र त्यसको सफलतासँगै गभर्नर अधिकारी वित्तीय क्षेत्रको दरिलो खम्बाका रूपमा स्थापित भएका छन् । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले २०७७ पुस ५ मा १८ प्रकारका वस्तु आयात गर्दा बैंकमा शतप्रतिशत नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्यो । त्यसपछि लगत्तै माघ २६ गते ४५ भन्सार कोडका करीब २ हजार ७०० वस्तुको आयातमा ७० प्रतिशतसम्म रकम व्यवसायी आफैले नगद हाल्नुपर्ने व्यवस्था गर्यो । २०७९ वैशाखमा राष्ट्र बैंकको सुझावमा सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर महँगा सवारीसाधन, महँगा मोबाइलसहित १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । यसरी आयातमा अंकुश लगाउँदा आयात व्यापारमा संलग्न व्यवसायीहरूले सार्वजनिक मञ्चबाटै गभर्नरको चर्को आलोचना गरे । देशभित्रका व्यवसायी मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन लगायतले असन्तुष्टि व्यक्त गरे । यहीबेला गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच विवाद बढ्दै गयो । व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै सरकारले उनलाई निलम्बन गर्यो । सरकारले गभर्नरलाई हटाउन गोप्य सूचना चूहाएको आरोप पनि लगायो । गभर्नर अधिकारी सरकारी निर्णयविरुद्ध अदालत गए । अदालतको आदेशमा उनी फेरि जिम्मेवारीमा फर्किए । उनले आफ्ना नीतिमा निरन्तरता दिए । परिणाम गत कार्तिक मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर अर्थात २२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ, जुन २ वर्षअघिको तुलनमा ७१.४५ प्रतिशतले बढी हो । यस सञ्चिति १५ महिनाभन्दा बढी वस्तु तथा सेवा आयात गर्न सकिने नेपाल राष्ट्र बैंकको भनाइ छ । अधिकारी गभर्नर बन्नुअघि १० खर्ब ३८ अर्ब रुपैयाँ रहेको कुल विदेशी मुद्राको सञ्चिति अहिले २२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा ११७ प्रतिशतको विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशी मुद्रा सञ्चिति पर्याप्त भएकैले देशको रेटिङ रिपोर्ट पनि राम्रो आएको छ । राष्ट्र बैंकप्रतिको आकर्षण वृद्धि विगतमा खासै चासोका रूपमा नलिइने मौद्रिक नीति गभर्नरमा अधिकारीको आगमनपछि भने सबैको बहस र प्रतीक्षाको विषय बन्न पुगेको छ । खासगरी व्यावसायिक जगतकोे ध्यान संघीय सरकारको बजेटभन्दा राष्ट्र बैंकको मौद्रिक नीतिमा बढी केन्द्रीत हुन थालेको छ । कोरोनाको महामारीमा थला परेको अर्थतन्त्रलाई पुर्नजीवित पार्न राष्ट्र बैंकले लिएको नीतिले यसमा ठूलो भूमिका निभायो । कोरोनाको समयमा बजेटबाट केही नपाएका व्यवसायीले मौद्रिक नीतिबाट भरपुर राहत पाए । त्यसपछि मौद्रिक नीतिले वाहीवाही पायो । व्यवसायीले मागेकोभन्दा बढी सुविधा उनले मौद्रिक नीतिबाट दिए । जुन विषयको चौतर्फी तारिफ भयो । ‘हामीले गर्न सकेको गर्यौं, कोरोना महामारीबाट प्रभावित भएका व्यवसायीलाई दिन सक्ने राहत दियौं, मुद्रा कोष, विश्व बैंकजस्ता संस्थाले अहिले के गर्न सकिन्छ मुठ्ठी खोलेर सहयोग गर भनेर सबै केन्द्रीय बैंकहरूलाई आग्रह नै गरेको थियो, सोही किसिमले हामीले पनि काम गर्यौं, त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव नै पर्यो,’ उनले भने । बिर्सिन चाहेको ‘त्यो घटना’ मान्छेको जीवनमा धेरै घटना आइलाग्छन् । कतिपय जीवनभर अविस्मरणीय बनिदिन्छन्, कतिपय चाहेर पनि बिर्सिन सकिँदैन । अधिकारीको जीवनमा पनि यस्तो घटना छ, जुन उनी सम्झिन पनि चाहन्नन् । त्यो विषय हो उनको निलक्बन । उनी विसं २०७८ चैतमा सरकारको निलम्बनमा परे । निलम्बन गर्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने अर्थमन्त्री थिए जनार्दन शर्मा । निलम्बनपछि उनी अदालत गए । अदालतको आदेशमा गभर्नरको जिम्मेवारीमा उनी पुनः काममा फर्के । ‘काम गर्दै गर्दा कहिलेकाहीं कानूनी झन्झटको सामना गर्नुपर्ने रहेछ, मैले यसलाई स्वाभाविक रूपमा लिएको छु,’ उनी भन्छन्, ‘म यो घटनालाई बिर्सिन चाहन्छु, यस विषयमा धेरै नबोलौं ।’ अधिकारी सरकारसँग लडे । त्यसले उनको पद मात्र जोगाएन, राष्ट्र बैंकको स्वायत्तता बचाउनका लागि पनि दरिलो टेवा दिएको छ, जसरी पूर्वगभर्नर तीलक रावलले दिएका थिए । राजनीतिक अदूरदर्शिता र अस्थिरताको सिकारले सबै सार्वजनिक संस्थाहरू ध्वास्त हुँदै गरेको बेलामा तत्कालीन गभर्नर रावल र वर्तमान गभर्नर अधिकारीले लिएको अदालतको सहायताले राष्ट्र बैंकको स्थायित्वमा दूरगामी महत्व राख्नेछ । देश विकासको बाधा अधिकारी पछिल्लो समय विदेशिरहेका युवाहरूको संख्याप्रति चिन्तित छन् । युवाहरू दिनहुँ विदेश पलायन भइरहेको बेला उनी भने आफ्ना छोराछोरी स्वदेशमै काम गर्ने बताउँछन् । ‘नेपालमा पनि विस्तारै सेवा सुविधा राम्रो भइरहेको छ, मेरा पनि छोराछोरी नेपालमै छन्, विदेश गइहाले पनि केही सिकेर स्वदेशमै फर्किनुपर्छ,’ उनले भने, ‘नेपालमा सरकारी सेवा लिन झन्झटिलो हुने, रोजगार अभाव लगायतले युवाहरूमा निराशा छ, विदेसिने क्रम बढ्दो छ, यो सुधार गर्न सकिने विषय हो ।’ नेपाल ठूलो सम्भावना र अवसर भएको देश हो । ‘कतिपय देशमा समुन्द्र पुरेर घर बनेको हुन्छ,’ अधिकारी भन्छन्, ‘तर, हाम्रो देशमा योजनाबद्ध हिसाबले देशमै भएका स्रोतसाधनको सदुपयोग गर्न सक्यो भने नेपालको अर्थतन्त्र छिट्टै विकसित देशको जत्तिकै मजबुत हुन सक्छ, त्यसतर्फ हामी सबैले ध्यान दिन आवश्यक छ ।’ देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको अधिकारी बताउँछन् । ‘योजना तथा कार्यक्रमको कार्यान्वयन गर्न केही न केही स्थायित्व चाहिन्छ, नेपालमा बारम्बार सरकार फेरिनु, मन्त्री फेरिने प्रवृत्ति पनि विकासको बाधक हो,’ उनी भन्छन्, ‘हामीले यो प्रवृत्ति सच्याउनुपर्छ ।’ खोटाङदेखि गभर्नरसम्म खोटाङको गाउँबेसीमा उकाली गर्दैगर्दा अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु भन्ने विषय ‘आकाशको फल’ थियो । जसलाई सजिलो हेर्न सकिन्थ्यो तर टिप्न असम्भव । त्यो असम्भवतालाई उनले कसरी सम्भव तुल्याए ? यही जिज्ञासा हामीले उनैलाई सोध्यौं । उनले जवाफमा भने, ‘नेपालमा गभर्नरको एउटा मात्रै पद हुन्छ, म त्यहीं बन्छु भन्ने लागेको थिएन । तर, सबै कुरा समयले बनायो, मैले मिहिनेत मात्रै गरेको हुँ ।’ उनले थप्दै भने, ‘जसले म यो बन्छु भनेर सपना बुन्छ, उसले त्यहीअनुसार मिहिनेत पनि गरेको हुन्छ, मिहिनेतअनुसार फल नपाइरहेको पनि हुन्छ । आफ्नो तर्फबाट गर्नुपर्ने काम निरन्तर जारी राख्नुपर्छ । तर, महत्वाकांक्षा राखियो तर भोलि गएर प्राप्त गर्न सकिएन भने व्यक्तिगत रूपमा पनि त्यसले राम्रो गर्दैन ।’ विसं २०२१ सालमा खोटाङमा जन्मिएका अधिकारीको स्कुले जीवन गाउँमै बित्यो । बिहान साँझ घरमा आमाबुवालाई सहयोग गर्ने उनी दिउँसो विद्यालय जान्थे । २०३९ सालमा उनले गाउँबाटै एसएलसी (हालको एसईई) पास गरे । गाउँमा हुँदा उनले शिक्षण पेसा गरे । उनले बुझेको पहिलो तलब २ सय ९० रुपैयाँ थियो । त्यसपछि उनी २०४० सालमा बाँकी अध्ययनको लागि काठमाडौं छिरे । काठमाडौं प्रवेश गरेसँगै सुरु भयो उनको पढाइसँगैको जागिरे जीवन । अधिकारीले काठमाडौंमा आइकमको पढाइसँगै खाद्य संस्थानमा काम थाले । ‘मलाई म काम गर्दै जाँदा संस्थाको लागि इमान्दारीपूर्वक गरेँ, धेरै पछिसम्म पनि म राष्ट्र बैंकको चिफ नै हुन्छु भन्ने सोचेको थिइनँ । निरन्तर काम गर्दै गएँ कार्यकारी निर्देशक (ईडी) बनेँ, डेपुटी गभर्नर भएँ, डेपुटी भइसकेपछि चाहिँ स्वाभाविकै रूपमा गभर्नर हुनुपर्छ भन्ने लाग्यो,’ उनले आफ्नो ६ दशक लामो जीवन यात्रा संक्षेपमा सुनाए । अधिकारीले २०४२ सालमा प्रतिस्पर्धात्मक परीक्षामा नाम निकालेर सरकारी जागिरको यात्रा तय गरेका हुन् । २०४२ सालमा राष्ट्र बैंकको सहायक स्तरको पदमा जागिर सुरु गरेपछि उनलाई अब यही क्षेत्रमा मैले अझै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने लाग्यो । उनी २०५१ सालमा राष्ट्र बैंकको उप–निर्देशक पदमा स्तरोन्नति भए । २०५६ मा निर्देशक पदमा बढुवा भए । निर्देशकमा ९ वर्ष ६ महिना काम गरेका उनी २०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भए । कार्यकारी निर्देशकमा बढुवा भएको दुई वर्ष तीन महिनापछि अर्थात् २०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गर्यो । कनिष्ट कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर नियुक्त भएको भन्दै त्यतिबेला राष्ट्र बैंकभित्र खैलाबैला नै भयो । राष्ट्र बैंकको डेपुटी गभर्नर भएको ४ वर्षपछि अधिकारीले गभर्नरका लागि आवेदन दिएका थिए । तर, उनी सर्टलिष्टमै सीमित बने । त्यतिखरे डा. चिरञ्जीवी नेपाल गभर्नर बनेका थिए । डेपुटी गर्भनरको ५ वर्षेकाल सकेर उनी राष्ट्र बैंकबाट विदा भए । तर उनको सरकारी सेवाको यात्रा यही अन्त्य भएन । २०७३ साल असारमा लगानी बोर्डको सीईओ बने । चार वर्षका लागि सीईओ नसकिँदै उनी राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए । राष्ट्र बैंकमा विभिन्न पदमा गरी तीन दशक बढी समय बिताएका अधिकारी २०७६ चैत २४ गते गभर्नरका रूपमा नियुक्त भएका थिए । उनी जुन संस्थाबाट सामान्य कर्मचारीको रूपमा प्रवेश गरेका थिए, त्यही संस्थाको सर्वोच्च पदमा पुग्दा अचम्म मान्दैनन् । बरु उनलाई काम गर्दैजाँदा अझै मिहिनेत गर्न जाँगर चल्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) गरेका छन् । गभर्नर अधिकारी मिहिनेत र सपनाले मान्छेलाई कल्पना नगरेको ठाउँमा पुर्याउने बताउँछन् । उनी विद्यार्थीलाई पनि ठूलो महत्वाकांक्षा नराखी मिहिनेत गर्न सल्लाह दिन्छन् । ‘म यही बन्छु, तिमी भोलि गएर यही बन भन्नुभन्दा पनि म मिहिनेत गर्छु र केही गर्छु भन्ने साेंच्दा राम्रो हुन्छ,’ उनी भन्छन्, ‘यसो गरे भोलि तनाव पनि लिनु पर्दैन ।’ गभर्नर अधिकारीलाई म नेपालको गभर्नर हुन्छु भन्ने कल्पनासमेत थिएन । तर, अहिले तपाईं हामीले चलाउने पैसामा उनको हस्ताक्षर चल्छ । देशको आर्थिक नीति कस्तो हुनुपर्छ ? देशको आर्थिक विकासका लागि कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा उनको महत्वपूर्ण भूमिका हुन्छ । यसो भनिरहँदा लक्ष्य र उद्देश्य नबोकेर हिँडनुपर्छ भनेको हैन, मिहिनेत र कडा परिश्रमले समयसँगै जिम्मेवारीमा पुगिन्छ ।
