अटोमोबाइलमा मूल्यसूची स्टिकर अनिवार्य गर्ने विषयमा नाडाको चासो
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्ने विषयमा विस्तृत छलफल गरेको छ । बैशाख ८ गते भएको उक्त भेटमा विभागले मिति २०८२/१२/३० मा जारी गरेको प्रेस विज्ञप्तिका विषयमा नाडाले आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ । विभागले विदेशबाट पैठारी गरी नेपालमा बिक्री–वितरण गरिने सम्पूर्ण वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल–विजक जारी गर्नुपर्ने व्यवस्थालाई नाडाले सकारात्मक रूपमा लिएको जनाएको छ । यद्यपि, नाडाले सो व्यवस्थाको कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक चुनौतीहरूबारे विभिन्न चासो र जिज्ञासा राख्दै थप स्पष्टताको माग गरेको छ । नाडाले पुरानो स्टकमा रहेका सामानहरूको व्यवस्थापन कसरी गर्ने, भन्सार विन्दुमै स्टिकर टाँस्ने व्यवस्था कत्तिको व्यावहारिक हुने जस्ता विषय उठाएको छ । साथै, संस्थाले फेयर ट्रेड र पारदर्शी व्यवसायलाई सधैं प्रवर्द्धन गर्दै आएको जनाएको छ । छलफलका क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन, २०३५ अनुसारको व्यवस्था कार्यान्वयनमा ल्याइएको र वर्तमान सरकारको १०० बुँदे कार्यक्रममै यस विषयलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले नाडाबाट उठाइएका चासो र जिज्ञासालाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै कार्यान्वयनमा देखिने समस्या समाधान गर्न विभाग तयार रहेको बताए । उनले स्टिकरसहितको अधिकतम मूल्यसूची टाँस्ने विषयमा उद्योगी तथा आयातकर्ताप्रति विभाग कडाइका साथ प्रस्तुत हुने स्पष्ट पारे । साथै, आवश्यक परे विद्यमान कानुनमा सुधारका लागि सुझाव दिन पनि नाडालाई आग्रह गरे । उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणि पाठक, केन्द्रीय कार्यसमिति सदस्य तथा स्पेयर पार्ट्स समितिका सभापति दीपेन्द्रकुमार मिश्र र सदस्य नारायणप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार आयात ६ प्रतिशतले बढ्यो, स्टकका कारण ईभी आयातमा मन्दी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिना अर्थात् साउनदेखि चैतसम्ममा नेपालको अटो बजार मिश्रित देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ९ महिनाको अवधिमा कुल ११ हजार ३१३ युनिट कार, जीप र भ्यान आयात भएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ प्रतिशत अर्थात् ६०४ युनिटले बढी हो । गत वर्ष चैत मसान्तसम्म १० हजार ७०९ युनिट सवारी साधन भित्रिएका थिए । आयात बढेसँगै राज्यको ढुकुटीमा पनि उल्लेख्य योगदान पुगेको छ । समिक्षा अवधिमा कुल २० अर्ब ६७ करोड रुपैयाँ बराबरका सवारी साधन आयात हुँदा सरकारले १९ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार आयातमा वृद्धि देखिए पनि पछिल्लो समय लोकप्रियता कमाइरहेको विद्युतीय कार (ईभी) को आयातमा भने गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ९ महिनामा ईभी आयात करिब १० प्रतिशतले घटेको छ । गत वर्ष यसै अवधिमा ७ हजार ९६७ युनिट ईभी भित्रिएकोमा यस वर्ष त्यो संख्या घटेर ७ हजार १७३ युनिटमा खुम्चिएको छ । चालु वर्ष भित्रिएका १६ अर्ब ६६ करोड मूल्य बराबरका ईभीबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । ईभी आयात घट्नुको मुख्य कारण बजेट अगाडि कर बढ्ने डरले व्यवसायीहरूले पहिले नै करिब ६ हजार युनिट स्टक राख्नु र ती कारहरू अझै बिक्री भइनसक्नुलाई मानिएको छ । साथै, यस वर्ष पेट्रोल कारको आयातमा देखिएको वृद्धले पनि ईभीको बजार हिस्सामा केही प्रभाव पारेको छ । यस अवधिमा भित्रिएका विद्युतीय सवारी साधनमध्ये मध्यम क्षमताका कारको बढी देखिएका छन् । जसमा ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ८३ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५७४ युनिट, २०१ किलोवाटमथिका ८ युनिट तथा अनएसेम्बल गरिएका ५० किलोवाटसम्मका २ युनिट रहेका छन् । यसरी हेर्दा नेपाली बजारमा अझै पनि ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कारहरू उपभोक्ताको रोजाइमा बढी परेको देखिन्छ ।
विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
काठमाडौं । विद्युतीय गाडीको आयात घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा झन्डै १० प्रतिशतले गिरावट आएको हो । गत वर्ष ९ महिनामा ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ । चालु आवमा कुल १६ अर्ब ६६ करोड बराबरको विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व पाएको छ । चालु आवमा ५० किलोवाटसम्मका २५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४०८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५ सय ७४ र २०१ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् । चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको छ । ९ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म कुल २ हजार ७४२ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । पछिल्लो समय इन्धन संकट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ ।