साढे ५ लाख युरोको फेरारी, आलोचनाबीच दुई महिनामै बिक्री लक्ष्य पूरा

काठमाडौं । इटालियन लक्जरी कार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ले सार्वजनिक भएको करिब दुई महिनामै कम्पनीले सन् २०२६ का लागि राखेको बिक्री लक्ष्य पूरा गरेको छ । फेरारीले लुचेका लागि सन् २०२६ मा ५०० भन्दा कम युनिट बिक्री गर्ने लक्ष्य राखेको थियो ।  फाइनान्सियल टाइम्सले दुई स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार मे २५ मा सार्वजनिक गरिएको लुचेले जुलाईको सुरुमै उक्त लक्ष्य पूरा गरिसकेको थियो । बजारमा आएको केही सातामै फेरारीले आफ्नो पहिलो इलेक्ट्रिक कारका लागि राखेको प्रारम्भिक बिक्री लक्ष्य भेट्टाएको हो । यद्यपि, फेरारीले बिक्री भएको युनिटको ठ्याक्कै संख्या सार्वजनिक रूपमा पुष्टि गरेको छैन । लुचेको सुरुवाती मूल्य करिब ५ लाख ५० हजार युरो अर्थात् करिब ६ लाख २६ हजार अमेरिकी डलर छ । लुचे आम विद्युतीय कारको बजारभन्दा निकै माथि सीमित र अत्यन्तै सम्पन्न ग्राहक लक्षित कार हो । डिजाइनमै ठूलो प्रश्न लुचेको बिक्रीको कथा अझ रोचक हुनुको कारण यसको डिजाइन पनि हो । फेरारीका परम्परागत कारहरू प्रायः होचा, आक्रामक र स्पोट्र्स कारको स्वरूपमा देखिन्छन् । तर लुचे भने चार ढोका र पाँच सिट भएको ठूलो ग्रान्ड टुरर शैलीको कार हो ।  यही कारण यसको डिजाइन सार्वजनिक भएपछि फेरारीका परम्परागत प्रशंसक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रियासमेत आएका थिए । तर डिजाइनमा देखिएको यो परिवर्तन संयोग भने होइन । लुचेको डिजाइनमा फेरारीसँग सहकार्य गरिरहेका चर्चित डिजाइनर जोनी आइभ र मार्क न्युसनसमेत संलग्न छन् । आइभ एप्पलको डिजाइन प्रमुखका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् । फेरारीले लुचेको डिजाइनलाई केवल आकर्षक देखाउनेभन्दा पनि उच्च प्रदर्शन र विद्युतीय प्रविधिको आवश्यकतासँग मिल्ने गरी विकास गरेको बताउँदै आएको छ । १ हजारभन्दा बढी हर्सपावर लुचे केवल देखावटी लक्जरी कार भने होइन । फेरारीका अनुसार यसमा १ हजारभन्दा बढी हर्सपावर उत्पादन गर्ने विद्युतीय पावरट्रेन प्रयोग गरिएको छ । यसको ब्याट्री क्षमता १२२ किलोवाट–घण्टा छ । कारले ३१० किलोमिटर प्रतिघण्टाभन्दा बढी उच्च गति लिन सक्ने कम्पनीको दाबी छ । त्यस्तै, ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब २.