कर्मचारी सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी

काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारीहरू मागेको छ । कोषले खुला तथा समावेशी प्रतियोगितामार्फत ३८ जना कर्मचारी मागेको हो । कोषका अनुसार प्रशासन, कानुन, प्राविधिक, सूचना प्रविधितर्फ आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्मका कर्मचारीलागि दरखास्त आह्वान गरेको हो । प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन् । आजदेखि २१ दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ । अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ । उम्मेदवारहरुले प्रत्येक चरणको परीक्षामा उपस्थित हुँदा प्रवेश पत्र र नागरिकताको सक्कल प्रति साथमा लिएको हुनु पर्नेछ । प्रत्येक चरणको परीक्षा समाप्ति पश्चात नतिजा प्रकाशन हुने छ, उत्तीर्ण उम्मेदवारहरुलाई मात्र अर्को चरणको परीक्ष सम्मिलित  हुन पाउने छन् । परीक्षा सञ्चालन गर्दा खुला तथा समावेशीतर्फ एउटै परीक्षा सञ्चालन गरिने छ र निजहरुले प्राप्त गरेको अङ्गको आधा समावेशीतर्फ उम्मेदवारहरु बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने विभागले जनाएको छ ।

नेपाल प्रहरीले माग्यो थप १३ जना प्रहरी निरीक्षक र ६० सहायक निरीक्षक (सुचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा थप पद खुला गरेको छ । गत भदौ २८ गते प्रकाशित विज्ञापनमा तोकिएको संख्यामा संशोधन गर्दै थप माग गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकका लागि ६४ जनाको माग गरिएकोमा थप १३ पद थप गरी कुल ७७ जनाका लागि अवसर खुला गरिएको छ । त्यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाको माग गरिएकोमा ६० जना थप गरी कुल ३१६ पद खुला गरिएको छ । नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई संशोधित सङ्ख्याअनुसार आवेदन दिन आग्रह गरेको छ । थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।