दिनमै हजार बढीले बुझाउँछन् सम्पत्ति विवरण, न्यायाधीशले पनि बुझाउन थाले

काठमाडौं । सम्पत्ति छानबिन आयोगमा दैनिक एक हजार बढीले सम्पत्ति विवरण बुझाउने गरेको पाइएको छ । हुलाक, अनलाइन र भौतिक रूपमा उपस्थिति भएर सम्पत्तिको विवरण बुझाउने गरेका छन् ।  आयोगले विभिन्न समयमा सरकारी ओहदामा रहेका पूर्वपदाधिकारी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सचिव, उपसचिव, स्थानीय तहका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नेछ ।  दैनिक एक हजार बढीले सम्पत्ति विवरण बुझाउने गरेको सम्पत्ति छानबिन सम्पत्ति छानबिन आयोगका प्रवक्ता समेत रहेका नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक गणेश केसीले विकासन्युजलाई बताए । अनलाइन र भौतिक रूपमै उपस्थित भएर सम्पत्ति विवरण बुझाउने गरेको उनको भनाइ छ ।  वैध/अवैध सम्पत्तिको छानबिन हुने केसीले जानकारी दिए । सम्पत्तिको स्रोत के हो त्यसको पूर्ण विवरण खोजी गरिने उनले उल्लेख गरे । हालसम्म ३५ सयले सम्पत्ति विवरण बुझाइसकेको उनले जानकारी दिए । ‘पहिलो चरणमा २० हजार बढीले सम्पत्ति विवरण बुझाउने आँकलन गरिएको छ,’ उनले भने । त्यसैगरी, अदालतका बहालवाला न्यायाधीशले सम्पत्ति विवरण बुझाउन नपर्ने उनले बताए । अहिले आयोगमा पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशले सम्पत्ति विवरण बुझाइरहेको प्रवक्ता केसीले जानकारी दिए । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण नबुझाउने भएका बताएका थिए । आयोगले सम्पत्ति विवरण मागेपछि एकीकृत धारणा बनाएर निष्कर्षमा पुग्ने भन्दै गत जेठ १७ गते र त्यसपछि पनि पूर्वन्यायाधीशबीच विभिन्न चरणमा छलफल गरेका थिए ।  पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, रामकुमार प्रसाद शाह, गोपाल पराजुली, सर्वोच्चका पूर्वन्यायाधीशहरू टोपबहादुर सिंह, कृष्णजङ रायमाझी, वैद्यनाथ उपाध्याय, प्राध्यापक पवन ओझा, उच्च अदालतका पूर्वन्यायाधीश र जिल्ला न्यायाधीशलगायत छलफलमा सहभागी भएका थिए । पूर्वप्रधानन्यायाधीश र न्यायाधीश गरी ७० भन्दा बढी सहभागी थिए । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशसँग सम्पत्ति विवरण भराउने र जाँचबुझ गर्ने कार्य मौजुदा संविधान र कानुन प्रतिकूल देखिएको निष्कर्षसहित उनीहरूले नबुझाउने निर्णय गरेका थिए । सम्पत्ति विवरणको जानकारी अन्तिम समयमा थाहा पाइने 'क-कसले सम्पत्ति विवरण बुझाए भनेर अन्तिम समयमा थाहा पाइनेछ,' केसीले अगाडि थपे,' आजै मात्र सम्पत्ति विवरण बुझाउने असार मसान्तसम्म म्याद थप गरिएको छ ।' आयोगले विभिन्न निकायहरूसँग नामावली र सङ्ख्या माग गरिरहेको जानकारी दिँदै केसीले सङ्घीय व्यवस्थापिकालाई पनि संसदहरूको नामावली माग गर्दै पत्राचार गरिसकेको जनाए । त्यसबाहेक अन्य निकाय र प्रदेशमा समेत पत्राचार गरिएको छ ।  आयोगलाई राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह वा सोभन्दा माथिका निजामती कर्मचारी साथै कार्यालय प्रमुख पदमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरहका कर्मचारीको सम्पत्ति छानबिनको अधिकार दिइएको छ। त्यसैगरी, आयोगले सम्पत्ति विवरण बुझाउने समयावधि असार मसान्तसम्म थप गरिसकेको छ । सम्पत्तिको विवरण बुझाउनुपर्नेहरु विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको हो । 'समय थप्न माग गरेकाले समय थपिएको हो,' उनले विकासन्युजसँग भने । आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको सूचनाअनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो । तर, सो म्याद सकिन तीन दिन बाँकी छँदा करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ । केसीका अनुसार आजै सम्पत्ति विवरण बुझाउनेहरूको चाप र सहजतालाई मध्यनजर गरी अन्तिम पटकलाई म्याद थप गरी मौका दिइएको हो ।  सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझरछानबिन आयोग गठन गरेको हो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुँदामा  यसबारे उल्लेख गरिएको छ । उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ । छानबिन प्रक्रियालाई कानुनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

