नेको इन्सोरेन्सको एकैपटक १२ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडबाट संस्थापक सेयरधनीहरू बाहिरिने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् ।  उक्त सेयर बिक्री गर्ने इच्छा जाहेर गरेपछि सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र अर्थात् भदौ ८ गतेसम्म खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता मूल्य तोकि आवेदन दिनुपर्नेछ । निर्धारित अवधिभित्र पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

आईजीआई प्रुडेन्सियल र जनमैत्री अस्पतालबीच नगदरहित उपचार सेवा सम्झौता

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पतालबीच नगदरहित (क्यासलेस) अस्पताल उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै कम्पनीका स्वास्थ्य बीमा ग्राहकले जनमैत्री अस्पतालबाट बीमालेखको सीमाभित्र रही नगदरहित अस्पताल भर्ना (क्यासलेस हस्पिटलाइजेसन) सेवा लिन सक्ने भएका छन् । सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापछि आयोजित कार्यक्रममा आईजीआई प्रुडेन्सियलका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले जनमैत्री अस्पतालका सेवाग्राहीले कम्पनीको स्वास्थ्य बीमा खरिद गरी अस्पतालमा नगदरहित उपचार सेवा लिन सक्ने बताए । साथै अस्पताल र त्यससँग आबद्ध सेवाग्राहीले कम्पनीबाट आवश्यक विभिन्न प्रकारका बीमा सेवासमेत सहज रूपमा प्राप्त गर्न सक्ने उनले उल्लेख गरे । कार्यक्रममा जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूप श्रेष्ठले अस्पतालका सेवाग्राहीको संख्या निरन्तर बढिरहेको उल्लेख गर्दै आईजीआई प्रुडेन्सियलसँगको सहकार्यले बीमितलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि कम्पनीसँगको सहकार्यलाई थप विस्तार गर्दै जाने बताए । 

सिटिजन लाइफका ४ सञ्चालकको पदावधि थप, अध्यक्षमा पाण्डेलाई निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको पदावधि थप गरेको छ । साथै, कम्पनीले अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई अध्यक्षकै जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको छ । सञ्चालक समितिको साउन ४ गते बसेको १३२औँ बैठकले आगामी वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि हालका सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार संस्थापक समूहका सञ्चालकहरूको चारवर्षे कार्यकाल साउन ६ गते समाप्त हुने भए पनि साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकाले कम्पनीको नियमावलीको नियम २७(४) बमोजिम पदावधि निरन्तरता दिइएको हो । पदावधि थप हुने सञ्चालकमा अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सुमित कुमार अग्रवाल, मनोज कार्की र महेश स्वाँर रहेका छन् । बैठकले प्रदीपजङ्ग पाण्डेलाई अध्यक्ष पदमै निरन्तरता दिने निर्णय पनि गरेको छ । कम्पनीले थपिएको पदावधि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने जनाएको छ । साधारणसभाले सञ्चालकहरूको पदावधि सम्बन्धी निर्णयलाई अन्तिम स्वीकृति दिने कम्पनीको भनाइ छ ।