आईएमई ग्रुपका पाँच होटल सञ्चालनमा, थप तीन होटल निर्माणको काम धमाधम
काठमाडौं । आईएमई ग्रुपको नेतृत्वमा पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । आईएमई हस्पिटालीले सोमबार नवलपुरको मौलाकालीमा नव निर्मित इला होटल सञ्चालनमा ल्याएसँग यस समूहको पाँच होटल सञ्चालनमा आएका हुन् । केही महिना अघिमात्र बागलुङमा इला होटलको औपचारिक उद्घाटन भएको थियो । आईएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट, काठमाडौंकै लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेको छ । मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै भएको र त्यसैअनुसार पर्यटन पूर्वाधारहरू निर्माण गर्ने क्रममा आईएमई ग्रुप जुटेको सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । आईएमई हस्पिटालिटीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजना अगाडि बढाइरहेको पनि उनले बताए। हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । मौलाकालीमा होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको उनले बताए । त्यहाँ पनि अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा ल्याउने उनको योजना छ । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम अगाडि बढाइरहेको छ । मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन घट्दो क्रममा देखिन्छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ । ‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले बताए । पर्यटकको बसाई लम्बाउन सक्दा थप विदेशी मुद्रा आर्जन हुने, थप रोजगारी सिर्जना हुने, सरकारले थप राजश्व उठाउन सक्ने र व्यवसायीले पनि लाभ लिन सक्ने उनले बताए । चितवन, तनहूँ र नवलपुरको यो संगम नेपालको एक धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमिमा रहेका मौलाकालिका मन्दिरको करिब साढे चार सय वर्ष पुरानो इतिहास छ । सँगै रहेको देवघाट वैदिक सनातन धर्मावलम्बीहरुको पवित्र धाम हो । ‘हाम्रै वरिपरिका नारायणी, देवघाट, त्रिवेणीजस्ता देवभूमि र तपोभूमिको महत्वको बयान गर्न म असमर्थ छु, मेरो क्षमताले पुग्दैन,’ होटल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । ‘आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा जति धेरै पर्यटकीय संरचनाहरु निर्माण गरे पनि पुग्दैन । यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो,’ उनले भने । चन्द्रगिरी छोटो समय अवधिमा नै नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको चर्चा गर्दै उनले हरेक डाँडा डाँडामा पर्यटनको सम्भावना आफूले देखेको उनले बताए ।
सडक बिग्रिएपछि चितवनको चौकीडाँडामा प्याराग्लाइडिङ बन्द, स्थानीय चिन्तित
चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९, चौकीडाँडादेखि कविलासडाँडासम्म साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङको उडान बन्द भएको हो । प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य सङ्ख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयवासी चिन्तित देखिन्छिन । दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चलि बन्द भएको हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले जानकारी दिए । स्टेसनसम्म पुग्ने सडक सहज नभएपछि पर्यटकको अभवामा प्याराग्लाइडिङ बन्द गरिएको उनले स्प्ष्ट गरे । चौकीडाँडास्थित ‘स्टेसन’ स्थलसम्म जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान बन्द गरिएको बताउँदै अध्यक्ष घलेले अहिले सो सडक निर्माणाधीन अवस्थामा रहेको र स्टेसन क्षेत्र आसपासमा होटलहरु निर्माण गर्ने काम धमाधम भइरहेकाले केही समयका लागि उडान बन्द गरिएको जानकारी दिए । उनले भने, 'सडकबाटो बिग्रेका कारण स्टेसनसम्म जान समस्या भएपछि चौकीडाँडामा अन्य संरचना निर्माण गर्ने काम भइरहेको, बाटो बनेपछि सम्भवत आगामी देसैँदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउँछौँ ।' भरतपुर महानगरको भ्रमण वर्ष–२०२४ लाई लक्षित गरी मुलुकको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको सो प्याराग्लाइडिङ चौकीडाँडाको दुई स्थानबाट गर्न सकिने छ । रु ३० करोडको लगानीसहित १२ वटा प्याराग्लाइडिङको सो ठाउँमा व्यवस्था गरिएको । समुुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनार गर्ने व्यवस्था मिलाइएको छ । उडान अवधि २० देखि ३० मिनेट रहेको सो प्याराग्लाइडिङका क्रममा नजिकैको देवघाट आसपासका रमणीयस्थलको दृश्यावलोकनसहित भरपुर आनन्द लिन सकिने बताइएको छ । भरतपुर महानगरापालिका वडा नं २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले पर्यटकीय हिसावले सम्भावना बोकेको चौकीडाँडा र कविलासडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउँदा स्थानीय जनता हर्षित भएको, व्यापार व्यवसायसहित चहलपहल बढेको, स्थानीयले रोजगारी पाएको, जग्गाको मूल्य वृद्धि भएको उल्लेख गर्दै छिटोभन्दा छिटो प्याराग्लाइडिङ सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । उनले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रबाट सुरु भएको सो प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको बताए । रासस
सगरमाथा आरोहण रोकियो, मौसमले साथ नदिँदा सयौँ आरोही प्रतीक्षारत
काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, 'सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।' आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ । मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए । उनले भने, 'मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।' मौसम खराबीका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ । सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो । हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ । कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ । मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरेका छन् । यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे । नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् । त्यस्तै इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गरेका छन् । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन् । आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन् । त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ । वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए । यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । रासस