नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले नन्ग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न सम्बन्ध भएका विद्यालयका प्रमुखलाई आग्रह गरेकी हुन् । गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नन्ग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्।  यसकारण नेतृत्वको खोजी भएको हो । उनले भनिन्,‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नन्ग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’ छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसइईको नतिजा राम्रो नभएको धारणा राखे ।  छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाए । उनीहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे ।  विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कामपाबाट ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये नाै सय ५६ जना (नन्ग्रेडेड)ले पुन परीक्षा दिनुपर्ने भएको छ । उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् ।

७७९ जनालाई भरतपुर महानगरको सीपमूलक तालिम

चितवन । भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), चालक र एडभान्स ब्युटीपार्लरसम्बन्धी तालिम सञ्चालन गरेको थियो ।    तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे ।  महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर महानगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।   उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।   उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी बर्सेनि यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए ।  चालु आर्थिक वर्षका लागि सीप विकास कार्यक्रममा एक करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट एक हजार ७०० जनालाई तालिम दिइएको उनको भनाइ थियो ।   प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाइने बताए । कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

भरतपुर महानगरले सीपमूलक तालिममा सहभागी ७७९ जनालाई दियो प्रमाणपत्र

चितवन । भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा  सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो ।  महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), ड्राइभिङ, र एडभान्स ब्युटीपार्लर तालिम सञ्चालन गरेको थियो ।  तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे ।  महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर नगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।  उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख दाहालले तालिममा लिएको ज्ञान सीपमार्फत उद्योग, व्यवसाय तथा रोजगार बन्न प्रशिक्षार्थीलाई आग्रह पनि गरिन् ।  दक्ष जनशक्तिको माग स्वदेश तथा विदेशमा रहेकाले सीप सिकेपछि राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो ।  यस्तै उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी वर्षेनी यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए । चालु आर्थिक वर्षको लागि सीप विकास कार्यक्रममा १ करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट १७ सय जनालाई तालिम दिइएको उनको भनाइ थियो ।    प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने जानकारी दिए। कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरू मध्ये अधिकांश युवा, महिला तथा बेरोजगार व्यक्तिहरू रहेका थिए ।