आन्दोलनमा जलेका गाडीको चेसिस नम्बर चोरीका गाडीमा राखेर बिक्री

काठमाडौं । तपाईंले काठमाडौंका सडकमा गुडेका कारहरू देख्नु भएकै होला । नयाँ ब्लुबुकसहितका लोभलाग्दो कारहरू गुडिरहेका हुन्छन् ।  नयाँ गाडी देखेर तपाईं खरिद गर्न लालायित हुनु त भएको छैन ? यदि त्यसो हो भने होसियार हुनु पर्ने बेला भएको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न सहरमा भन्सार छलीका गाडीहरू पाउन थालेका छन् । केही समयदेखि काठमाडौं उपत्यकामा भन्सारमा छलेर कारहरू भित्र्याउने पेशेवर समूहका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ६९ वर्षीय विश्वचन्द्र वादे श्रेष्ठ र ५३ वर्षीय नविन जिसी गत शुक्रबार ललितपुरबाट पक्राउ परे । भारतबाट भन्सार छलेर ल्याएका सवारी साधनसहित उनीहरू पक्राउ परेका हुन् ।  उनीहरूको साथबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निशान कम्पनीको एक्स ट्रायल, सेफिरो गाडी १ र हुन्डाइको १ थान कारसहित नियन्त्रणमा लिएको हो ।  चार पाँग्रे सवारी साधन बिक्री वितरण गर्न राखिएको भन्ने विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले भारतबाट चोरी भएका गाडी ल्याएर काठमाडौं लगायतका विभिन्न स्थानमा बिक्री गर्ने गरेका थिए । जसका नाइके वा प्रमुख विश्वचन्द्र वादे श्रेष्ठ थिए । श्रेष्ठले भारतबाट भारतीय प्लेटसहितको कार नेपाल भित्र्याउने गर्थे । उनी आफ भारतीय गाडी चलाएर भन्सारबाट नेपाल आउने गरेका थिए । भारतका विभिन्न व्यक्तिसँग तथा गिरोहसँग सम्पर्क गरी चोरी भएका सवारीसाधन नेपालका विभिन्न नाका प्रयोग गर्ने गरेका थिए । उनले नेपालका भन्सार नाकामा यात्रा गर्न अनुमतिको राजश्व तिरेर भारतीय प्लेटका गाडी भित्र्याउँथे । वैधानिक बाटो खोज्ने गरेका थिए । जसमा श्रेष्ठले यात्रा अनुमतिको राजस्वको सहारा लिने गरेका थिए । उनले नाकासम्म भारतीय चालकलाई प्रयोग गर्ने गरेका थिए । भन्सार नाकामा यात्रा अनुमति राजस्व तिरेर उनीहरूले कार भित्र्याउने गरेका थिए ।  केही समयसम्म उनीहरूले काठमाडौं, ललितपुर, चितवन र हेटौंडा जस्ता ठाउँमा कुँदाउँथे । किनभने उनीहरूको साथमा राजस्व तिरेको पत्र साथमा थियो । कुदाइ रहुन्जेल काठमाडौं लगायत विभिन्न स्थानमा ग्राहकको खोजी गर्ने गर्थे । गाडी किन्ने ग्राहक भेटेपछि उनीहरूले बिक्रीका लागि राख्ने गरेका थिए । चितवन, हेटौंडा, नेपालगञ्ज, बुटवल र वीरगञ्जका ग्राहकलाई गाडी बिक्री गर्ने गरेका थिए । हेटौंडाबाट भने फेक नम्बर हालेर मोटरसाइकल मात्र काठमाडौं भित्र्याउने गरेका थिए । विश्वचन्द्रले राजश्व तिरेको निश्चित समयसम्म भारतीय प्लेटमा निर्वाध रुपमा गाडी कुदाउने गरेका थिए । यातायात कार्यालयमा पुगेर दुर्घटना र जेनजी आन्दोलनमा जलेका गाडीका चेसीस नम्बर लिने गरेका कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । उनका अनुसार यातायात कार्यालयमा बिचौलिया प्रयोग गरेर सडकमा नकुदेका गाडी खोजी गर्ने गर्थे । भन्सार छली ल्याएका कम्पनीका गाडी भेटेमा चेसीस नम्बर र नम्बर प्लेट हाल्ने गर्थे । विश्वचन्द्रले भारतबाट चोरी भएका गाडी नेपाल ल्याउने पेशा नै बनाएका थिए । मुलुकका विभिन्न ठाउँमा पुगेर मोडिफाई गर्ने भनेर १० देखि २० लाखसम्ममा गाडी बिक्री गर्ने गर्थे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले यातायात कार्यालयमा जाने पुराना तथा दुर्घटना वा जलेका गाडी नम्बर पत्ता लगाउने गरेका थिए । जलेका गाडी र दुर्घटना भएका गाडीको चेसीस नम्बर कपी र नम्बर प्लेट हाल्ने गरेका थिए । उनका अनुसार विश्वचन्द्रको मोबाइलमा ह्वाटसएपमा कारको मात्र फोटो रहेको थियो । उनले भारतबाट कार बिक्री गर्नका लागि ल्याउने गरेको देखिने ती प्रहरी अधिकृतले बताए । अहिलेसम्मको अनुसन्धानबाट उनले कार बिक्री गर्ने गरेको उनले बताए । गाडी मात्र नक्कली नभई ब्लुबुकसमेत फेक बनाउने गरेको खुलेको उनले जानकारी दिए । गाडकी मोडल अनुसार चेसिस खोजी गर्ने गरेको उनको भनाइ छ । उनीहरूले धेरै ग्राहकलाई पुरानो गाडीमा नयाँ सामान हाल्दिने भनेर सम्पर्क गर्ने गर्थे । पुराना गाडीमा भारतबाट ल्याएका गाडीबाट इन्जिन झिकेर पुराना गाडीलाई नयाँ जस्तै बनाइदिने गरेको ती प्रहरी अधिकृतले जानकारी दिए। उनीहरूले बिक्रीका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका थिए । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा गाडीको विज्ञापन गर्ने गरेका थिए । उनीहरूले फेसबुकको मार्केट प्लेसमा चोरी र भन्सार छलेका गाडीहरू बिक्रीमा राख्थे । गाडी देखाएर एडभान्स रकम सुरुमा लिने गर्थे र पैसा लिएपछि ग्राहकसँग सम्पर्कविहीन हुने गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा  भन्सार छली गरेका सात वटा सवारीसाधन नियन्त्रणमा परेका थिए । मोटरसाइकल २ वटा र विभिन्न कम्पनीका पाँचवटा कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका कार तथा मोटरसाइकलहरू अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय गौचरण पठाउने गरेको कार्यालयले जनाएको छ ।

