ईभी ब्याट्रीमा नयाँ रेकर्ड : १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज !
काठमाडौं । चिनियाँ कम्पनी सीएटीएलले एकपटक चार्ज गर्दा १ हजार ५०० किलोमिटर चल्न सक्ने क्षमताको नयाँ ब्याट्री विकास गरेको दाबी गरेको छ । यसले रेञ्ज र चार्जिङ गतिमा प्रभुत्व कायम गर्न बीवाईडीसँग प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीको ‘कन्डेन्स्ड क्विलिन’ ब्याट्रीको नयाँ संस्करणले अघिल्लो संस्करणको १ हजार किलोमिटर सीमालाई पार गर्दै लन्डनदेखि बार्सिलोना सम्मको सडक दूरीभन्दा बढी रेञ्ज दिने बताइएको छ । सीएटीएलले आफ्नो शेन्सिङ ब्याट्रीको नयाँ अपग्रेड पनि सार्वजनिक गरेको छ, जसले १० प्रतिशतबाट ९८ प्रतिशतसम्म चार्ज हुन केवल साढे ६ मिनेट लाग्छ । यो अघिल्लो संस्करणभन्दा सुधार हो, जसले ५ प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन १५ मिनेट लिने गर्थ्यो । यो बीवाईडीको पछिल्लो ब्लेड ब्याट्रीभन्दा पनि निकै छिटो हो, जसले १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन ९ मिनेट लिन्छ । विश्व ईभी ब्याट्री बजारको आधाभन्दा बढी हिस्सा ओगट्ने सीएटीएल र बीवाईडी दुवैले सेल केमिस्ट्री र उत्पादन प्रक्रियामा नयाँ आविष्कार लक्षित गर्दै अर्बौं डलर अनुसन्धानमा खर्च गरिरहेका छन् । सीएटीएलका अर्बपति संस्थापक रोबिन जेङले बेइजिङमा पत्रकार र लगानीकर्तासँग कुरा गर्दै भने, ‘इलेक्ट्रोकेमिस्ट्रीको सीमाना अझै टाढा छ र पदार्थ विज्ञानका सम्भावनाहरू पनि अझै पूर्ण रूपमा प्रयोग भइसकेका छैनन् ।’ कम्पनीहरूले आफ्ना प्रविधिगत सुधारहरूले ईभी ब्याट्री चार्ज हुन धेरै समय लाग्ने, लामो यात्रामा सकिने वा अत्यधिक तातो र चिसोमा काम नगर्ने भन्ने उपभोक्ताको चिन्तालाई हटाउने अपेक्षा गरेका छन् । तर ब्याट्री लागतमा आएको तीव्र गिरावट र सीएटीएल तथा बीवाईडीका द्रुत प्रगतिले ईभी र ऊर्जा भण्डारण प्रणालीका लागि महत्वपूर्ण प्रविधिमा चीनको प्रभुत्व अझ बलियो बनाउँदै लगेको छ । सीएटीएलले चीनभर ब्याट्री स्वापिङ र चार्जिङ पूर्वाधार विस्तार गर्न सरकारको योजनालाई समर्थन गर्न थप लगानी गर्ने जनाएको छ । कम्पनीले २०२८ को अन्त्यसम्म चिनियाँ गाडी उत्पादकहरूसँग सहकार्य गर्दै १ लाख चार्जिङ र स्वापिङ स्टेशन निर्माण गर्ने योजना बनाएको छ । साथै यी स्टेशनहरूलाई चीनको विद्युत् प्रणालीसँग अझ राम्रोसँग एकीकृत गर्ने प्रतिबद्धता जनाएको छ । सीएटीएलले यसै वर्षको अन्त्यसम्म सोडियम–आयन ब्याट्रीको ठूलो परिमाणमा उत्पादन सुरु गर्ने पनि जनाएको छ, जसले लिथियम, कोबाल्ट र निकेलमा निर्भरता घटाउन सहयोग गर्नेछ । बेइजिङ अटो शोअघि यी घोषणाहरू गरिएको हो, जहाँ १ हजार ४०० नयाँ गाडी मोडलहरू प्रदर्शनमा राखिनेछन् । अमेरिका–चीन तनाव र चिनियाँ अर्थतन्त्रबारे चिन्ताबीच पनि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि स्वच्छ ऊर्जाको दीर्घकालीन माग बढ्ने अपेक्षाले सीएटीएलप्रति लगानीकर्ताको रुचि पुनः बढेको छ । हङकङमा सूचीकृत सीएटीएलका सेयर यस वर्ष ४० प्रतिशतभन्दा बढीले बढेका छन् भने पछिल्लो १२ महिनामा झन्डै १४० प्रतिशतले वृद्धि भएको छ ।
विद्युतीय सवारीले बढी भाडा लिए कारबाही हुने, डिजेल गाडीको हकमा मात्र भाडा वृद्धि लागू
काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले यात्रुसँग बढी भाडा लिएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले (हिजो) मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै हालै गरिएको भाडा वृद्धि केवल डिजेल इन्जिनबाट चल्ने सवारी साधनका लागि मात्र भएको स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि स्वचालित प्रणाली अनुसार चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएको भए पनि यो नियम विद्युतीय सवारीको हकमा लागू नहुने विभागको जिकिर छ । पछिल्लो समय विद्युतीय सवारी साधनहरूले पनि बढेको भाडा असुल्ने गरेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो । विभागका अनुसार विद्युतीय सवारी साधनका लागि साविककै भाडादर कायम रहनेछ । यातायात सेवा प्रदायकले यात्रुबाट भाडा लिएपछि अनिवार्य रूपमा टिकट दिनुपर्ने कानुनी प्रावधानलाई कडाइका साथ पालना गर्न समेत निर्देशन दिइएको छ । विभागले सूचनामार्फत सचेत गराउँदै भनेको छ, ‘यदि कुनै विद्युतीय सवारीले तोकिएको भन्दा बढी भाडा लिएको वा नियम उल्लंघन गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कडा कानुनी कारबाही गरिनेछ ।’ यससँगै विभागले यात्रुहरूलाई पनि सचेत रहन र नियम विपरीत भाडा असुलिएमा उजुरी गर्न आग्रह गरेको छ ।
विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य कार्यान्वयन गर्न विभागको निर्देशन
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले हालै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थी सहुलियतको कानुनी अधिकार पालना गर्न ताकेता गरेको हो । इन्धनको मूल्य वृद्धि भएको बहानामा कतिपय सवारी साधनले विद्यार्थीलाई छुट दिन आनाकानी गरेको र विद्यार्थी परिचयपत्र देखाउँदा समेत चालक तथा सहचालकले दुव्र्यवहार गर्ने गरेको उजुरीहरू हेलो सरकार र विभागको गुनासो पेटिकामा बढेपछि यो कदम चालिएको हो । विगत लामो समयदेखि कार्यान्वयनमा रहेको यो व्यवस्था सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको सहमतिमा आधारित छ । सोही सहमति अनुसार परिचयपत्रवाहक विद्यार्थीले सार्वजनिक सवारीको भाडामा ४५ प्रतिशत सहुलियत पाउने अधिकार सुनिश्चित गरिएको विभागले स्मरण गराएको छ । विभागका अनुसार कतिपय क्षेत्रमा यो नियम पालना नभएको गुनासो आएकाले अबका दिनमा अनुगमनलाई तीव्र बनाइनेछ । यदि कुनै पनि सवारी साधनले विद्यार्थीलाई छुट दिन अस्वीकार गरेमा वा नियम उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत विभागले दिएको छ ।