सिजी मोटर्सले ल्यायो किङलङको १६ सिटे मिनीबस, सुरुवाती मूल्य साढे ७२ लाख

काठमाडौं । नेपालका लागि किङलङ गाडीको आधिकारिक विक्रेता सिजी मोटर्सले नयाँ १६ सिटे इलेक्ट्रिक मिनीबस बजारमा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको महाराजगञ्जस्थित शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त गाडीको अनावरण गरिएको हो । सिजी मोटर्सले यस १६ सिटर ईभी मिनीबसको बजार मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकेको छ । गाडी सार्वजनिक गरिएको अवसरमा कम्पनीले ग्राहकहरूका लागि विशेष छुटको समेत घोषणा गरेको छ । लन्चिङ अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् । कम्पनीका अनुसार नेपाली सडक र भूगोललाई ध्यानमा राखेर ल्याइएको यस मिनीबसमा ७५.४ किलोवाट क्षमताको ब्लेड ब्याट्री जडान गरिएको छ । जुन सुरक्षा र टिकाउपनका लागि विश्वभर प्रसिद्ध छ । यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा १२० किलोवाटको शक्तिशाली मोटर र २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपालका कच्ची र पहाडी सडकमा पनि यात्रा सहज हुनेछ ।  गाडीमा आरामदायी फोल्डिङ सिटहरू र उभिन मिल्नेगरी पर्याप्त इन्टेरियर हाइट रहेको छ । गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिजी मोटर्सका कमर्सियल सेग्मेन्टका बिजनेस हेड बद्री भट्टराईले गाडीलाई बजारमा ल्याउनुअघि नेपालका विभिन्न दुर्गम पहाडी क्षेत्रहरू डडेलधुरा, कालीकोट, मुस्ताङ र सोलुखुम्बुमा दुई महिनासम्म परीक्षण गरिएको जानकारी दिए । गाडी बेच्ने मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको उनको भनाइ छ । कम्पनीले यस गाडीमा ७ वर्ष वा ४ लाख किलोमिटरको वारेन्टी प्रदान गरेको छ । साथै चौधरी ग्रुपको भिजन अनुसार नेपालभर हरेक २५ देखि ५० किलोमिटरको दूरीमा चार्जिङ स्टेशन र सर्भिस नेटवर्क विस्तार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले सिजी मोटर्सलाई बधाई दिँदै विद्युतीय सवारी साधन नै भविष्य भएको बताए ।  विगत दुई वर्षदेखि आफैले ईभी गाडी प्रयोग गरिरहेको अनुभव सुनाउँदै उनले भने, ‘ईभी गाडी वातावरणमैत्री मात्र होइन, सञ्चालन खर्चका हिसाबले पनि अत्यन्तै किफायती र चलाउन सजिलो हुन्छ ।’ उनले इन्धन आयात घटाएर देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन ईभीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा सिजी मोटर्सका कर्मचारीहरूका साथै चीनबाट आएका किङलङका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । यो नयाँ मिनीबस सार्वजनिक भएसँगै नेपालको सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीको प्रयोग थप बढ्ने अपेक्षा कम्पनीले गरेको छ । 

होण्डाको देशभर नयाँ सर्भिस सेन्टर विस्तार, ६ अत्याधुनिक केन्द्र सञ्चालनमा आउने

काठमाडौं । नेपालमा होण्डाका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ। यस पहलअन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त उद्घाटन समारोहमा होण्डा मोटरका उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट (एसिया एण्ड ओसियाना), रिजनल अपरेसन्स् (एसोसिएटेड रिजन्स) का प्रमुख र एसियन मोटरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो । साथै, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो । स्याकार ट्रेडिङ कम्पनीले होण्डाका ग्राहकहरूका लागि 'पहिलेकै मूल्यमा प्रिमियम सर्भिस' को अवधारणा अगाडि सारेको छ । यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नुहुनेछ । कम्पनीले प्रिमियम उपभोक्ता अनुभव र कस्टमर फर्स्ट एप्रोचलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाएको जानकारी दिएको छ ।  

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (बीएमसीभी) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।  तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्‍याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ । यस अवसरमा बीएमसीभीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन गरिएको छ । साथै कम्पनीले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना नागरिक लाभान्वित भएका छन् ।  व्यक्तिगत स्वास्थ्यबारे सचेतना बढाउने र कर्मचारी तथा स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यी शिविरहरूको आयोजना गरिएको हो । पर्यावरणीय जिम्मेवारीतर्फ पनि बीएमसीभीले विशेष ध्यान दिएको छ । कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । त्यसैगरी, मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो।