कर नबढ्ने चर्चा, आयातका लागि हतारमा छैनन् व्यवसायी

१० महिनामा भित्रिए ८ हजार ६०७ युनिट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा करको दर परिवर्तनको चर्चा नभएपछि विद्युतीय कार (ईभी) सूस्त बनेको छ । अटो व्यवसायीहरूका यसपालि कर परिवर्तनको चर्चा नभएपछि ईभी आयात सुस्त बनेको हो । गत वर्ष चालु आर्थिक वर्ष बजेट आउनुअघि नै कर बढ्ने चर्चाका कारण वैशाख महिनामा मात्रै ३ हजार युनिटभन्दा बढी ईभी कार आयात गरिएको थियो ।

ती कारहरू अझै पनि बजारमा पूर्ण रूपमा बिक्री हुन नसकेको उनीहरू बताउँछन् । यसवर्ष भने बजेट अगाडि करको दर परिवर्तन हुने हल्ला नभएपछि थप गाडीहरू आयात नगरेको व्यवसायीहरूको भनाइ छ । 

जसका कारण चालु आर्थिक वर्षको १० महिनामा ईभीको आयात करिब १४ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ हजार ८५७ युनिट ईभी कार आयात भएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या घटेर ८ हजार ६०७ युनिटमा सीमित भएको हो ।

आगामी आर्थिक वर्षको बजेट आउन अब ५ दिनमात्र बाँकी छ । विगतका वर्षहरूमा बजेटअघि नै गाडी आयात बढाउने प्रवृत्ति रहे पनि यसपटक व्यवसायीहरूले ठूलो स्टक राख्न छाडेका छन् । उनीहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको पर्खाइमा छन् । अहिले व्यवसायीहरुमाझ गाडी कर नबढ्ने चर्चा छ । 

चालु आर्थिक वर्षको हालसमम्मा ५० किलोवाटसम्मका २ हजार ८४३ युनिट ईभी भित्रिएका छन् भने ५१ देखि १०० किलोवाटसम्मका ५ हजार २५ युनिट अर्थात् सबैभन्दा बढी ईभी भित्रिएका छन् । 

यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ७२३ युनिट तथा २०१ किलोवाटभन्दा माथिका ९ युनिट ईभी नेपाल भित्रिएका छन् ।

यसबाहेक चालु आर्थिक वर्षमा ५० किलोवाट क्षमतासम्मका २ युनिट अनएसेम्बल (खुल्ला पार्टपूर्जाका रूपमा) विद्युतीय कार समेत आयात भएको भन्सार विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा कुल २० अर्ब ३२ करोड रुपैयाँ बराबरका ईभी कार नेपाली बजारमा भित्रिएका छन् । यसबाट सरकारले १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ । 

गाडीमा कर नबढ्नेमा व्यवसायी ढुक्क

Share News