शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ: शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने र त्यसबाट शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ, नेपालको संयोजनमा धनगढीमा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा मन्त्री पोखरेलले ऐनमा समेट्नुपर्ने विषयबारे देशभरबाट सुझाव संकलन भइरहेको बताए । उनले सातै प्रदेशमा भएका शिक्षा संवादबाट प्राप्त सुझाव र निष्कर्षलाई ऐनमा समेट्ने प्रयास भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले अघिल्लो सरकारले शिक्षा ऐनको मस्यौदा तयार गरे पनि विद्यार्थी, अभिभावक तथा अन्य प्रमुख सरोकारवालासँग पर्याप्त छलफल नभएकाले थप सुझाव लिन समय दिइएको बताए । कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षा ऐन, नियम र नीति निर्माण गर्दा दीर्घकालीन प्रभाव र सुधारलाई केन्द्रमा राख्नुपर्ने बताए । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले सूचना प्रविधिको विकाससँगै विद्यार्थीको सिकाइ शैली परिवर्तन भइरहेकाले शिक्षक र पाठ्यक्रमलाई पनि समयअनुकूल ‘अपडेट’ गर्नुपर्नेमा जोड दिए । छलफलमा शिक्षक तथा कर्मचारीको वृत्तिविकास, सेवा सुविधा, अनुमानयोग्य बढुवा प्रणाली, प्रारम्भिक बालविकास केन्द्र, विद्यालय सहयोगी तथा सहायक कर्मचारीको पारिश्रमिक, विद्यार्थीको शैक्षिक गुणस्तर, अपाङ्गता भएका विद्यार्थीका लागि समावेशी शिक्षा तथा निजी, धार्मिक र सार्वजनिक शिक्षासम्बन्धी विषयमा सुझाव दिइएको थिया । सरोकारवालाले शिक्षक तथा कर्मचारीका समस्या समाधान नगरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नसकिने भन्दै सरकारले छलफल मात्र नभई समाधानका उपायसहित कार्यान्वयनमा जानुपर्ने बताएका थिए । कार्यक्रममा सार्वजनिक तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, विद्यार्थी र अभिभावकलगायत १२ समूहले छुट्टाछुट्टै सुझाव दिएका थिए । प्रधानाध्यापक संघ, नेपालका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतमले शिक्षा ऐन, २०२८ समयानुकूल संशोधन हुन नसक्दा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुन नसकेको बताए। गत साउन ३१ गते विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियान धनगढीमा पुगेर सम्पन्न भएको हो । अभियानअन्तर्गत विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल र सुर्खेतमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो ।
बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमित मैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ । कोशी प्रदेश कार्यालयमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायका चुनौती र सेवा सुधारका विषयमा छलफल गरिएको हो । कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभिकर्तालाई थप जिम्मेवार, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर बीमा योजना बिक्री गर्ने अभिकर्ताले बीमालेखका सर्त, जोखिम, कभरेज, दाबी प्रक्रिया, ल्याप्स तथा सरेन्डरसम्बन्धी व्यवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने उनले बताए । मिससेलिङ (गलत वा अपूर्ण जानकारी दिएर बीमा बिक्री गर्ने प्रवृत्ति) न्यूनीकरणका लागि अभिकर्तालाई जिम्मेवार बनाउने गरी ‘डिक्लेरेसन फर्म’ विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने महर्जनको भनाइ थियो। बीमितलाई आवश्यक जानकारी दिएको सुनिश्चित भएपछि मात्रै बीमालेख जारी गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए । मिससेलिङका कारण दाबी भुक्तानीका क्रममा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै उनले अभिकर्तालाई बीमा योजनाको बिक्रीमा मात्र नभई व्यावसायिक आचरण, जोखिम पहिचान, बीमित परामर्श र बीमालेखका सर्तबारे नियमित प्रशिक्षण दिन कम्पनीलाई निर्देशन दिए । त्यस्तै, निर्जीवन बीमा व्यवसायमा बैंकमार्फत जारी हुने बीमालेखको विवरण र उपयुक्तता समेत प्रभावकारी रूपमा समीक्षा गर्न उनले आग्रह गरे । विशेषगरी सम्पत्ति तथा स्टक बीमामा कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेमा उनले जोड दिए । बीमालेखमा उल्लेखित विवरण र वास्तविक जोखिमबीच असमानता हुँदा भविष्यमा दाबीका क्रममा विवाद हुनसक्ने भएकाले कम्पनीका प्रदेश प्रमुख तथा कर्मचारीले बीमालेख जारी गर्नुअघि आवश्यक विवरण र घोषणाको पूर्णता जाँच गर्नुपर्ने उनको भनाई थियो । बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वासयोग्य बनाउन बीमितलाई पर्याप्त सूचना दिने, अभिकर्तालाई उत्तरदायी बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने महर्जनले बताए । साथै, प्रदेश कार्यालय, शाखा, अभिकर्ता र सम्बन्धित निकायबीच समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने मिति सर्यो
काठमाडाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिने मिति संशोधन भएको छ । यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठकसहितको कार्यक्रम अब भदौ ८ गते हुने भएको हो । प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्नेछ । सोही बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
