ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा नयाँ मोडल ल्याउने तयारी

काठमाडौं । नेपालमा प्रोटोन ई.मास सेबेन १६० किलोवाटको सफल सुरुवातपछि कम्पनीले विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ ।

नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै नयाँ योजनाहरू अघि बढाएको जनाएको छ ।

छोटो समयमै प्रोटोन ई.मास सेबेनले नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया पाएपछि कम्पनीले ईभी विस्तारलाई प्राथमिकतामा राखेको हो । कम्पनीका अनुसार नेपाली उपभोक्तामा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएको स्पष्ट संकेत देखिएको छ ।

मलेसियामा प्रोटोनले उल्लेखनीय सफलता हासिल गरेको छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्म ईभी बिक्रीमा ३२९ प्रतिशत वृद्धि भएको छ भने चार महिनामै ११ हजार ६१७ भन्दा बढी युनिट ग्राहकलाई हस्तान्तरण गरिएको छ । बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले तान्जुङ मालिमस्थित आफ्नो उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै वार्षिक उत्पादन क्षमता ४२ हजार युनिट पुर्याउने लक्ष्य राखिएको छ ।

जगदम्बा मोटर्सका एक प्रतिनिधिले भने, 'नेपालमा प्रोटोन ई.मास सेबेनले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त सकारात्मक छ । यसले नेपाली उपभोक्ता गुणस्तरीय ईभी विकल्पको खोजीमा रहेको पुष्टि गरेको छ ।'

हाल नेपाली बजारमा उपलब्ध ई.मास सेबेन १६० किलोवाट क्षमताको प्रिमियम इलेक्ट्रिक एसयूभी हो । यसले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर, आधुनिक ड्राइभिङ प्रविधि तथा आकर्षक इन्टेरियरसहित सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन् ।

ग्राहकहरूलाई हाल एक वर्षको निःशुल्क बीमा, सडक कर छुट, ७ किलोवाट होम चार्जर, ८ वर्षको वारेन्टी तथा नगद छुटजस्ता आकर्षक अफर प्रदान गरिएको छ ।

यसैबीच, कम्पनीले निकट भविष्यमा प्रोटोन ई.मास फाइभ पनि नेपाली बजारमा ल्याउने तयारी गरेको छ । सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको यो मोडल विशेषगरी शहरी जीवनशैलीलाई लक्षित गरी विकास गरिएको हो ।

प्रोटोनबाहेक जगदम्बा मोटर्सले नेपालमा टिभिएस दुईपाङ्ग्रे सवारी, चेरी वाण्डाका व्यावसायिक ईभी तथा जेएमइभी ब्रान्डका सवारीहरू पनि वितरण गर्दै आएको छ । कम्पनीले नेपालमा विद्युतीय गतिशीलता क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै लगेको जनाएको छ ।

Share News