ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहकाबीच स्वागत गरेका छन् । उक्त कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ । उनले नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायहरूमा सेवा दिएकी छन् । पूर्व सचिवका रूपमा उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । शैक्षिक रूपमा उनी त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक हुन् । साथै, उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एण्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन्प्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी छन् । हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको कार्यकारी सदस्य तथा प्रोफेसनल होल्डिङको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन् । उनको नियुक्तिसँगै बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व र दिगो विकासका लक्ष्यहरूलाई अझ सुदृढ र प्रभावकारी रूपमा अगाडि बढाउन मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
सरकारले इन्जिनियर मुकेश गौतमलाई सेवाबाट हटाउँदै
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागका इन्जिनियर मुकेश गौतममाथि कडा प्रशासनिक कारबाही अघि बढाइने भएको छ । विभागको नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूहका राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियर गौतम बिना स्वीकृत ९० दिनभन्दा बढी समयदेखि बिदा बसेको र कार्यालयमा अनुपस्थित रहेका छन् । वैदेशिक अध्ययन पूरा गरेपछि ३० दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था उल्लंघन गर्दै उनी लामो समयदेखि सम्पर्कविहीन जस्तै रहेको उल्लेख गर्दै निजामती सेवा ऐन, २०४९ बमोजिम स्पष्टिकरण माग गरेको हो । अध्ययन बिदा समाप्त भएपछि अनिवार्य सेवा अवधि पूरा नगरेको तथा स्वीकृत बिदा नलिई अनुपस्थित रहेको गम्भीर विषय उठाइएको छ । मन्त्रालयले किन सेवाबाट हटाउनु नपर्ने भन्ने प्रश्नसमेत गर्दै ३० दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ। तोकिएको समयभित्र स्पष्टिकरण नआए वा असन्तोषजनक भएमा निजामती सेवा ऐन अनुसार बर्खास्ती लगायत कडा कानूनी कारबाही अघि बढाइने जनाएको छ ।
सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशकुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी चार वर्षका लागि सीईओकाे पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव पुस्कर जिसीले जानकारी दिएका छन् । केसीले जेठ ११ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।