नेपालमा म्याक्सस ई- टेरोन ९ ईभी पिकअप सार्वजनिक, सुरुवाती मूल्य ८८ लाख

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालयन मोटर्सले चिनियाँ अटोमोबाइल जायन्ट एसएआईसीको प्रिमियम ब्रान्ड म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ई-टेरोन ९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्तरूपमा उक्त गाडीको अनावरण गरेका हुन् । 

विगत एक वर्षदेखि नेपालमा म्याक्ससका प्रिमियम इलेक्ट्रिक गाडीहरू बिक्री गर्दै आएको हिमालयन मोटर्सले ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गर्दै तुलनात्मक रूपमा सुलभ मूल्यको कम्फर्ट मोडेल ल्याएको हो । 

यसअघि म्याक्ससका प्रिमियम पिकअपको मूल्य ९९ लाखदेखि १ करोड २८ लाख रुपैयाँसम्म रहेको थियो । नयाँ ई-टेरोन ९ कम्फर्टमा १०२.२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।

उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ५६० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।कम्पनीका अनुसार फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपमा अगाडि १२५ किलोवाट र रियरमा २०० किलोवाट गरी कुल ३२५ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

null

यसमा रहेको ब्याट्री प्याकलाई ११५ किलोवाटको डीसी चार्जरले ४२ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिनेछ । यसले ११५ किलोवाटसम्मका डीसी चार्जर सपोर्ट गर्छ । यो पिकअपमा एक्टेरियर र इन्टेरियरमा ‘भेहिलक टु लोड’ सुविधा उपलब्ध छ ।

म्याक्ससको ई-टेरन ९ को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८७४ एमएम छ । ३३०० एमएम लामो ह्वीलबेस रहेको पीकअपमा २५० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।

ई-टेरेन ९ पिकअपमा अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड, भेन्टिलेटेड फ्रन्ट एण्ड रियर सिट, अटोमेटिक हेडलाइट र वाइपर जस्ता क्याबिन फिचर छन् ।

ई-टेरन ९ मा सुरक्षाका लागि ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ दिइएको छ । 

null

साथै लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, अल टेरन मोड, ७ वटा एयरब्याग, अटोहोल्डजस्ता फिचर छन् । म्याक्सस ई-टेरन ९ ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ ।

नेपाली भूगोलका लागि उपयुक्त नेपालको चुनौतीपूर्ण र अफ-रोड सडकलाई ध्यानमा राखेर यो गाडी डिजाइन गरिएको छ । यसमा २५५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र ४५५ एमएमको वाटर वेडिङ (पानीमा चल्न सक्ने) क्षमता रहेको छ । 

कम्पनीले यस गाडीको सुरुवाती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ । गाडी खरिद गर्ने ग्राहकले एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर र दुई वर्षको निःशुल्क सर्भिसिङको सुविधा पाउनेछन् । 

कार्यक्रममा बोल्दै हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले भने, ‘नेपालमा ईभी भन्नाले सहरमा मात्र चलाउने गाडी भन्ने बुझिन्छ, तर म्याक्सस ई-टेरोन ९ ले त्यो धारणा बदल्नेछ । यो शक्ति, विलासिता र अफ–रोड क्षमताको सन्तुलन हो । ’

कम्पनीले निकट भविष्यमै म्याक्सस ब्रान्डका इलेक्ट्रिक माइक्रोबसहरू पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

Share News