काठमाडौं । ठमेलस्थित कर्मा क्लबमा पुगेकी एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बुढानीलकण्ठ स्थायी घर भएकी १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
बलात्कार गरेको आरोपमा अछाम घर भएका १९ वर्षीय किशोर सुभम बास्कोटा (नाम परिवर्तन) लाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
कर्मा क्लबमा युवायुवतीको समूह बनाएर क्लब गएको र त्यहीँ चिनजान भएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनका अनुसार किशोरी र किशोरको त्यहीँ चिनजान भएको थियो । क्लबमा रमाइलो गरेपश्चात उनीहरू होटलमा पुगेका थिए । क्लबमा प्रवेश गर्दा वयस्क उमेरको परिचय पत्र देखाएर उनीहरू प्रवेश गरेका हुन् ।
‘उनीहरू त्यसपश्चात ठमेलकै एक होटलमा बसोबास गर्छन् । होटलमा पनि किशोरीले उमेर छलेर बसेको देखिन्छ ,’ उनले भने ।
केही समयपछि किशोरीले आफू बलात्कृत भएको उजुरी दिएपछि ती किशोर पक्राउ परेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार किशोर भने स्नातक तहमा अध्ययनरत छन् । किशोरी भने कक्षा १२ मा अध्ययनरत छिन् । उक्त घटना असार १२ गते भएको थियो ।
सोमबार युवकलाई पक्राउ गरिएको र हाल उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
१८ वर्षमुनिकालाई क्लब तथा डान्सबारमा छिर्न सरकारले बन्देज लगाएको छ ।