डोङफेङले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो डाइ–कास्टिङ कम्पोनेन्ट प्लान्ट
काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले विश्वको सबैभन्दा ठूलो डाइ–कास्टिङ मेसिन जडित अटोमोटिभ कम्पोनेन्ट प्लान्ट सञ्चालनमा ल्याएको छ । १६ हजार टन क्षमताको डाइ–कास्टिङ मेसिन जडित उक्त कारखानाले पहिलो उत्पादनका रूपमा ब्याट्री केसिङ उत्पादन गरेको हो । कम्पनीका अनुसार यस अत्याधुनिक मेसिनको सहायताले केवल दुई मिनेटमै गाडीका ब्याट्री ट्रे तथा ब्याट्री केसिङलाई आवश्यकताअनुसारको आकारमा डाइ–कास्ट गर्न सकिन्छ । कारखानामा विश्वकै सबैभन्दा ठूलो १६ हजार टन र १० हजार टन क्षमताका डाइ–कास्टिङ डुअल उत्पादन लाइन सञ्चालनमा रहेका छन् । चीनमै डिजाइन तथा निर्माण गरिएको उक्त डाइ–कास्टिङ मेसिनसहित डोङफेङले सञ्चालनमा ल्याएको यो प्लान्ट विश्वमै हालसम्मकै सबैभन्दा ठूलो एकीकृत डाइ–कास्टिङ कारखानाको रूपमा स्थापित भएको छ । आगामी अप्रिलदेखि ठूलो मात्रामा उत्पादन सुरु हुने अपेक्षा गरिएको यस प्लान्टबाट उत्पादित कम्पोनेन्टहरू डोङफेङ ००७, ००८ तथा भोयाह ड्रीमरजस्ता मोडेलहरूमा पहिलोपटक प्रयोग गरिने कम्पनीको अनुमान छ । कारखानाले मुख्यतया ब्याट्री केसिङसहित न्यू–इनर्जी भेइकलका लागि अल्ट्रा–लार्ज इन्टिग्रेटेड डाइ–कास्ट स्ट्रक्चरल कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन तथा बिक्रीमा ध्यान केन्द्रित गर्ने जनाएको छ । परम्परागत उत्पादन विधिको तुलनामा डाइ–कास्ट ब्याट्री केसिङले ब्याट्री प्रणालीको सुरक्षा सुधार गर्नुका साथै गाडीको तौल र ऊर्जा खपत घटाउन तथा न्यू–इनर्जी भेइकलको ड्राइभिङ रेन्ज विस्तार गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ । ४७ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको यो कारखानाको निर्माण डोङफेङले नोभेम्बर २०२४ मा सुरु गरेको थियो । यसको मुख्य कारखाना भवन अगस्ट २०२५ मा १ अर्ब युआन (१४३.६ मिलियन अमेरिकी डलर) को कुल लगानीमा सम्पन्न भएको हो । हाल यो प्लान्टले वार्षिक दुई लाख अटोमोटिभ कम्पोनेन्ट उत्पादन गर्ने क्षमता राखेको छ । दोस्रो चरणमा विस्तार गरी थप चार उत्पादन लाइन निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । विस्तारपछि वार्षिक छ लाख कम्पोनेन्ट उत्पादन गर्न सकिनेछ ।
६ महिनामा ८ हजार बढी कार भित्रिए, सरकारी ढुकुटीमा १४ अर्ब राजस्व
काठमाडौं । नेपाली सडकमा नयाँ गाडीहरूको उपस्थिति थप बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्ममा नेपालमा ८ हजारभन्दा बढी कार, जीप र भ्यान आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म कुल ८ हजार २७२ युनिट चारपाङ्ग्रे सवारीसाधन (विद्युतीय र इन्धन दुवै) नेपाल भित्रिएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले बढी हो । गत वर्ष पुससम्म ७ हजार ५३२ युनिट कार आयात भएको थियो । तथ्यांकअनुसार ६ महिनाको अवधिमा