मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कमल श्रेष्ठलाई दिएको छ । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल असार ३२ गतेबाट समाप्त भएपछि सञ्चालक समितिले श्रेष्ठलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो  । कम्पनीका अनुसार मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेकाले एकीकृत कारोबार सम्पन्न नभएसम्मका लागि श्रेष्ठलाई उक्त जिम्मेवारी तोकिएको हो । यससँगै श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारीसमेत दिइएको कम्पनीले जनाएको छ ।

स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टलाई पुनर्नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको ५७६औं बैठकले विष्टलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार विष्टको साउन ९ गतेदेखि २०८७ साउन ८ गतेसम्म लागू हुने गरी चार वर्षका लागि पुनर्नियुक्त गरिएको छ ।       

१ हजार १०० मध्ये पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।  नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल रहेका छन् ।  पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरुलाई नियुक्त गरिएको हो । बोर्ड सदस्यका लागि देशभरबाट १ हजार १०० वटा आवेदन परेको थियो ।  आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो । बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।