एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा जनकपुर र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।  आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । प्रतियोगितामा विभिन्न ८ टोली सहभागी छन् । दिनमा २ वटा खेल हुँदा पहिलो खेल दिउँसो ११:४५ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका ३ खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने छन् । 

चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बन्यो भायानेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टिम चितवन राइनोजको आधिकारिक कनेक्टिभिटी पार्टनर बनेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भायानेटका वाणिज्य तथा बजार व्यवस्थापन विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । सम्झौता समारोहमा भायानेटका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुदप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गर्दै भने, 'हामी खेलकुदसँग सुरुदेखिनै जोडिएका छौं । खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्तामा लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्छ । इन्टरनेट जस्तै खेलले पनि मानिसहरूलाई नजिक ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं ।' भायानेटले स्थापना कालदेखि नै खेलकुदलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको शीर्ष प्रायोजक बनेको थियो । साथै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड दूत घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यका माध्यमबाट भायानेटले खेलाडीको मनोबल वृद्धि गर्ने, दर्शकको भावना जोड्ने र देशभरका खेलप्रेमीहरूलाई एकै मञ्चमा ल्याउने सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ ।

कामना सेवा फुट्सल कप सिजन ५ सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कामना सेवा फुट्सल कपको पाँचौं सिजन शनिबार सम्पन्न गरेको छ । पुरुष तर्फको खेलमा सिद्धार्थ बैंकले प्राइम कर्मसियल बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ ।  त्यसैगरी महिला तर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई बैंकलाई १–० ले हराउदै यस सिजनको उपाधी जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुट्सल कप आयोजना गदैं आएको छ । विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकको डिसीईओ विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । खेलमा पुरुष तर्फको कुल १७ र महिला तर्फ कुल ९ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको दिन २७ गते बिहिबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गदैंछ ।