५ सेकेन्डमै हासिल गर्ने क्षमता लुचेमा छ । एकपटक पूर्ण चार्ज गर्दा ५३० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी पनि फेरारीको छ । अर्थात् फेरारीले विद्युतीय कार बनाउँदा परम्परागत रूपमा आफ्नो पहिचान बनेको ‘स्पोट्र्स कारको प्रदर्शन’लाई छोड्न खोजेको देखिँदैन । बलियो माग चीनबाट लुचेको प्रारम्भिक मागमा चीनको बजारले महत्त्वपूर्ण भूमिका खेलेको रिपोर्टहरूमा उल्लेख छ । चीन विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी बजार भएकाले फेरारीका लागि पनि त्यहाँका उच्च आय भएका ग्राहक महत्त्वपूर्ण बनेका छन् । प्रारम्भिक माग चीनबाट बलियो देखिनु फेरारीको पहिलो ईभीका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । अमेरिकालगायत अन्य बजारमा पनि उच्च आय भएका ग्राहकबाट लुचेप्रति रुचि देखिएको रिपोर्टमा उल्लेख छ । यसले फेरारीको विद्युतीय कारको ग्राहक आधार परम्परागत फेरारी खरिदकर्ताभन्दा बाहिर पनि विस्तार हुन सक्ने सम्भावना देखाएको छ । फेरारीका लागि किन महत्त्वपूर्ण छ लुचे ? फेरारीका लागि लुचे एउटा नयाँ मोडल मात्र होइन । यो कम्पनीको पूर्ण विद्युतीय युगमा प्रवेशको पहिलो ठूलो कदम हो । दशकौंदेखि पेट्रोल इन्जिनको शक्ति, आवाज र ड्राइभिङ अनुभव फेरारीको ब्रान्ड पहिचानसँग जोडिँदै आएको छ । यस्तो अवस्थामा पूर्ण विद्युतीय कार ल्याउनु कम्पनीका लागि ठूलो रणनीतिक परिवर्तन हो । तर फेरारीले ईभी बजारमा प्रवेश गर्दा ठूलो संख्यामा कार बेच्ने रणनीति लिएको छैन । कम्पनीले आफ्नो विशेष लक्जरी र सीमित उत्पादनको पहिचान कायम राख्दै विद्युतीय प्रविधिलाई प्रयोग गर्न खोजेको देखिन्छ । २०३० सम्म करिब २ हजार ५०० लुचे बेच्ने योजना फाइनान्सियल टाइम्समा उद्धृत विवरणअनुसार फेरारीले सन् २०३० सम्म करिब २ हजार ५०० वटा लुचे बिक्री गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यो हिसाबले वार्षिक औसत करिब ६०० वटा लुचे बिक्री हुने देखिन्छ । फेरारीको कुल वार्षिक बिक्रीको तुलनामा यो निकै सानो हिस्सा हो । त्यसैले २०२६ का लागि राखिएको ५०० भन्दा कम युनिटको प्रारम्भिक लक्ष्य बजारमा आएको करिब दुई महिनामै पूरा हुनु कम्पनीका लागि महत्त्वपूर्ण संकेत हो । लुचे सार्वजनिक हुँदा यसको डिजाइनले ठूलो बहस जन्मायो । कतिपय फेरारी प्रशंसकले यसलाई परम्परागत फेरारीको शैलीबाट निकै टाढा गएको कारका रूपमा हेरे । तर प्रारम्भिक बिक्री लक्ष्य भने अपेक्षाकृत छिटो पूरा भयो । यसले फेरारीका लागि एउटा रोचक अवस्था सिर्जना गरेको छ, सामाजिक सञ्जालमा आलोचना धेरै देखिए पनि वास्तविक खरिदकर्ताबीच यसको माग कमजोर देखिएन । अझ महत्त्वपूर्ण कुरा यो हो कि आधा मिलियन युरोभन्दा बढी मूल्य पर्ने कारका लागि केही सय युनिटको माग पनि सामान्य कार बजारको हिसाबले होइन, अत्यन्तै सम्पन्न ग्राहकबीचको मागका रूपमा बुझ्नुपर्छ ।

जब उडेको ३० सेकेन्डमै रकेटमा चट्याङ पर्यो...

