काठमाडौं । नाडा अटोमोबाइल्स संघ नेपालले पहिलो पटक 'नाडा हरित ड्राइभ २०२६' र्याली कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । जेठ २२ गते विश्व वातावरण दिवस २०२६ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम वातावरणमैत्री सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको हो ।
कार्यक्रममा विभिन्न ब्रान्डका विद्युत् (इलेक्ट्रिक) सवारी साधनहरूको सहभागिता रहेको थियो । र्याली नाडा सचिवालय टेकुबाट सुरु भई त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली हुँदै कुपण्डोलस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो ।
र्यालीमा सहभागी ९२ जनालाई नाडा अटोमोबाइल्स संघ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरू शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालको समेत उपस्थिति रहेको थियो ।
प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए । र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए ।
नाडा अटोमोबाइल्स संघ नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सदस्य, सहभागी तथा साझेदार संस्थाहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।