प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध

काठमाडौं । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो  अवरुद्ध गरेको जनाइएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाको सह–आयोजनामा हुन लागेको उद्घाटन खेल प्रतियोगितामा फुटबल प्रेमीहरुको आवागमन बढ्दा मेक्सिको राजधानीमा  विरोध भई रहेको  जनाइएको छ । मङ्गलबारको विरोध प्रदर्शनमा हजारौंले भाग लिएका थिए, एक हप्ताको प्रदर्शन पछि सिएनटिइ शिक्षक सङ्घबाट अलग भएको समूहले प्रदर्शनको नेतृत्व लिएको जनाइएको छ ।   प्रदर्शनकारीहरूलाई बिहीबार विश्वकपको उद्घाटन खेल आयोजना गरिएको एजटेका स्टेडियममा पुग्नबाट प्रहरीले रोकेको जनाइएको  छ । हजारौँ प्रहरी अधिकारीहरू तैनाथ गरी स्टेडियम वरवरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पछि तीन घण्टाको सडक प्रदर्शन तोडी प्रदर्शनकारीहरू तितर बितर भएको जनाइएको छ ।   मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण भएको बताउनुभएको छ । आन्दोलनरथ सिएनटिई शिक्षक युनियनले तलब वृद्धि र पेन्सन कानुन फिर्ता लिन माग गर्दै गत हप्ता देखि प्रदर्शन गरिरहेको जनाइएको छ । आन्दोलनरथ शिक्षकहरूले मेक्सिको सिटीको जोकालो स्क्वायरमा विश्वकप फ्यान जोन नजिकै शिविर पनि स्थापना गरेका छन् । शिक्षकहरूले बिहीबार पनि प्रदर्शनको आह्वान गरेका छन् जसमा  बेपत्ता व्यक्तिहरूका परिवारहरू पनि समावेश हुने जनाइएको छ ।  मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने खेल र उद्घाटन समारोहका लागि विश्वव्यापी तयारी पुरा भएको जनाइएको छ ।