काठमाडौं । चीनको एउटा रकेट प्रक्षेपण भएको करिब ३० सेकेन्डमै चट्याङको चपेटामा प‍र्यो । आकाशमा बिजुली चम्किँदै गर्दा रकेटमै चट्याङ परेको दृश्य क्यामेरामा कैद भएपछि उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।  तर, चट्याङ लागे पनि रकेट आफ्नो मार्गबाट विचलित नभई सफलतापूर्वक अन्तरिक्षतर्फ अघि बढ्यो । यो घटना गत जुलाई २३ को हो । चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित छिचाङ स्याटेलाइट लन्च सेन्टरबाट स्थानीय समयअनुसार राति ८ बजे लङ मार्च–३ बी रकेट प्रक्षेपण गरेको थियो ।  रकेटले तियानलियन–२–०६ नामक डाटा रिले स्याटेलाइट बोकेको थियो । प्रक्षेपण भएको केही समयमै रकेटमाथि अचानक चट्याङ परेको थियो । भिडियोमा रकेटको तल्लो भागतिर चट्याङ चम्किएको देखिन्छ । केही क्षणका लागि आकाश नै उज्यालो बने पनि रकेटको उडानमा कुनै स्पष्ट अवरोध देखिएन ।  रकेटले आफ्नो उडान जारी राख्दै स्याटेलाइटलाई निर्धारित कक्षमा पु‍र्यायो । चीनको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (सीएएससी) का अनुसार प्रक्षेपण मिसन पूर्ण रूपमा सफल भएको थियो ।  तियानलियन–२–०६ स्याटेलाइटलाई भू–स्थिर स्थानान्तरण कक्षमा पु‍र्याइएको हो । यो स्याटेलाइटले चीनको थियानगोङ अन्तरिक्ष स्टेसन लगायतका अन्तरिक्षयान र पृथ्वीमा रहेका ग्राउन्ड स्टेसनबीच डाटा आदानप्रदान तथा सञ्चारमा सहयोग गर्नेछ । रकेटमा चट्याङ पर्दा किन ठूलो क्षति भएन ? रकेट प्रक्षेपणका क्रममा चट्याङ पर्नु सामान्य जोखिम भने होइन । विद्युतीय झड्काले रकेटभित्र रहेका इलेक्ट्रोनिक प्रणाली, सञ्चार उपकरण र उडान नियन्त्रण प्रणालीमा असर पार्न सक्छ । त्यसैले प्रक्षेपणका लागि मौसमको अवस्था निकै सावधानीपूर्वक मूल्याङ्कन गरिन्छ । तर आधुनिक रकेटमा चट्याङको जोखिम कम गर्न विभिन्न सुरक्षा प्रणाली राखिएका हुन्छन् । लङ मार्च–३बी जस्ता रकेटको धातुको बाहिरी संरचनाले विद्युतीय प्रवाहलाई बाहिरी सतह हुँदै तलतिर प्रवाहित गर्न सहयोग गर्ने भएकाले भित्रका संवेदनशील उपकरण सुरक्षित रहन सक्छन् ।  यस घटनामा पनि चट्याङको असरले रकेटको महत्त्वपूर्ण प्रणालीमा समस्या नपारेको देखिएको छ । केही विशेषज्ञ व्याख्याअनुसार रकेट तीव्र गतिमा बादलयुक्त वातावरणबाट माथि जाँदा त्यसले छाड्ने आयोनाइज्ड ग्यासको मार्गले समेत विद्युतीय डिस्चार्जलाई सहज बनाउन सक्छ ।  अर्थात् कहिलेकाहीँ रकेट आफैंले पनि चट्याङको बाटो बन्ने अवस्था सिर्जना गर्न सक्छ । प्रक्षेपणका क्रममा रकेटमा चट्याङ परेको यो पहिलो घटना भने होइन । सन् १९६९ मा अपोलो–१२ मिसनका क्रममा पनि रकेटमा दुईपटक चट्याङ परेको थियो । त्यसबाट केही विद्युतीय प्रणाली प्रभावित भए पनि मिसनलाई सफलतापूर्वक अघि बढाइएको थियो । त्यसैगरी सन् १९८७ मा एटलस–सेन्टौर ६७ पनि चट्याङको प्रहारमा परेको थियो । त्यस घटनाले रकेटको डिजिटल फ्लाइट कन्ट्रोल प्रणालीमा समस्या निम्त्याउँदै अन्ततः उडान असफल भएको थियो । यसपटक भने लङ मार्च–३बीले चट्याङको प्रत्यक्ष प्रहार सहँदै पनि आफ्नो उडानलाई निरन्तरता दियो र स्याटेलाइटलाई सफलतापूर्वक अन्तरिक्षमा पु‍र्यायो ।  त्यसैले रकेट प्रक्षेपणको क्रममा कैद भएको यो दृश्य अहिले अन्तरिक्ष प्रविधिको मजबुती देखाउने रोचक उदाहरणका रूपमा चर्चामा आएको छ ।

जहाज डिले भए यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने, यात्रुको मृत्यु भए सवा करोड पाउने

काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रालाई सुरक्षित, भरपर्दो र पूर्ण रूपमा जिम्मेवार बनाउने उद्देश्यका साथ सरकारले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संसदमा पेस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) द्वारा प्रस्तुत यस विधेयकले आन्तरिक हवाई यात्राका क्रममा यात्रु, ब्यागेज, कार्गो तथा तेस्रो पक्षमा पर्न सक्ने जोखिम र क्षतिपूर्तिको दायरालाई पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्पष्ट कानूनी ढाँचामा ल्याएको छ ।  प्रमाणीकरण भएको ३१ औं दिनदेखि लागू हुने यस ऐनले वायुसेवा सञ्चालकहरूलाई आर्थिक र कानूनी दायित्वभित्र बाँध्दै यात्रुहरूको हक–हितको संरक्षण गर्ने लक्ष्य राखेको छ ।  प्रस्तावित विधेयकमा हवाई दुर्घटनामा परी यात्रु वा तेस्रो पक्षको मृत्यु वा अङ्गभङ्ग भएमा दिइने क्षतिपूर्तिको सीमा उच्च बनाइएको छ । दुर्घटनामा मृत्यु वा शारीरिक क्षति भएमा मृतक वा पीडितका हकवालाले अधिकतम १ लाख अमेरिकी डलर (करिब १ करोड ३४ लाखभन्दा बढी नेपाली रुपैयाँ) सम्म क्षतिपूर्ति पाउनेछन् ।  हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर बीमा रकम पाउँदै आएका छन् । विधेयकले ऐनको रूप धारण गरेपछि सम्बन्धित यात्रुका परिवारले बीमाबापत एक लाख डलर रकम पाउने छन् । क्षतिपूर्ति भुक्तानीमा ढिलाइ हुने अवस्थामा शव हस्तान्तरण गर्दाकै बखत अन्तिम संस्कारका लागि कम्तीमा ५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था गरिएको छ, जुन पछि कुल क्षतिपूर्ति रकमबाट कट्टा गरिनेछ ।  घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दायित्व वायुसेवाको हुनेछ भने दुर्घटनाका कारण तेस्रो पक्षको धनसम्पत्तिमा पुग्ने नोक्सानीको पूर्ति पनि सम्बन्धित वायुसेवाले नै गर्नुपर्नेछ । उडान ढिलाइ, रद्द र टिकटसम्बन्धी नियमहरूलाई थप कडा र पारदर्शी बनाउन विधेयकमा विशेष व्यवस्था समेटिएको छ ।  उडान रद्द, स्थगन वा ढिलाइ हुने भएमा तोकिएको समयभन्दा कम्तीमा ३ घण्टा अगावै यात्रुलाई पूर्वसूचना दिनुपर्नेछ । सूचना नदिई उडान रद्द वा ढिलाइ गरेमा वा भारवहन क्षमताका कारण यात्रुलाई उडान गराउन नसकेमा वायुसेवाले तोकिएको सुविधा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ । साथै, यात्रुको चेक–इन ब्यागेज हराएमा वा क्षति पुगेमा प्रति किलोग्राम २० अमेरिकी डलरका दरले बढीमा ५०० डलरसम्म र कार्गोको हकमा मूल्य घोषणा नगरिएको भए प्रति किलोग्राम १० डलरका दरले क्षतिपूर्ति दिइनेछ ।  हवाई सेवा सञ्चालकहरूका लागि सर्वपक्षीय बीमा अनिवार्य गर्दै नियमनकारी प्रावधानहरू सशक्त पारिएको छ । वायुसेवाले यात्रु, मालसामान र तेस्रो पक्षका साथै युद्ध, आतंककारी क्रियाकलाप, अपहरण र वातावरणीय क्षतिसमेत समेट्ने गरी बीमा गर्नुपर्नेछ ।  बीमा नगर्ने वायुसेवालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक उडानमा रोक लगाउन सक्नेछ भने ३५ दिनभित्र पनि बीमा नगरे वायुसेवा सञ्चालन प्रमाणपत्र (ब्इऋ) नै रद्द गर्न सक्नेछ। हाल सञ्चालनमा रहेका कम्पनीहरूले ऐन प्रारम्भ भएको ३ महिनाभित्र यो बीमा गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।  क्षतिपूर्ति दाबी प्रक्रिया र कानुनी पुनरावेदनको स्पष्ट समयसीमा विधेयकमा निर्धारण गरिएको छ । दुर्घटना वा क्षति भएको ९० दिनभित्र हकवाला वा पीडितले र उडान रद्द वा ब्यागेज नोक्सानीको हकमा ३० दिनभित्र दाबी पेस गर्नुपर्नेछ ।  वायुसेवाले ६० दिनभित्र निर्णय नगरे वा निर्णयमा चित्त नबुझे प्राधिकरणको महानिर्देशकसमक्ष र त्यहाँबाट पनि समाधान नभए ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सकिनेछ । महानिर्देशकले कसुरको प्रकृति हेरी १० हजारदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ ।