हिमालबाट नयाँ गाडीको ताँती
काठमाडौं । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि हिमाली जिल्ला मुस्ताङबाट चिनिया गाडीहरू धमाधम भित्रिरहेका छन् । मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) सञ्चालनमा आएपछि ५ दिनमा ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । भन्सार विभागको तथ्याङ्क अनुसार कोरला नाका सञ्चालनमा आएदेखि २०९ वटा विद्युतीय सवारी साधन (ईभी)सहित ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । गत असार २४ गते रसुवास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध छ । तर, चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) गत भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । पूर्णरुपमा संचालन आएदेखि असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा माल बाहक ढुवानी साधनमा रहेका माल वस्तु जाँच पास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक किशोर बर्ताैलाले बताए । उनका अनुसार हाल कोरला नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकेको छ । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोरला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौंमा चिनियाँ सामग्री आयात तथा निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो । भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ बताउँछन् । ‘कोरला नाका सञ्चालनपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ । गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरला नाकाबाट सामान ल्याउँदा सस्तो पर्छ,’ उनले भने । समुद्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा प्रदेश सरकारले गत वर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले बताए ।
भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक
काठमाडौं । यामाहा नेपालले देशभरका ग्राहकलाई लक्षित गरी ल्याएको दशैं–तिहार विशेष अफर 'राइड द ब्लू विद रोडिज' अन्तर्गत पहिलो विकली लक्की ड्र सम्पन्न भएको छ । ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो । सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए । २८ वर्षीय श्रीहरि पौडेल ‘रकेट’ उपनामले परिचित व्यावसायिक मोटरसाइकल रेसर हुन् । उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका पाँच पटकका लगातार विजेता र सन् २०२४ का नेशनल च्याम्पियन समेत हुन् । उनी यामाहा नेपालका आधिकारिक रेसर पनि हुन् । यसपटकको ग्राण्ड उपहारका विजेता भैरहवाका बिनोद यादव बनेका छन् । यादवले नयाँ यामाहा बाइक जितेका छन्। दशैं अभियानमार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको यामाहाका लागि यो अर्को महत्वपूर्ण क्षण भएको कम्पनीले जनाएको छ। एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले विजेतालाई बधाई दिंदै भने, 'यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिँदै आएको छ । ‘राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझ धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।' 'यामाहा राइड द ब्लू विद रोडिज' अभियानमा विभिन्न अफरहरू समावेश छन् । यस अन्तर्गत बाइक खरिदअघि अधिकतम १ लाख रुपैयाँसम्म नगद उपहार, खरिदपछि अधिकतम १० लाख रुपैयाँसम्म नगद उपहार, हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक जित्ने अवसर, फ्री हेलमेट, चार वटा निःशुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५ प्रतिशत छुट लगायतका सुविधा रहेका छन् । साथै, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ० प्रतिशत ब्याजसहितको ईएमआई सुविधा पनि उपलब्ध छ ।
डोंगफेंग मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन घोषणा, प्रिमियम ईभी ब्रान्ड ‘भोया’ अलग लिस्टिंगमा
काठमाडौं । डोंगफेंग मोटर ग्रुपलाई प्राइभेटाइज गर्ने योजना सार्वजनिक भएलगत्तै कम्पनीका सेयर मूल्य शुक्रबार हङकङ बजारमा तीव्रगतिमा बढ्दै करिब आठ वर्षयताको उच्च विन्दुमा पुगेका छन् । रिपोर्ट अनुसार, प्रस्तावित प्राइभेटाइजेसन सम्झौता करिब ७ अर्ब अमेरिकी डलरबराबर हुनेछ । यसलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटो उद्योगमा यसको प्रभावकारी भूमिकाको संकेतका रूपमा लिएका छन् । बजारमा घोषणापछि डोंगफेंगका सेयरहरू झण्डै ६९५ अंकले बढेर ५७५ अंकभन्दा माथि बन्द भएका छन् । चीनको अग्रणी अटो कम्पनीका रूपमा सस्तो, भरपर्दो र 'भ्याल्यु फर मनी' गाडीका लागि चिनिने डोंगफेंगले प्राइभेटाइजेसनमार्फत दीर्घकालीन रणनीति लचिलो बनाउन, छिटो निर्णय लिन र सञ्चालन क्षमतामा मजबुती ल्याउने तयारी गरेको जनाएको छ । यसैबीच, कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड ‘भोया’लाई हङकङ स्टक एक्सचेन्जमा अलग लिस्टिंग गर्ने तयारीसमेत गरिरहेको छ । इलेक्ट्रिक गाडी बजारमा तीव्रगतिमा बढ्दो प्रतिस्पर्धाबीच भोया कम्पनीको प्रविधि, डिजाइन र दिगोपनको प्रतिनिधि ब्रान्डका रूपमा अघि सारिएको छ । लिस्टिङपछि उत्पादन दायरा विस्तार र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिइएको छ । डोंगफेंग मोटर ग्रुपले आगामी दिनमा पनि किफायतीपन, नयाँपन र प्रविधिमैत्री समाधानमार्फत ग्राहकलाई भरपर्दो सवारीसाधन उपलब्ध गराइरहने प्रतिबद्धता जनाएको छ ।