राजस्व र रोजगारी वृद्धि गर्न अटोमोबाइल क्षेत्र सुधार आवश्यक : नाडा
काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधार आवश्यक रहेको औंल्याएको छ । नाडाको प्रतिनिधिमण्डलले राजस्व सचिव भूपाल बराल सँग भेट गरी अटोमोबाइल क्षेत्रका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरेको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले हाल शिथिल अवस्थामा रहेको अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन केही नीति तथा नियम संशोधन आवश्यक रहेको धारणा राखेको जनाएको छ । यस्ता सुधारबाट सरकारको राजस्व संकलन तथा रोजगारी सिर्जनामा समेत वृद्धि हुने विश्वास नाडाले व्यक्त गरेको छ । भेटका क्रममा राजस्व सचिव बरालले नाडाबाट प्राप्त सुझावहरू कार्यान्वयनयोग्य रहेको उल्लेख गर्दै उठाइएका विषयमा मन्त्रालय जानकार रहेको बताए । छलफलमा अटोमोबाइल उद्योग विस्तारका लागि कम्पोनेन्ट उद्योग स्थापना आवश्यक रहेको तथा त्यस्ता उद्योगलाई सरकारले प्रोत्साहन दिनुपर्ने माग राखिएको थियो । आवश्यक कच्चा पदार्थ आयातमा सहुलियत व्यवस्था गर्न सके रोजगारी वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने नाडाको भनाइ छ । नाडाले नेपालमै उत्पादन भइरहेका अटोमोबाइल सामग्रीको गुणस्तर परीक्षण गर्ने संयन्त्र अभावका कारण व्यवसायीहरूले समस्या भोगिरहेको समेत औंल्याएको छ । त्यस्तै, सवारी साधन खरिदसँग सम्बन्धित ऋण–मूल्य अनुपात (Loan to Value Ratio) पुनरावलोकन गर्नुपर्ने माग पनि राखिएको छ । यस्तो व्यवस्था सहज भए सवारी साधन बिक्री बढ्ने र त्यसबाट सरकारको राजस्वसमेत बढ्ने नाडाको तर्क छ । छलफलमा अटोमोबाइल क्षेत्रलाई अझै विलासिताको वस्तुका रूपमा वर्गीकरण गरिनु उपयुक्त नभएको भन्दै नीतिगत पुनर्विचार आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । साथै सीमावर्ती क्षेत्रमा चोरी पैठारी नियन्त्रण र कर संरचनामा समयानुकूल समायोजन गर्नुपर्ने विषय पनि उठाइएको थियो ।
पुरानो गाडी एक्सचेन्ज गर्नुहोस्, टाटा नयाँ गाडी र आइपीएल यात्रा जित्नुहोस्
काठमाडौं । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना सार्वजनिक गरेको छ । चैत्र २७ देखि चैत्र ३० सम्म सञ्चालन हुने यस क्याम्प अन्तर्गत, ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटा कार खरिद गर्न सक्नेछन् । यससँगै लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि प्रदान गरिनेछ । कम्पनीका अनुसार ग्राहकहरूलाई आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ र होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधा पनि दिइनेछ । टाटा मोटर्सले नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारीसाधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य राखेको छ । इच्छुक ग्राहकहरूले योजना सम्बन्धी विस्तृत जानकारी नेपालभर रहेका टाटा सोरुमहरूमा गएर प्राप्त गर्न सक्नेछन् ।
इनड्राइभले चालकहरूका लागि २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने
काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्दै उनीहरूको आम्दानीलाई स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ । नेपालमा राइड–हेलिङ सेवाको विस्तारसँगै हजारौं चालकहरूका लागि यो महत्वपूर्ण रोजगारीको स्रोत बनेको छ । साथै, यात्रुहरूले पनि सहज र किफायती यातायात सेवा उपभोग गर्दै आएका छन् । तर पछिल्लो समय इन्धन मूल्यमा भएको निरन्तर वृद्धिले चालकहरूको सञ्चालन खर्च बढाएको छ, जसले उनीहरूको दैनिक आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ । अर्कोतर्फ, यात्रुहरू पनि भाडा वृद्धि प्रति संवेदनशील रहेको अवस्थामा बजारमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ । यही दोहोरो चुनौतीलाई सम्बोधन गर्न इनड्राइभले चालकहरूको दिगोपन र यात्रुहरूको किफायती सेवाबीच सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले चालक समुदायबाट उठिरहेका चासो र गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै, यातायात क्षेत्रका संरचनात्मक समस्याहरू समाधान गर्न भइरहेको पहलहरूलाई पनि समर्थन गरेको जनाएको छ । चालकहरूका लागि इन्धन सहयोग पहल बढ्दो सञ्चालन लागतलाई ध्यानमा राख्दै इनड्राइभले २०२६ अप्रिल १५ (वैशाख २, २०८३) देखि लागू हुने गरी रु २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । यो कार्यक्रममार्फत इन्धन मूल्य वृद्धिबाट प्रभावित चालकहरूको आर्थिक भार कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यस पहलले चालकहरूको आम्दानीमा आएको दबाबलाई न्यूनीकरण गर्नुका साथै यात्रुहरूमा थप आर्थिक भार नपार्दै सेवा निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ । यसले बजारअनुकूल र व्यवहारिक समाधानमार्फत चालकहरूको दिगोपन सुदृढ गर्ने तथा किफायती यातायात सेवा निरन्तर उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । चालक आम्दानी र लचिलोपन सुदृढ गर्ने प्रयास इन्धन सहयोग पहलसँगै इनड्राइभले चालकहरूको आम्दानी वृद्धि र कार्यगत लचिलोपनलाई थप मजबुत बनाउन विभिन्न उपायहरू कार्यान्वयन गर्दै आएको छ । तीमध्ये प्रमुख पहलहरू यसप्रकार छन् : केही चयन गरिएका राइडहरूमा कम सेवा शुल्क लागू गरिएको । प्लेटफर्ममा सक्रिय सहभागिता बढाउन कार्यसम्पादनमा आधारित प्रोत्साहन तथा पुरस्कार व्यवस्था र चालकहरूको कमाइ क्षमता बढाउने विभिन्न अभियान र इन्सेन्टिभ कार्यक्रमहरू । विश्वव्यापी रूपमा इनड्राइभले राइड–हेलिङ उद्योगमै सबैभन्दा न्यून सेवा शुल्क संरचना मध्ये एक कायम राख्दै आएको छ, जसले यसको 'ड्राइभर फस्र्ट' दृष्टिकोणलाई झल्काउँछ । साथै, इनड्राइभको पियर–टु–पियर मोडेलले यात्रु र चालकलाई भाडा प्रत्यक्ष रूपमा तय गर्न सक्ने सुविधा प्रदान गर्दछ । यसले वास्तविक समयको बजार अवस्था र सञ्चालन खर्चलाई ध्यानमा राख्दै न्यायोचित भाडा निर्धारण गर्न सहयोग र्पुयाउँछ । सन्तुलित र दिगो मोबिलिटी प्रणालीप्रति प्रतिबद्धता इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, 'बढ्दो इन्धन लागतले हाम्रा ड्राइभर पार्टनरहरूको दैनिक आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ । यस्तो अवस्थामा प्लेटफर्महरूको जिम्मेवारी भनेको तत्काल राहत दिने मात्र होइन, दीर्घकालीन रूपमा चालक र यात्रु दुवैका लागि न्यायोचित र सन्तुलित प्रणाली निर्माण गर्नु हो ।' 'हाम्रो प्लेटफर्मको मूल आधार नै न्याय हो । चालकलाई सशक्त बनाउँदै सेवा सबैका लागि पहुँचयोग्य राख्नु हाम्रो प्राथमिकता हो, जसले दिगो र सन्तुलित मोबिलिटी इकोसिस्टम निर्माणमा योगदान पुर्याउँछ ।' नेपालको मोबिलिटी क्षेत्र तीव्र रूपमा विकास भइरहेको सन्दर्भमा इनड्राइभले चालक समुदाय, साझेदारहरू तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दै चुनौतीहरूको समाधान खोज्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । कम्पनीले बजार अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यकता अनुसार आफ्ना कार्यक्रमहरूलाई थप परिमार्जन गर्दै लैजाने जनाएको छ ।