कुल १५ अर्ब २ करोड रुपैयाँ बराबरका कार आयात भएका छन् । सवारीसाधन आयातबाट सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ । यस अवधिमा कार आयातबाट मात्रै राज्यले १४ अर्ब ७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको विभागले जनाएको छ । समग्र कार आयात बढे पनि ईभीको आयातमा भने केही सुस्तता देखिएको छ । गत वर्षको पहिलो ६ महिनामा ५ हजार ४ सय ८० युनिट ईभी आयात भएकोमा यसवर्ष घटेर ५ हजार ७३ युनिटमा सीमित भएको छ । जसमा सो संख्या करिब साढे ७ प्रतिशतले कम हो । गत वर्षको तुलनामा यो वर्ष नेपाली अटो बजारमा उल्लेख्य सुस्तता देखिएको छ । गाडी खरिदबिक्रीको दर घट्नुमा व्यवसायी र उपभोक्ताहरूले विभिन्न अड्कलबाजी गरिरहेका बेला अटो व्यवसायीहरू भने यसका दुई मुख्य कारणहरू रहेको बताउँछन् । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीका महाप्रबन्धक शवन्तजंग सिजापतिले सरकारले लागू गरेको कर्जा नीतिमा कडाइ र जेजनी आन्दोलन नै बजार सुस्ताउनुको प्रमुख कारक रहेको बताए । उनका अनुसार बजारमा सबैभन्दा ठूलो असर सरकारले परिवर्तन गरेको ’लोन टु भ्यालु रेसियो’ ले पारेको हो । पहिले ग्राहकले गाडीको कुल मूल्यको २० प्रतिशत रकम (डाउन पेमेन्ट) बुझाएर ८० प्रतिशतसम्म बैंकबाट ऋण लिन सक्थे । तर, नयाँ नीतिअनुसार अब ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट अनिवार्य रूपमा बुझाउनुपर्छ भने बैंकले ६० प्रतिशत मात्र ऋण दिन पाउँछ । ‘पहिलेको ८०/२० को सट्टा अहिले ६०/४० को नीति लागू भएपछि गाडी किन्न चाहने ग्राहकलाई सुरुमै ठूलो रकम जुटाउनुपर्ने बाध्यता आइलाग्यो,’ उनले भने, ‘४० प्रतिशत डाउन पेमेन्टको व्यवस्थाले धेरै सम्भावित ग्राहकलाई पछि हटायो, जसले गर्दा समग्र बजारमा प्रत्यक्ष असर देखियो । यो नै बजार घट्नुको पहिलो र मुख्य कारण हो । ’ नेपालमा दशैं–तिहारको समय गाडी खरिदबिक्रीको लागि सबैभन्दा उत्तम मानिन्छ । तर, यस वर्षको चाडपर्वको समयमा देशमा देखिएको राजनीतिक अस्थिरता र जेनजी आन्दोलनले पनि बजारलाई नकारात्मक असर गरेको व्यवसायीहरू बताउँछन् । सिजापतिका अनुसार देशको वातावरण शान्त नहुँदा उपभोक्ताहरूले ठूलो लगानी गर्न हिचकिचाए । ‘चाडपर्वको समयमा देशमा शान्त वातावरण थिएन, ठाउँ-ठाउँमा आन्दोलन र तनावको स्थिति थियो,’ उनले थपे, ‘यस्तो अवस्थामा गाडी किन्ने योजना बनाएका मानिसहरूले पनि ‘अहिले वातावरण ठीक छैन, पछि किनौंला’ भनेर आफ्नो योजना स्थगित गरे, जसले गर्दा बजार थप सुस्तायो ।’ आर्थिक वर्ष सुरु हुनुअघि कर बढ्ने हल्लाले व्यवसायीहरूले धेरै गाडी स्टकमा राखेका कारण बजारमा असर परेको भन्ने हल्लामा कुनै सत्यता नभएको सिजापति दावी गर्छन् । ‘गाडी आयात भएपछि कुनै न कुनै समयमा बिक्री भइहाल्छ । स्टकमा धेरै गाडी हुँदा बजार घट्ने होइन, बरु प्रतिस्पर्धा बढेर ग्राहकले बढी छुट पाउन सक्छन्,’ उनले भने, ‘यो कारणले समग्र उद्योगको आकार सानो हुँदैन ।’ यद्यपि, वर्तमान अवस्थामा बजार सुस्त देखिए पनि भविष्यप्रति उनी आशावादी छन्। चुनावपछि देशमा राजनीतिक स्थिरता कायम भएमा बजारले पुनः गति लिने उनको विश्वास छ । ‘चुनाव सकिएलगत्तै बजार फेरि बढ्ने सम्भावना प्रचुर छ,’ उनले भने, ’यदि सरकारले पनि व्यवसायीमैत्री र सहज नीतिहरू ल्याइदियो भने अटोमोबाइल क्षेत्रले छिट्टै लय समात्नेछ । ’ यद्यपि ६ महिनामा भित्रिएका कुल ईभीको मूल्य १२ अर्ब ६ करोड रुपैयाँ रहेको छ, जसबाट सरकारलाई ७ अर्ब ४५ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । यस अवधिमा नेपाली बजारमा ५१ देखि १०० किलोवाट क्षमताका ईभीको वर्चस्व देखिएको छ । जसमा ५० किलोवाटसम्मका १ हजार ५८५ युनिट ५१ देखि १०० किलोवाटसम्मका ३ हजार १७ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ४६३ युनिट तथा २०१ किलोवाट माथिका ६ युनिट ईभी आयात भएका छन् ।
हुन्डाईको फ्ल्यागशिप पालिसेडलाई नर्थ अमेरिकाको सर्वश्रेष्ठ युटिलिटी भेहिकलको उपाधि
काठमाडौं । अल न्यू हुन्डाई पालिसेडले २०२६ नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर उपाधि पाएको छ। नर्थ अमेरिकन कार, युटिलिटी एन्ड ट्रक अफ द इयर (एनएसीटीओवाई) निर्णायक मण्डलले पालिसेडलाई उक्त उपाधि दिएको हो । एनएसीटीओवाई पुरस्कार अमेरिका र क्यानडाका ५० स्वतन्त्र अटोमोबाइल पत्रकारको निर्णायक मण्डलले निर्धारण गर्छ । छापा, डिजिटल, टेलिभिजन, रेडियो र सामाजिक सञ्जाल प्रतिनिधित्व गर्ने यी पत्रकारहरूले दीर्घकालीन ड्राइभिङ, तुलनात्मक परीक्षण तथा डिजाइन, प्रदर्शन, नवप्रवर्तन, सुरक्षा र मूल्यका सूक्ष्म मूल्याङ्कनसहितको प्रक्रियाबाट सवारीसाधनको समीक्षा गर्छन् । हुन्डाई मोटरको फ्ल्यागशिप एसयूभी ‘नयाँ पालिसेड’ ले धेरैको ध्यान खिचेको छ । यसमा इन्धनबाट चल्ने परम्परागत इन्जिन (आईसीई) मात्र होइन, नयाँ पुस्ताको दक्ष हाइब्रिड विकल्प पनि उपलब्ध छ । यही कारणले पालिसेडलाई शक्तिशाली, भरपर्दो र विभिन्न आवश्यकतामा प्रयोग गर्न मिल्ने एसयूभीका रूपमा मान्यता मिलेको हो । यसले विशाल र प्रिमियम इन्टेरियर, सहज प्रविधि तथा परिवारमैत्री सुरक्षा र सुविधाबाट पनि आफूलाई अलग बनाएको छ । हालै आएको नेक्स्ट जेनेरेसन हाइब्रिड भेरियन्टले ग्यालोनमा ३४ माइलको माइलेज दिन्छ । यसैगरी, ६०० माइलभन्दा बढीको ड्राइभिङ रेन्ज रहेको छ । यसमा शक्तिशाली र स्मूथ भी सिक्स इन्जिन पनि छ, जसले प्रदर्शनमा कुनै सम्झौता गर्दैन। २०२५ मा अमेरिकामा पालिसेडको रेकर्ड बिक्री भयो । रिटेल बिक्री १७ प्रतिशतले बढ्दा कुल बिक्री १३ प्रतिशतले वृद्धि भएकाे हाे । १९९४ मा स्थापना भएको एनएसीटीओवाई कुनै एकल मिडिया संस्थासँग आबद्ध नभएको सबैभन्दा दीर्घकालीन सवारी पुरस्कार कार्यक्रम हो । यसको स्वतन्त्रता, कडा मूल्याङ्कन प्रक्रिया र विविध निर्णायक मण्डलका कारण यी पुरस्कारहरू विश्वव्यापी अटोमोबाइल उद्योगका सबैभन्दा विश्वसनीय र प्रतिष्ठित सम्मानमध्ये पर्छन् ।