सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ । ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा आयोजित समारोह कम्पनीको ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल देशभरका बीमा सल्लाहकारको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसहित उच्च व्यवस्थापनको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारलाई बधाई तथा शुभकामना दिँदै कम्पनीप्रति देखाएको विश्वास र व्यवसाय वृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकार कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । कम्पनीका डेपुटी सीईओ निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमको महत्वबारे चर्चा गर्दै सहकार्य र टिमवर्कबाट सफलता हासिल गर्न सकिने बताए । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कसमस क्लब सञ्चालन गरेको छ । क्लबमा सहभागी हुन वैयक्तिक कोड तथा टिम व्यवसायमार्फत संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्ने बीमा सल्लाहकार क्लबको सदस्य बन्न योग्य हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सबै क्लब सदस्य तथा देशभरबाट वैयक्तिक कोड र टिम व्यवसायतर्फ उत्कृष्ट तीनमा पर्न सफल बीमा अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नृत्य प्रस्तुतिसमेत राखिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै आएको सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमा जोड दिँदै आएको जनाएको छ । कम्पनीले हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा दिइरहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा १७ हजारभन्दा बढी बीमा अभिकर्ता सक्रिय रहेको जनाएको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्सले २४ आना घरजग्गा किन्दै
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय तथा व्यावसायिक प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र घरजग्गा तथा जग्गा खरिद गर्न लागेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणद्वारा जारी ’बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशन, २०८२’ बमोजिम घरजग्गा खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । कम्पनीका अनुसार खरिद गरिने घरजग्गा मुख्य व्यावसायिक तथा कार्यालय क्षेत्रमा अवस्थित हुनुपर्नेछ । घरसहित वा घररहित जग्गाको क्षेत्रफल कम्तीमा २४ आना हुनुपर्ने तथा कम्तीमा २० फिट फराकिलो सडक वा पहुँच मार्गसँग जोडिएको हुनुपर्ने शर्त राखिएको छ । बिक्री प्रस्ताव पेस गर्ने व्यक्ति वा संस्थाले घरजग्गाको स्पष्ट अवस्थिति खुल्ने नक्सा, जग्गाधनी प्रमाण पुर्जा, नापनक्सा, चारकिल्ला प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, सम्पत्ति कर चुक्ता रसिदलगायतका कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । घर निर्माण भइसकेको अवस्थामा निर्माण सम्पन्न प्रमाणपत्र र निर्माणाधीन अवस्थामा स्वीकृत भवन निर्माण इजाजतपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । संस्थागत जग्गाधनीका हकमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अख्तियारनामा तथा अन्य आवश्यक कागजातसमेत पेस गर्नुपर्नेछ । कम्पनीले प्रस्तावित घरजग्गामा कुनै प्रकारको कानुनी विवाद, मुद्दा वा स्वार्थको द्वन्द्व नरहेको स्वघोषणा पनि अनिवार्य गरेको छ । इच्छुक व्यक्ति तथा संस्थाले २१ दिनभित्र शिलबन्दी प्रस्ताव कम्पनीको प्रधान कार्यालयस्थित खरिद इकाईमा पेस गर्नुपर्नेछ ।
निर्जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा गरे साढे ५ अर्ब खर्च
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीहरूको तलब तथा भत्तामा कुल ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो रकमको कर्मचारी तलबभत्तामा खर्च गरेका हुन् । अघिल्लो आव २०८१/८१ तुलनामा यो खर्च १.१९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरूले यस शीर्षकमा ५ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ खर्च गरेका थिए । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूमध्ये कर्मचारीको तलबभत्तामा सबैभन्दा बढी रकम खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । समीक्षा वर्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कर्मचारीको तलबभत्तामा ६८ करोड ६४ लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले उक्त शीर्षकमा ६३ करोड ८८ लाख रुपैयाँ खर्च गरेको थियो । दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले एक वर्षमा कर्मचारीको तलबभत्ताामा मात्रै ६२ करोड ३१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्षको तुलनामा शिखरको यस्तो खर्च १.३३ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्ष कम्पनीले कर्मचारीको तलबभतमा ६१ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो । तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी (सलिको) ले ५५ करोड ३३ लाख ३० हजार रुपैयाँ खर्च गरे पनि अघिल्लो वर्षको तुलनामा कम्पनीको खर्च १.९ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले उक्त शीर्षकमा ५६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो । त्यसैगरी, प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी खर्च बढाउनेमा ओरियन्टल इन्स्योरेन्स रहेको छ ।ओरियन्टलको कर्मचारी खर्च ७१.५८ प्रतिशतले बढेर २६ करोड ६६ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले १५ करोड ५३ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको थियो। त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आवमा कर्मचारीको तलबभत्तामा ५२ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीले सो शीर्षकमा ४३ करोड ५७ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी तलबभत्तामाम खर्च २०.८५ प्रतिशतले वृद्धि भएको छ । नेको इन्स्योरेन्सले एक वर्षमा कर्मचारीको तलबभत्तामा ४९ करोड ८० लाख रुपैयाँ, आईजिआई प्रुडेन्सियलले ४७ करोड ७९ लाख रुपैयाँ, युनाइडेट अजोड इन्स्योरेन्सले ४१ करोड ३९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ९४ लाख रुपैयाँ रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा आइजिआई र युनाइडेडको तलबभत्तामा जाने खर्च घटेको छ भने ३.३२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा आइजिआईको ५.९२ प्रतिशत र युनाइटेड अजोडको १०.६१ प्रतिशतले घटेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले भने कर्मचारी खर्चमा उल्लेखनीय कटौती गरेको छ । कम्पनीको खर्च १५.८३ प्रतिशतले घटेर २० करोड ८२ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा कम्पनीले यस शीर्षकमा २४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको थियो ।