१ खर्ब ८७ अर्ब ४४ करोडको वस्तु आयात, व्यापारघाटा १ खर्ब ४८ अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा आयात र निर्यात दुवै वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको सोही महिनामा वैदेशिक व्यापारको आकार १ खर्ब ६६ अर्ब ९७ करोड थियो । तथ्यांकअनुसार २०८३ साउनम १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु भएको छ । जुन अघिल्लो आवको साउनको तुलनामा ३१.०४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै साउनमा ३८ अर्ब ७० करोडको वस्तु निर्यात भएको छ छ । जुन अघिल्लो आवको तुलनामा ६१.७२ प्रतिशत धेरै हो । गत साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १७.११ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा पोहोरको तुलनामा १९.४१ प्रतिशतले बढेको हो । आयातको हिस्सा ३.२५ प्रतिशतले घटेर ८२.८९ प्रतिशत कायम भएको छ । कुल व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड बराबर पुगेको छ । । जुन अघिल्लो साउनको तुलनामा २४.८८ प्रतिशत धेरै हो । गत वर्ष साउनमा १ खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा रहेको थियो ।
सँगै मजदुरी गर्ने साथीमाथि चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ
बागलुङ । बागलुङ काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । उक्त घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । गत साउन २६ गते राति अन्दाजी ९ः४० बजेको समयमा काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बस्दै आएका ढोरपाटन नगरपालिका–७ स्थायी वतन भई हाल ढोरपाटन नगरपालिका–५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ घर भएका २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो हतियार प्रहार गरी ज्यान लिएको खुल्न आएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय मानिसहरूसँग समन्वय गरी घटनापश्चात् भाग्न नपाउँदै अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन नगरपालिका–५ घर भएका ३६ वर्षीय रिखे दमाईलाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेराबाट सोही दिन राति पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा अशोक खत्री, अर्जुन घर्ती मगर र रिखे दमाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेरामा बस्ने देबेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने काम गर्न घरबाट हिँडेका थिए । बाटोमा अशोक खत्रीको घरमा काम परेपछि उनी बीचबाटोबाटै घर फर्किएका थिए भने अर्जुन घर्ती मगर र रिखे दमाई काम गर्ने स्थानमा पुगेका थिए । गत साउन २४ गते अशोक खत्री काम गर्नका लागि अन्य दुई जना काम गरिरहेको स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए । साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य झैझगडा भएको अनुसन्धानबाट खुलेको छ । त्यसको भोलिपल्ट दिनको काम सकेपछि तीनै जना सँगै बसी मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विषयलाई लिएर पुनः झैझगडा भएको थियो । सोही क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि धारिलो चक्कुले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । मृतक अशोक खत्रीका १२ वर्ष, ९ वर्ष र ७ वर्षका गरी तीन जना छोरा रहेका छन् । उनकी श्रीमती पुनः गर्भवती रहेको र सम्पूर्ण परिवार अशोक खत्रीमै आश्रित रहेको जनाइएको छ । मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दरखास्त पेस गरेकी छन् । वारदातमा प्रयोग भएको चक्कु तथा रगत लागेका कपडासमेतका दशी प्रमाण बरामद गरिएको छ । पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ ।
बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्ललाई
काठमाडाै। बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्लले पाएकी छिन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका थिए । भट्ट कर्णाली प्रदेश प्रमुख भएसँगै उक्त रिक्त पदमा मल्ल नियुक्त भएकी हुन्। निर्मला मल्ल नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक हुन् । प्राधिकरणको केन्द्रिय कार्यालयमा उनले जोखिम व्यवस्थापनको सहित विभिन्न शाखामा काम गरिसकेको अनुभव रहेको छ ।
हिमालयन बैंकको १० प्रतिशत डिबेन्चर नेप्सेबाट सूचीकरण खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन बैंक लिमिटेडको १० प्रतिशत डिबेन्चर २०८३ को सूचीकरण खारेज गरेको छ । नेप्सेका अनुसार बैंकले जारी गरेको ७ वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २५ लाख ६६ हजार ९०४ कित्ता डिबेन्चरको सूचीकरण खारेज गरिएको हो । ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’को परिपक्व अवधि भदाै ८ गते समाप्त भएको नेप्सेले जनाएको छ । परिपक्व अवधि समाप्त भएसँगै भदाै ५ गतेको कारोबार समयपश्चात उक्त ऋणपत्रको सूचीकरण खारेज गरिएको नेप्सेको पत्रमा उल्लेख छ। नेप्सेले हिमालयन बैंकबाट प्राप्त सूचीकरण खारेजीसम्बन्धी पत्रका आधारमा ऋणपत्रको सूचीकरण खारेज गर्ने निर्णय गरेको जनाएको छ । उक्त डिबेन्चर ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा जारी गरिएको थियो ।
मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोल बस्ने अन्दाजी ५ वर्षीय आदित्य कुमार महतोलाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो। गम्भीर घाइते भएका बालकलाई शुभ स्वस्तिक अस्पताल, बर्दिबासमा लगेर सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ पठाइएको थियो। इ.प्र.का. गौशालाबाट खटिएको टोलीले उक्त मोटरसाइकल र गौशाला नगरपालिका–८, बेलगाछी बस्ने अन्दाजी ४१ वर्षीय मोटरसाइकल चालक दिलीप कुमार खड्कालाई नियन्त्रणमा लिई इ.प्र.का. गौशालामा राखिएको छ। न्युरो अस्पताल, जनकपुरबाट थप उपचारका लागि बालकलाई मेडिसिटी अस्पताल, ललितपुर रिफर गरिएको थियो। मेडिसिटी अस्पताल, ललितपुरमा उपचारका क्रममा घाइते आदित्य कुमार महतोको मृत्यु भएको हो। घट्ना बारे थप अनुसन्धान भइरहेको छ ।