चीनमा चाँडै ८० प्रतिशत कार बिक्री ईभीको हुने बीवाईडीको दावी
काठमाडौं । चीनमा विद्युतीय सवारीसाधन (ईभी) को बिक्री वृद्धि सुस्त भइरहेको समयमा बीवाईडीले देशको ईभी बजार अझ विस्तार हुने अपेक्षा गरेको छ । यो बीवाईडीको सानो प्रतिस्पर्धी कम्पनी ‘नियो’को भन्दा निकै फरक धारणा हो, जसले हालै मात्र ईभी उद्योगको ‘स्वर्ण युग’ समाप्त भएको बताएको थियो । ‘बजारमा भित्रिएका सबै नवीन प्रविधिहरूका कारण चीनको बजार द्रुत गतिमा अघि बढ्नेछ र इभीको बजार हिस्सा लगभग ८० प्रतिशतको नजिक पुग्नेछ,’ बीवाईडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले सोमबार सीएनबीसीलाई बताइन् । चिनियाँ प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार सरकारी सहयोग र कारका थुप्रै विकल्पहरूको उपलब्धताका कारण हाइब्रिड र ब्याट्रीबाट मात्र चल्ने गाडीहरूको बजार हिस्सा केही वर्षमै द्रुत रूपमा बढेको छ । सन् २०२४ मा बिक्री भएका नयाँ प्यासेन्जर कारहरूमध्ये आधाभन्दा बढी ईभी थिए भने गत महिना यो संख्या रेकर्ड ६२.९ प्रतिशत पुगेको थियो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले गत महिना बताएअनुसार अमेरिकामा इलेक्ट्रिक कारको बजार हिस्सा अझै पनि करिब १० प्रतिशतमात्र छ भने विश्वव्यापी रूपमा यो आँकडा झन्डै २५ प्रतिशत रहेको छ । चीनमा बनेका इलेक्ट्रिक कारहरूमा अमेरिकाले लगाएको १०० प्रतिशत भन्सार शुल्कका कारण त्यहाँ स्थानीय बिक्री सीमित भएको छ । बीवाईडीसँगै अन्य केही कम्पनीहरूलाई सोमबार पेन्टागनले चिनियाँ सेनासँग आबद्ध कम्पनीहरूको सूचीमा राखेको छ । तर बीवाईडी आफ्नो आन्तरिक बजारप्रति आशावादी छ र उन्नत ब्याट्री प्रविधिमा भरोसा गरिरहेको छ । लीका अनुसार बीवाईडीका ईभीहरूको आन्तरिक माग अहिले कम्पनीले आपूर्ति गर्न सक्ने क्षमताभन्दा झन्डै दोब्बर छ । यसको श्रेय कम्पनीको फार्स्ट–चार्जिङ प्रविधिलाई जान्छ, जसले मात्र पाँच मिनेटमा ७० प्रतिशत चार्ज गर्न सक्ने बताइएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढेको प्रभावलाई उल्लेख गर्दै चीनमा ग्यास (पेट्रोल÷डिजेल) बाट चल्ने कारहरूको बिक्री मे महिनामा गत वर्षको तुलनामा ३९ प्रतिशतले घटेको सीपीसीएले सोमबार जनाएको छ। लीले प्रतिस्पर्धाको अर्को चरण सम्भवतः ‘ड्राइभर–असिस्ट’ विशेषताहरूमा केन्द्रित हुने अपेक्षा गरेकी छन् । बीवाईडीले मे २८ मा ‘एलट प्लस’ ड्राइभर–असिस्ट प्रयोगकर्ताहरूका लागि बीमा कभरेज बढाएको छ, जसले ग्राहकको उपयोग दर ५ प्रतिशतले बढाएर कम्तीमा ९५ प्रतिशत पुर्याउन सक्ने लीले जानकारी दिइन् । कम्पनीले आफ्नै ड्राइभर-असिस्ट चिप पनि सार्वजनिक गरेको छ । हालका लागि भने बीवाईडीले धेरैजसो एनभीडीयाका ड्राइभर–असिस्ट चिपसेटहरू प्रयोग गर्ने लीले बताइन्, यद्यपि यस वाहन निर्मातासँग सेमिकन्डक्टर विकासका लागि मात्रै झन्डै ७ हजार इन्जिनियरहरू कार्यरत छन् । कम्पनीको सन् २०२५ को वार्षिक प्रतिवेदन अनुसार यो संख्या कम्पनीमा कार्यरत कुल ८ लाख ६९ हजार ६०० भन्दा बढी कर्मचारीहरूको सानो अंश मात्र हो । एशिया केन्द्रित परामर्शदाता कम्पनी वाईसीपीका मोबिलिटी अभ्यास प्रमुख लियोन चेङले मे महिनामा सुधार भए तापनि बीवाईडीको कुल बिक्री गत वर्षको तुलनामा लगभग उस्तै रहेको औंल्याए । ‘प्रश्न बीवाईडीले चीनमा आफ्नो नेतृत्व कायम राख्न सक्छ कि सक्दैन भन्ने मात्र होइन,’ उनले भने, ‘बरु निर्यात बजारमा थप चिनियाँ ईभी कम्पनीहरूले आक्रामक रूपमा प्रतिस्पर्धा गरिरहँदा यसले विश्वव्यापी रूपमा आफ्नो स्थान सुरक्षित राख्न सक्छ कि सक्दैन भन्ने हो ।’ एसोसिएसनको तथ्यांकअनुसार मे महिनामा बीवाईडीले चीनमा ‘न्यू इनर्जी भेहिकल’ बिक्री गर्ने दोस्रो ठूलो वाहन निर्माता कम्पनीको तुलनामा झन्डै तीन गुणा बढी कारहरू बिक्री गर्यो, जसले लगातार आठ महिनादेखि घटिरहेको बिक्रीको क्रमलाई रोकेको छ । बीवाईडीलाई स्थानीय रूपमा बजार विस्तार गर्न गाह्रो भइरहेको छ, जसका कारण उसले बिक्री बढाउन निर्यात बजारतर्फ ध्यान मोडिरहेको छ । लीले बीवाईडीको हंगेरी कारखाना निर्माणका क्रममा श्रम शोषण भएको भनी न्यूयोर्कस्थित एक वाचडग (निरीक्षण निकाय) ले लगाएको आरोपलाई अस्वीकार गरिन् र युरोपेली संघले उक्त साइटको अनुसन्धान गर्न बाँकी रहेको बताइन् । युरोपेली संघले गत महिना यो मामिला हंगेरीको श्रम अधिकारीहरूको क्षेत्राधिकार भित्र पर्ने बताएको थियो । सम्बन्धित सामग्रीहरू : फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार
बीएमडब्ल्यू आईएक्स १ को मूल्य १ करोड ३ लाखले वृद्धि
काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्स्मी प्रिमियम मोटर्सले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारीसाधन (ईभी) कर नीतिपछि बीएमडब्ल्यूका विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ । यसअन्तर्गत बीएमडब्ल्यू आईएक्स १ ईड्राइभ २० को मूल्य रु १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २ लाख ९६ हजार पुगेको छ । अर्थात् यस मोडेलको मूल्यमा १ करोड ३ लाखको वृद्धि भएको हो । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ईभीमा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि बीएमडब्ल्यूका विद्युतीय गाडीहरूको मूल्य बढेको हो । नयाँ व्यवस्थाअनुसार अब ईभीमा लाग्ने कर मोटरको क्षमताभन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ । यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ । आईएक्स १ मात्र नभई बीएमडब्ल्यूका अन्य विद्युतीय मोडेलहरूको मूल्यमा पनि वृद्धि भएको लक्स्मी प्रिमियम मोटर्सले जनाएको छ । नयाँ कर संरचनाका कारण विभिन्न मोडेलमा फरक–फरक दरले मूल्य समायोजन गरिएको छ । अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी ईभी ब्रान्डहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा ठूलो परिवर्तन ल्याएको छ ।
हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ को अवसर पारेर ‘वल्ड कप टु वल्ड कप’ अफर सार्वजनिक गरेको छ । हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सवस्वरूप ल्याइएको उक्त अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने विशेष सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आएको छ । यही अवधारणालाई नेपालमा विस्तार गर्दै ल्याइएको यस अफरले ग्राहकहरूलाई दीर्घकालीन स्वामित्व लाभ प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ । अफरअन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, चयनित मोडलहरूमा ४ लाख रुपैयाँसम्मको नगद छुट तथा ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष ‘वल्ड कप बोनस’ प्राप्त गर्न सक्नेछन् । यसका साथै १ वर्षको विस्तृत बीमा सुविधा र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको व्यवस्था समेत गरिएको छ । कम्पनीका अनुसार यस अभियानले ग्राहक सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको प्रतिबद्धता झल्काउँछ । साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी तथा ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध गराइने भएकाले ग्राहकले दीर्घकालीन ढुक्कता पाउने विश्वास लिइएको छ । नेपालभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत हुन्डाईले विश्वसनीयता, नवीनता र प्रगतिशील गतिशीलतामा आधारित सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । हुन्डाई नेपालले आफ्ना ग्राहकहरूलाई नजिकैको शोरुममा गई सीमित अवधिको यस ‘वल्ड कप टु वल्ड कप’ अफरको लाभ लिन आग्रह गरेको छ ।