लालीगुराँस सहकारीको जग्गा ५१ लाखमा बिक्रीमा, प्रतिआना ४ लाख रुपैयाँ

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको जग्गा लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ ।

समितिले संस्थाको नाममा दर्ता रहेको ललितपुरको साबिक झरुवारासी-५ख स्थित कित्ता नम्बर ३९९ को १४ आना ३ पैसा क्षेत्रफलको जग्गा बिक्रीमा राखेको हो । 

उक्त जग्गाको प्रति आना न्यूनतम् मूल्य ४ लाख रुपैयाँ तोकिएको छ भने कुल न्यूनतम् मूल्य ५१ लाख रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

समितिका अनुसार सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि सहकारी ऐन, २०७४ अनुसार संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनको जिम्मेवारी समितिले लिएको थियो ।

संस्थाका ऋणी सदस्य, सञ्चालक तथा अन्य दायित्व भएका पक्षलाई साँवा, ब्याज, हर्जाना र जरिवाना बुझाउन पटक-पटक सूचना जारी गरिए पनि दायित्व फरफारक नगरेपछि सम्पत्ति लिलाम प्रक्रिया अघि बढाइएको हो समितिले जनाएको छ । 

Share News