प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की, सञ्चालक बने पूर्वसीईओ अर्याल

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार १९ गते बसेको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।  लिला प्रकाश सिटौलाको ४ वर्षे कार्यकाल गत चैत १२ गते सकिएपछि बैंकको अध्यक्ष पद रिक्त थियो ।  यस्तै, बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाका रमेश राज अर्याल स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । अर्याल कुमारी बैंकका पूर्व सीईओ हुन् ।  

नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त

काडमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोककुमार आचार्य नियुक्त भएका छन् । असार १४ गते बसेको कार्यकारी समितिको बैठकले पाल्पाका अशोक कुमार आर्चायलाई संस्थाको सीईओमा नियुक्ति गरेको हो । आचार्यलाई साउन १९ गतेदेखि लागु हुनेगरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।   

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त

काठमाडौं । विश्व बैंकले जोहानेस जुटलाई दक्षिण एसिया क्षेत्रका नयाँ उपाध्यक्षका रूपमा नियुक्त गरेको छ । हालका उपाध्यक्ष मार्टिन रेजरको स्थानमा नियुक्त भएका जुटले २०२५ जुलाई १ देखि औपचारिक जिम्मेवारी सम्हाल्नेछन् । दक्षिण एसिया क्षेत्रका उपाध्यक्षका रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्नुका साथै ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग र वित्तीय स्रोतहरूको सुपरिवेक्षण गर्नेछन् । उनको नेतृत्वमा दक्षिण एसिया क्षेत्रमा रोजगारी सिर्जना, जलवायु र विपद् सहनशीलता, मानव पूँजी विकास र निजी लगानी परिचालनजस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने विश्व बैंकले जनाएको छ । डच नागरिक जुट १९९९ देखि विश्व बैंकसँग आवद्ध छन् र यसबीच उनले ब्राजिलका लागि देश निर्देशक, रणनीति र परिणाम सम्बन्धी निर्देशक, तथा बंगलादेश, भुटान, नेपाल, टर्किये, कोमोरस, एरित्रिया, केन्या, रवाण्डा, सेशेल्स र सोमालियाका लागि देश निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेका छन् ।  'दक्षिण एसियामा १० वर्षअघि काम गरेको समय यता निकै विकास भएको देखेर म खुशी छु,' जुटले भने, 'फेरि यस क्षेत्रका जनताको आत्मीयता र सांस्कृतिक विविधतालाई नजिकबाट अनुभव गर्न पाउँदा उत्साहित छु ।' जुटले टोरन्टो विश्वविद्यालयबाट दर्शनमा बीए र एमए, हार्वर्ड विश्वविद्यालयबाट कानूनको डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनमा विद्यावारिधि गरेका छन् । जुट भारतको नयाँ दिल्लीमा आधारित भएर दक्षिण एसिया क्षेत्रको लागि नयाँ क्षेत्रीय केन्द्रको रूपमा काम गर्ने विश्व बैंकले जनाएको छ । उनको कार्यक्षेत्र भारतको नयाँ दिल्लीमा रहनेछ, जुन दक्षिण एशियाका लागि विश्व बैंकको नयाँ क्षेत्रीय केन्द्रका रूपमा स्थापना गरिएको छ।