सडक बन्द गरेर न्युयोर्कमा नेपाल डे परेड हुँदै, ५ हजार सहभागी हुने
काठमाडौं । अमेरिकास्थित न्युयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ । म्यानह्याटनमा नेपाली पहिचान र संस्कृति झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । परेडको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय समिति न्युयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले जानकारी दिए । म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर सम्पन्न हुनेछ । एनआरएनए न्युयोर्क च्याप्टर, आदिवासी जनजाति महासङ्घ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न सङ्घ-संस्थाहरुको संयुक्त आयोजनामा परेड हुन लागेको हो । न्युयोर्कमा विगत १० वर्षदेखि नेपाल डे परेड आयोजना हुँदै आएको छ । पहिलो पटक सन् २०१६ मा परेड आयोजना गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । विश्वको आर्थिक राजधानीमा नेपाली कला, साहित्य, गीत, सङ्गीत तथा वेषभूषा प्रदर्शनमार्फत नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धन गर्नु परेको उद्देश्य हो । विदेशीलाई नेपालको कला-संस्कृति देखाएर नेपाल घुम्न जान आकर्षित गर्न सकिने विश्वास आयोजकको छ । न्युयोर्क विश्वका सबैभन्दा धेरै डलर अर्बपति (बिलेनियर) बसोबास गर्ने सहर हो । यस वर्षको कार्यक्रममा करिब ५० सङ्घ-संस्थाको सहभागिता रहने छ । हरेक सङ्घसंस्थाबाट ५ जनाका दरले स्वयंसेवक परिचालन गरिनेछ । यस वर्ष करिब ५ हजार नेपालीहरूको सहभागिता रहने अपेक्षा रहेको फिप्नाका अध्यक्ष एपी लामा शेर्पाले बताए । उनले भने, ‘परेडमा सहभागी झाँकीहरू २५ स्ट्रिटमा पुगेर सकिने छन्, समापन स्थलमा तयार पारिएको स्टेजमा सांस्कृतिक कार्यक्रममा सीमित व्यक्ति मात्रै सहभागी हुनेछन् ।’ नेपाल डे परेड म्यानह्याटनको २८ स्ट्रिट, म्याडिसन एभेन्यूबाट सुरु हुनेछ । आयोजकका अनुसार ३८ स्ट्रिटको पार्क एभेन्यूदेखि फिप्थ एभेन्यूसम्म पूरै सडक बन्द गरिने छ । सहभागीलाई ११ बजेदेखि जम्मा हुन आह्वान गरिएको छ । त्यहाँबाट दिउँसो एक बजे परेड निस्कनेछ । आयोजक समितिका आर्थिक संयोजक कृष्ण लामिछानेले परेड आयोजनामा ३८ देखि ४० हजार अमेरिकी डलर खर्च हुने अनुमान रहेको बताए । अहिलेसम्म विभिन्न व्यवसायी, सङ्घसंस्था र व्यक्तिबाट करिब ३३ हजार डलरको प्रतिबद्धता आइसकेको उनको भनाइ छ । परेडमा सहभागी हुने २ हजारभन्दा बढीको बीमा गरिएको छ ।
बेलायतको निर्वाचनमा नेपालीमूलका रानाभाट दम्पती विजयी
काठमाडौं । बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । त्यस्तै उनकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित भएकी छन् । यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका रानाभाट १ हजार ६१० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित भएका हुन् । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीन वटै सिट लेबर पार्टीले जितेको छ । लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिल निर्वाचित भएका छन् । रानाभाट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित भएकी हुन्। उनले १ हजार २९२ मत प्राप्त गरेकी छन् । एबिउडमा पनि तीनवटै सिट लेबरले जितेको छ । रानाभाट दम्पती दुवै लेबर पार्टीबाट चुनावी मैदानमा होमिएका थिए । उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेल्वासे निर्वाचित भएका छन् । कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे ८९१ मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित भएका हुन्। सोही बरोको वेलिङटन वार्डमा पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतसहित काउन्सिलर निर्वाचित भएका छन् । त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट १ हजार १८० मतसहित निर्वाचित प्रतीक्षा गुरुङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन्। उनले १ हजार ९५१ मत प्राप्त गरेका छन् । बेलायतमा बिहीबार सम्पन्न निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । यो निर्वाचनमा बेलायतको सत्तारुढ दल लेबर पार्टीलाई ठूलो झड्का लागेको छ । बेलायतको समयअनुसार शुक्रबार मध्यरातिसम्म प्राप्त नतिजाअनुसार कूल १३६ काउन्सिलमध्ये १३१ को नतिजा प्राप्त हुँदासम्म नाइजल फराज नेतृत्वको रिफर्म युकेले सबैभन्दाबढी १ हजार ४४३ काउन्सिलर सिट जितेको छ । दोस्रो स्थानमा रहेको सत्तारुढ लेबरले ९५९ र तेस्रो स्थानको लिब्डेमले ८३४, कन्जरभेटिभले ७७३, ग्रीनपार्टीले ५११ तथा अन्यले २४४ काउन्सिलर पद जितेका छन् । सत्तारुढ पार्टीले यसअघिको तुलनामा करिब एक हजार ३९५ सिट गुमाएको हो । अधिकांश सिट फराज नेतृत्वको रिर्फमले कब्जा गरेको छ । उसले अघिल्लो चुनावको तुलनामा एक हजार ४४१ बढी सिट जितेको हो ।
नेपाली विद्वान आशिष विष्टले राखे सात विश्व कीर्तिमान, शिक्षाको क्षेत्रमा नयाँ इतिहास
काठमाडौं । अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा एक नेपाली विद्वानले अभूतपूर्व सफलता हासिल गर्दै इतिहास रचेका छन् । नेपालमा जन्मिएका विद्वान आशिष विष्टलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ले स्नातकोत्तर तथा व्यावसायिक शिक्षामा सात फरक विश्व कीर्तिमान कायम गरेको आधिकारिक मान्यता दिएको हो । यससँगै विष्ट स्नातकोत्तर तहमा सातवटा विश्व कीर्तिमान एकैसाथ धारण गर्ने पहिलो व्यक्ति बनेका छन् । वर्ल्ड्स बुक अफ रेकर्ड्सले महिनौंको सूक्ष्म अनुसन्धान र प्रमाणीकरणपछि विष्टलाई सात शीर्षकमा कीर्तिमान प्रदान गरेको हो । उनले करिब ४० महिनाको छोटो अवधिभित्र पीएचडी र प्रतिष्ठित व्यावसायिक लेखा योग्यतासहित चारवटा उच्च शैक्षिक डिग्री हासिल गरे । सामान्य शैक्षिक समयरेखालाई चुनौती दिँदै उनले सात वर्षभन्दा कम समयमा पाँचवटा ‘एडभान्स्ड डिग्री’ प्राप्त गरे । उनलाई विश्वकै सबैभन्दा उच्च शैक्षिक योग्यता भएका ज्योतिषविद्का रूपमा आधिकारिक मान्यता दिइएको छ । उनले ज्योतिषशास्त्रमा पीएचडी र लेखा तथा वित्तमा एमएससीजस्ता कठिन विषयहरू मात्र १७ महिनाभित्र एकैसाथ पूरा गरी सबैभन्दा छोटो समयको कीर्तिमान बनाए । विष्टको यो सफलता झन् विशेष यसकारण छ कि उनले औपचारिक शिक्षाबाट एक दशक लामो विश्राम पछि पुनः अध्ययन सुरु गरेका थिए । मध्यम करिअरमा रहेका व्यक्तिहरूका लागि उनको यो उपलब्धि एउटा ठुलो प्रेरणा हो। आशिष विष्टको शैक्षिक प्रोफाइल निकै फरक र रोचक छ । उनले एकातिर प्रमाणमा आधारित ‘कर्पोरेट वित्त’ र अर्कोतिर गहिरो व्याख्यात्मक ‘ज्योतिषीय अनुसन्धान’लाई एकैसाथ अगाडि बढाएका छन् । उनी बेलायतको एफसीसीएका फेलो समेत हुन् । नेपालबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले भारतमा उच्च शिक्षा, बेलायतमा व्यावसायिक योग्यता र अष्ट्रेलियामा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । हाल अष्ट्रेलियामा बसोबास गर्ने विष्टले विश्वव्यापी शिक्षा प्रणालीको उच्चतम प्रयोग गर्दै आफूलाई ‘ग्लोबल स्कलर’ का रूपमा उभ्याएका छन् । ५० भन्दा बढी देशका उपलब्धिहरू रेकर्ड गर्ने ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ले उनको विश्वविद्यालयका मूल प्रमाणपत्र, स्वतन्त्र अडिट प्रतिवेदन र अध्ययन अवधिको जूरी समीक्षा गरेको थियो । सबै प्रक्रिया पूरा भएपछि मात्र उनलाई यो ऐतिहासिक सम्मान दिइएको हो । हाल विष्ट अनुसन्धानकर्ता र शिक्षकका रूपमा सक्रिय छन्। उनले आफ्नो बहुविषयगत ज्ञानलाई लेखा र ज्योतिष दुवै क्षेत्रको विकासमा लगाउने लक्ष्य राखेका छन् ।