भदौ १८ मा पल्सर स्पोर्ट्स अवार्ड, गोल्छा ग्रुप लगातार १९औँ पटक मुख्य प्रायोजक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८३ आगामी भदौ १८ गते आयोजना गर्ने भएको छ । अवार्ड समारोह नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभिलियन’मा हुने मञ्चले बुधबार जनाएको छ ।

यस वर्षको अवार्डका लागि मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुप रहने भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक यस अवार्डसँग जोडिएको हो ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा खेलकुदसँग सम्बन्धित व्यक्तित्वलाई प्रोत्साहन गर्न निरन्तर सहकार्य गर्दै आएको बताए । मञ्चसँगको सहकार्यले अवार्डलाई अझ प्रभावकारी र प्रतिष्ठित बनाउने विश्वास उनले व्यक्त गरे ।

मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिनेछ । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति तथा विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

गत वर्ष पुरुषतर्फ क्रिकेटर दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटर पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षका उत्कृष्ट घोषित भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । 

Share News