८ अर्ब ७० करोडका सवारी भित्रिँदा ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ७० करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारी साधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ३ महिनामा सवारी साधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व  दुवैमा वृद्धि भएको जानकारी दिए । जबकी गत आवको ३ महिनामा भने ६ अर्ब १९ करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको ३ महिनामा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  चालु आवको ३ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ पर्ने २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै गत आवको ३ महिनाको अवधिमा भने २ अर्ब ४९ करोड रुपैयाँ पर्ने १९ हजार ४८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको ३ महिनामा ६२ करोड २४ लाख रुपैयाँ पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ ।  ती सवारी साधनको आयातबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको ३ महिनाको अवधिमा भने ७६ करोड ५८ लाख रुपैयाँ पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारी साधनको आयातबाट भने १ अर्ब ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  गत आवको ३ महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारी साधन आयातबाट ९ करोड ११ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।

भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ

काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।  सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो । अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका सबै ग्राहकहरूले भक्तपुरमा पनि सेवा लिन सक्नेछन् । यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ ।  साथै फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ । सिप्रदी ट्रेडिङका अनुसार हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टी’ का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन् । त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन् । कम्पनीले ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ । ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी आधुनिक प्रविधि, आकर्षक डिजाइन र सुरक्षित संरचनाका कारण बजारमा अत्यधिक लोकप्रिय बनेको छ । प्रशस्त आन्तरिक ठाउँ, ठूलो बुट स्पेस, बलियो निर्माण र कम सञ्चालन लागतका कारण यात्रु तथा सञ्चालक दुवैबीच यसको माग लगातार बढ्दो छ ।  यस ट्याक्सीमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारन्टीको सुविधा प्रदान गरिएको छ ।

बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’ : तीन खेलाडीलाई पल्सर मोटरसाइकल दिइने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच सम्झौता भएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल (N160) पुरस्कारस्वरूप प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ। सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले उक्त मोटरसाइकल प्राप्त गर्नेछन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै भने- ‘पल्सर मोटरसाइकल सधैँ खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड हो, एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास छ ।’ नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले पल्सरसँग सहकार्य गर्नु नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए । उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको भन्दै केही दिनभित्रै पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्ने धारणा राखे। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सञ्चालन हुनेछ ।