सुरक्षाका सारथी सबलचन्द्र शाह {भिडियो स्टोरी}
काठमाडौं । खेलकुदप्रति चासो राख्नेले शरदचन्द्र शाहको नाम बिरलै बिर्सिन्छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)को चौथो सदस्यसचिवका रूपमा काम गरेका शाहको प्रशंसा गर्ने पात्रहरू अहिले पनि बजारमा प्रशस्त भेटिन्छन् । विसं. २०३४ सालदेखि २०४५ सालसम्म परिषदको सदस्य सचिव रहेर उनले जति काम गरे, जस्तो काम गरे त्यसको तारिफ परिषदभित्र अहिलेसम्म हुन्छ । हालसम्म परिषदको सदस्यसचिव दर्जनौं व्यक्ति भए । तर, स्व. शाहले साढे तीन दशकअघि गरेको कामको वाहीवाही अहिले पनि राखेपभित्र हुन्छ । शाहकै नेतृत्वमा तत्कालीन ७५ वटै जिल्लामा कबर्ड हल र तत्कालीन पाँच विकास क्षेत्रमा रंगशाला निर्माण भएकाले खेलकुद पूर्वाधारमा उनलाई धेरैले अझै सम्झन्छन् । देशभित्र पनि बृहत राष्ट्रिय खेलकुद प्रतियोगितादेखि दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ पनि उनैको पालामा भएका थिए । राजदरबारसँगको उनको सामीप्यताको विषयले पनि बेलाबखत चर्चा पाउँथ्यो । पूर्वराजा ज्ञानेन्द्रले शाहलाई आफ्नो सल्लाहकार पनि बनाएका थिए । उनै शाहका छोरा हुन् सबलचन्द्र शाह । शाह अहिले देशको नम्बर वान सेक्युरेटी कम्पनी ‘गरुड सेक्युरेटी’का प्रबध सञ्चालक हुन् । नेपालको अन्तिम ‘फिल्ड मार्सल’ नेपाली सेना सुरेन्द्रबहादुर शाहका नाति हुन् उनी । तत्कालीन राजपरिवारसँग निकट सम्बन्धसँगै सेनाको पृष्ठभूमि भएको शाह परिवारका सबलचन्द्र भने सेक्युरेटी व्यवसायमा लागे । उनको यो व्यवसायमा प्रवेशको फेहरिस्त भने गज्जबको छ । पुख्र्यौली घर सल्यान जिल्लामा भए पनि शाहको जन्म विसं २०३६ सालमा काठमाडौंमै भयो । जतिखेर उनका बुबा राखेपको सदस्यसचिव थिए । नेपालमै केही वर्ष स्कुले तहको पढाइ पढेपछि उनी थप अध्ययनका लागि दिदीसँगै अष्ट्रेलिया गए । उनले अष्ट्रेलियाको कार्टिन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक पास गरे । त्यहाँ कलेजमा पर्यटन विषय पनि पढेको उनी सुनाउँछन् । पढाइपछि उनले अष्ट्रेलियामै तीन वर्ष काम गरे । अष्ट्रेलियाबाट नेपाल फर्किएर व्यवसाय गर्छुु भन्ने सोचेका पनि थिएनन् शाहले । बरु पारिवारिक पृष्ठभूमि सेनाको भएकोले सेनामा जागिर गर्ने उनको रुचि थियो । विगत स्मरण गर्दै उनी भन्छन्, ‘बाल्यकालमा व्यवसाय गर्छु, व्यवसायी बन्छु भन्ने साेंचेको पनि थिइनँ, बरु सेना बन्ने रुति थियो ।’ त्यसपछि जन्मियो गरुड सेक्युरेटी अष्ट्रेलियामा पढिरहेका शाह १२ वर्षपछि अर्थात विसं २०५९ सालमा नेपाल फर्किए । नेपालमा दशैं-तिहार मनाएर उतै फर्किहाल्ने उनको योजना थियो । अष्ट्रेलियाबाट नेपाल आएको उनलाई अहिले २२ वर्ष भइसक्यो तर, उनी त्यसपछि अष्ट्रेलिया फर्किएनन् । विसं २०६० सालमा उनको दिदीको विवाह भयो । उनको भिनाजु नेवार समुदायका थिए । भिनाजुले नेपालमै व्यवसाय गर्न उनलाई सुझाव दिए । व्यवसाय सुरु गर्दाका सुरुवाती दिनहरू स्मरण गर्दै उनी भन्छन्, ‘म सेक्युरेटी व्यवसायमा लाग्छु भन्ने सोंचेकै थिइनँ । तर, भिनाजुले नेपालमै व्यवसाय गर्न सकिन्छ भनेर प्रस्ताव गर्नुभयो, उहाँसँगै बसेर धेरै कुरा सिकियो,’ उनी सुनाउँछन्, ‘भिनाजुकै प्रेरणाले नेपालमै बसेँ, अहिले म जुन स्थानमा छु, भिनाजुकै कारणले नै हो ।’ विडम्वना, शाहका भिनाजुको स्वर्गवास भइसकेको छ । तर, उनी आफ्नो भिनाजुलाई धेरै सम्झिन्छन् । आफ्नो व्यवसायको जन्मदाताको रूपमा उनलाई स्मरण गर्छन् । देशमा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । एकातिर बेरोजगारीको प्रभावले राज्यविरुद्ध सशस्त्र विद्रोहमा युवा होमिने क्रम बढ्दो थियो । अर्कोतिर कर्पोरेट हाउस र निजी सम्पत्तिको सुरक्षा चिन्ताको विषय बन्दै गएको थियो । सेना बन्छु भनेर सपना बुनेका शाह त्यस परिवेशमा व्यवसायतर्फ मोडिए । परिवारको व्यावसायिक पृष्ठभूमि थिएन । तर पनि उनले आँट गरे । विसं २०६१ सालमा उनले गरुड सेक्युरेटीको स्थापना गरे । ‘म लडाइँ लड्छु, हतियार बोक्छु भन्ने मान्छे व्यवसायमा लागेँ, भिनाजुले युवाले नै केही गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सल्लाह दिएपछि कम्पनी खोलेँ,’ उनी भन्छन्, ‘त्यतिखेर आउट सोर्सिङ सेक्युुरेटीको माग पनि धेरै थियो ।’ यो २० वर्षको अवधिमा शाहले धेरै आरोह-अवरोहहरू सामना गरे । त्यसलाई उनले सिकाइका रूपमा लिएका छन् । यो अवधिमा कम्पनीले सशस्त्र द्वन्द्वकाल, कोरोना भाइरसको महामारी, विनाशकारी भूकम्प, बाढीपहिरो र आर्थिक मन्दी लगायतका ठूल्ठूला चुनौतीहरू बेहोर्नुप¥यो । एकताका फस्टाएको चोरी–चाकरी, अपराध र गुण्डागर्दीलाई पनि गरुड सेक्यूरिटीजले नजिकबाट नियालेको छ । जसले निजी क्षेत्रकै सबैभन्दा ठूलो सुरक्षा संयन्त्र निर्माण ग¥यो । पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी ७७ वटै जिल्लामा सार्वजनिक संस्थान, उद्योग, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिको सुरक्षामा टेवा दिइरहेको छ । ‘यो २० वर्षको अवधिमा देशमा धेरै परिवर्तन भयो, सबैभन्दा ठूलो कुरा मान्छेको सोंच बदलिएको छ, हामीलाई पनि एउटा सिकाइ र अनुभव मिल्यो, थप परिपक्व बन्ने अवसर प्रदान भयो,’ उनी भन्छन्, ‘त्यसैले त आज प्राउडका साथ नम्बर वान कम्पनी भनेर हिँड्न पाइएको छ ।’ शून्यबाट सुरु भएको कम्पनी आज यो अवस्थामा पुग्नु ठूलो उपलब्धि भएको शाहको भनाइ छ । ‘देशमा सबैले माया गरेर काम गर्न सकियो भने देश बन्छ, विदेशमा सफल हुनु भयो भने तपाईं मात्रै हुनुहुन्छ तर नेपालमा काम गरेर सफल हुनु भयो भने देश नै सफल हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा पनि अपार सम्भावना छ ।’ गरुड सेक्युरेटीको सेवा दुई दशकको अवधिमा गरुड सेक्युरेटी देशको नम्बर वान सेक्युरेटी कम्पनी बनेको छ । विभिन्न अर्धसरकारी, व्यावसायिक प्रतिष्ठान, संस्थान, बैंक तथा वित्तीय संस्था, अस्पताल तथा ठूल्ठूला कन्सर्ट तथा कार्यक्रममा सुरक्षा प्रदान गर्नका लागि यो कम्पनीले सुरक्षाकर्मी उपलब्ध गराउँछ । सुरक्षा परामर्श, नगद र मूल्यवान वस्तुको ढुवानी, इलेक्ट्रोनिक सुरक्षा लगायत सुरक्षाहरू प्रदान गर्दै आएको गरुड सेक्युरेटी कम्पनी अहिले देशमा हुने ठूल्ठूला इभेन्टको सुरक्षा व्यवस्थापन गर्नेमा अग्रपंक्तिमा आउँछ । हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल), भारतीय सुपरस्टार सोनु निगमको कन्सर्टको सुरक्षा व्यवस्थापनको नेतृत्व यही कम्पनीले गरेको हो । त्यसअघि पनि नेपालमा भएका ब्रायन एडम्स लाइभ कन्सर्ट, अतिफ असलम कन्सर्ट, प्रशान्त तामाङ कन्सर्ट, साफ च्याम्पियनसिप, मिका हाकिनेनसँगको जोनी वाकर सेफ ड्राइभिङ क्याम्पेन, टुँडिखेलमा आयोजित एमएलटीआर कन्सर्ट, दरबारमार्गमा भएको स्ट्रिट फेस्टिभल, ट्याटु महोत्सव लगायत ठूला कार्यक्रमको सुरक्षा व्यवस्थापनको काम पनि यही कम्पनीले गर्दै आएको छ । देशमा हुने ठूल्ठला कार्यक्रमको सुरक्षा दिने काम गरुड सेक्युरेटीले नै गर्ने गरेको शाह बताउँछन् । उनका अनुसार नगद तथा मूल्यवान वस्तुको ढुवानी सेवाका लागि कम्पनीले विशेष प्रकारका सवारीसाधन प्रयोग गर्ने गरेको छ । गाडीमै क्यामेरा, इनबिल्ट भल्ट, र ड्युल लकिङ सिस्टम रहेको सवारीसाधन कम्पनीले प्रयोग गर्ने गरेको हो । यी सवारीसाधनलाई जीपीएसमार्फत् ट्र्याक गरिने अभ्यास छ । यसले चोरी डकैती तथा लुटपाटको सम्भावना न्यून हुने र त्यस्तो स्थितिमा गाडीको इन्धन आपूर्ति रोक्ने र सवारीलाई नियन्त्रण कक्षबाट रोक्न सक्ने सुविधा पनि छ । कम्पनीको नियन्त्रण कक्ष र क्विक रिएक्शन टिमले २४ घण्टा नै काम गरिरहेको हुन्छ । शाहका अनुसार बैंक तथा वित्तीय संस्था, अस्पताल, डिपार्टमेन्टल स्टोर र ज्वेलरी पसलहरूलाई पनि कम्पनीले सुरक्षा सेवा प्रदान गर्दै आएको छ । ‘तपाईंको जुन व्यवसायमा विज्ञता छ, तपाईं त्यसमै केन्द्रित हुनुहोस्, तपाईंको सम्पत्तिको सुरक्षा दिने काम हामी गर्छौं, व्यवसाय गर्नेहरूले अरूमा अल्झिएर पनि बस्नु हुँदैन,’ उनी भन्छन्, ‘हाम्रो सुरक्षाको कारणले नै सयौं कम्पनीको चुहावट रोकिएको छ, निजी क्षेत्रको सम्पत्तिको सुरक्षा भएको छ ।’ प्रबन्ध निर्देशक शाह गरुड सेक्युरेटीले सुरक्षासम्बन्धी मात्र होइन, आगो नियन्त्रण, प्राकृतिक प्रकोप सुरक्षा, प्राथमिक उपचारलगायत विषयमा पनि तालिम दिँदै आएको बताउँछन् । व्यवसायीको मुख्य काम व्यवसाय गर्ने भएको र त्यसमा आफूहरूले सर्पोटको भूमिका खेल्दै आएको उनले बताए । २ अर्बको कारोबार, ५ हजारलाई रोजगारी शून्य अवस्थाबाट सुरु भएको गरुड सेक्युरेटीले आज कम्पनीमा ५ हजार बढी सुरक्षाकर्मीलाई संलग्न गराएको छ । आउट सोर्सिङ सुरक्षा प्रदान गर्नेमा गरुड नम्बर वान कम्पनी बनेको छ । ‘कम्पनीको पृथक इज्जत छ, यही बजारमा विदेशी कम्पनी पनि छन् । तर, विदेशी कम्पनीलाई पछि पार्दै हामी नम्बर वान बनेका छौं,’ शाह भन्छन्, ‘सामाजिक सुरक्षा कोषले सबैभन्दा धेरै योगदानकर्ता रहेको कम्पनीको रूपमा हामीलाई सम्मान गरेको छ । नेपाली भएर नेपालीलाई नै काममा राखेर सेवा गरिरहेका छौं, योभन्दा ठूलो सन्तुष्टि के होला ?’ सेनामा जागिर खाएका थिए भने शाह यतिबेला सैन्य नेतृत्वमा पुग्थे होलान् । तर उनले व्यवसाय गरे । निजी क्षेत्रको सुरक्षातर्फ सबैभन्दा ठूलो कम्पनी र नेटवर्क बनाए र त्यसको कमाण्ड सम्हालिरहेका छन्, उनको यात्रा अझै जारी छ । शाहका अनुसार गरुड सेक्यूरिटिजले वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छ । गरुड ग्रुप अफ कम्पनिज अन्तर्गतका अर्को कम्पनी ‘गरुड सर्पोट सर्भिस’ पनि उनले नै सञ्चालन गरिरहेका छन् । जसको नेतृत्व उनको श्रीमती श्रेया राज्यलक्ष्मी राणाले गरिरहेकी छन् । उक्त कम्पनीले पनि हाउस किपिङ, हस्पिटालिटी, ड्राइभर, टेक्निकल एण्ड मेकानिकल लगायत सेवामा आउट सर्भिस सेवा प्रदान गर्दै आएको छ । शाहका अनुसार सो कम्पनीले पनि २ हजार बढीलाई रोजगारी दिएको छ । गरुड सेक्यूरिटिज र गरुड सर्पोट सर्भिस अन्तरगत करिब ७ हजार मानिसले काम गरिरहेका हुन्छन् । कम्पनीको वार्षिक कारोबार करिब ३ अर्ब रुपैयाँ बराबर छ । दुइटै कम्पनीले वार्षिक ३ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने गरेको जानकारी शाहले दिए । गरुड ग्रुप अफ कम्पनिजका यी दुइटै कम्पनीले धेरै योगदानकर्ता जोड्ने कम्पनीका रूपमा सामाजिक सुरक्षा कोषबाट पनि सम्मान पाइसकेको छ । यसले पनि कम्पनीले आफ्ना कर्मचारीको सुविधा तथा सुरक्षाप्रतिको प्रतिवद्धतालाई झल्काएको बुझ्न सकिन्छ । ‘हामीले रोजगारी दिएका होइनौं, हाम्रो रोजगारदाता भनेको सेवाग्राही हो, उहाँहरूले लगानी गर्नु भएको छ । त्यसको सुरक्षाका लागि आउट सोर्सिङ मात्रै गरेका हौं । उद्योगी तथा व्यवसायीले लगानी गरेकै कारण आज हामीले यो अवसर पाएका हौं, उनीहरूको सम्पूर्ण सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी हामीले लिएका हौं,’ उनले भने । शाहका अनुसार भूतपूर्व सेना, आर्मी, प्रहरीहरूलगायत युवा पनि कम्पनीमा संलग्न छन् । ‘यहाँ विभिन्न किसिमका कर्मचारी तथा सुरक्षा गार्ड हुनुहुन्छ, कतिपय सेवाग्राहीले अंग्रेजी जान्नेहरू खोज्छन्, त्यसका लागि पनि हाम्रो आफ्नै ट्रेनिङ सेन्टर छ, तालिमका लागि उहाँहरूको १० दिनको कोर्स हुन्छ, हामीले सर्टिफाइड गरेपछि मात्र उहाँहरूको काम सुरु हुन्छ,’ उनले भने । काठमाडौं उपत्यका र उपत्यका बाहिरको अवस्था फरक रहेको शाहले सुनाए । ‘उपत्यका बाहिरकाले लामो समयसम्म काम गर्नुहुन्छ । तर, उपत्यकाभित्र कोठा भाडामा बस्ने हुँदा कर्मचारीको टर्नओभर धेरै हुन्छ, तालिम लिएपछि विदेश जाने पनि बढी छन्,’ उनी भन्छन्, ‘५८ वर्षमा अनिवार्य अवकाशको व्यवस्था हामीले गरेका छौं ।’ शाहले कम्पनीले श्रम ऐनलाई पूर्ण रूपमा लागू गरेको जानकारी दिए । सोही ऐनअनुसार तलब सुविधा कम्पनीले प्रदान गर्ने गरेको छ । विगतको तुलनामा अहिले सेक्युरिटी क्षेत्र केही सहज भएको उनको बुझाइ छ । ‘गरुड सेक्युरेटीले दिनरात, हावापानी, विपत केही भन्दैन, कर्मचारीहरूले सही किसिमले ड्युटी गरेकै कारण आज हामी यहाँ पुगेका हौं । हाम्रो प्रडक्ट नै मान्छे हो, उनीहरूमा भएको कम्पनी र कामप्रतिको मायाले हामी आज नम्बर वान कम्पनी बनेका हौं,’ शाह भन्छन्, ‘अझै पनि आउट सोर्सिङ व्यवसायको सम्भावना छ ।’ देशमा छाएको आर्थिक मन्दीसँगै निजी क्षेत्रले सुरक्षा क्षेत्रमा खर्च कटौती गर्दा केही समस्या भएको शाहको भनाइ छ । ‘बैंकको शाखामा पहिले पाँच जना सुरक्षाकर्मी हुन्थे भने अहिले १ जनामा सीमित छ, प्राइभेट सेक्युरिटी घटेको छ,’ उनले भने । तर, आउट सोर्सिङको माग भने बढेको शाहले बताए । ‘निजी क्षेत्रले घटाउँदा पनि हामीले पूर्ति गरिरहेका छौं । अहिले भनेको सर्भाइभ गर्ने हो । निजी क्षेत्रलाई आर्थिक मन्दीले पिरोलिरहेको छ,’ उनी भन्छन्, ‘आगामी एक÷दुई वर्ष सर्भाइभ नै गर्ने हो ।’ लाभांशको पनि लगानी शाहका अनुसार गरुड सेक्युरेटीले सुरुवाती ८ वर्ष लाभांश नै वितरण गर्न सकेन । कम्पनीका लागि सुरुवाती वर्षहरू संघर्षपूर्ण नै रहे । ८ वर्ष बितेपछि भने कम्पनीले लाभांश दिइरहेको उनले बताए । तर, लाभांशलाई पनि कम्पनीमै ‘रिइन्भेष्ट’ गरिरहेको छ । ‘हामी जति बढ्दै गयौं त्यसलाई रिइन्भेस्टिङ गरिरहेका छौं । अहिले देशभर ३०/४० वटा गाडी छन् । मोटरसाइकल पनि धेरै छन्, पेट्रोलियम पदार्थका सवारीलाई विद्युतीयमा रूपान्तरण गरिरहेका छौं । यो वर्षको अन्तिमसम्म हाम्रो सबै सवारीसाधन विद्युतीय हुन्छन्,’ शाह भन्छन्, ‘यसले इन्धन खर्च पनि बच्ने, वातावरणलाई पनि सहयोग पुग्ने ।’ कम्पनीको काठमाडौंमा तीनवटासहित धनगढी, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा, चितवन, हेटौंडा, वीरगञ्ज, ढल्केवर र इटहरीमा शाखा छन् । उनका अनुसार देशका सबै जिल्लामा गरुड सेक्युरेटीको सेवा पुगेको छ । कम्पनीको बलियो पक्ष बनेको सेवाग्राही र कर्मचारीको प्रतिक्रिया हो । कम्पनी, कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध प्रगाढ हुनुपर्छ । त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन शाहले त्रैमासिक तथा वार्षिकरूपमा सेवाग्राही र कर्मचारीको प्रतिक्रिया लिने प्रणाली विकास गरेका छन् । ‘हामीलाई बनाउने भनेको नै क्लाइन्ट र कर्मचारीले हो, उहाँहरूको योगदानले नै हामी एक नम्बर बनेको हो, उहाँहरू धन्यवादको पात्र हुनुहन्छ, हामी सबैको समान उद्देश्य भनेको नतिजा हो, त्यो नतिजा राम्रो दिन पाउँदा गरुडलाई गर्व लाग्छ,’ उनले खुसी हुँदै भने । सम्भावना र चुनौती शाहले यो क्षेत्रमा जति सम्भावना र अवसर देखेका छन् त्यति नै चुनौती पनि बेहोरेका छन् । दक्ष जनशक्तिको अभाव र भएका जनशक्तिको पनि पलायनले उनलाई चुनौती थपिरहेको छ । निजी क्षेत्रको खर्च कटौती तथा मूल्य संवेदनशीलता र अस्वस्थ प्रतिस्पर्धालाई पनि उनले चुनौतीका रूपमा लिएका छन् । यसको समाधान खोजिरहेका छन् उनी । ‘हामी आवश्यक जनशक्ति आपूर्ति गर्न सकिरहेका छैनौं, भएका दक्ष जनशक्ति पनि पलायन भइरहेका छन्, नेपाली बजारमा यो ठूलो समस्याका रूपमा देखा परेको छ,’ उनले भने । यस्तै, निजी सुरक्षा ऐनको अभावका कारण पनि कम्पनीहरूलाई चुनौती थपिएको छ । विभिन्न सरकारी निकायमा धाउनु पर्ने बाध्यता अझै हटेको छैन । ‘श्रम मन्त्रालय, गृह मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयमा धाउनु पर्ने समस्या अझै छ,’ शाह भन्छन्, ‘यो समस्याको समाधानका लागि निजी सुरक्षा ऐनको आवश्यकता छ ।’ बजारमा ठूलो उपस्थिति, बलियो ब्राण्ड, सेवामा विविधिकरण, नयाँ भर्ती तथा प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय बजारमा प्रवेशलगायत विषय यो कम्पनीका सबल पक्ष हुन् । कम्पनीले आफ्नो ब्राण्डिङ तथा पहिचानलाई थप परिष्कृत बनाउँदै गएको छ । कम्पनीले पूर्वाधार विकासमा सुधार गर्नुका साथ प्रतिस्पर्धात्मक क्षमता पनि बढाउँदै गएको छ ।