नेपाल प्रहरीले गर्‍यो ८५ वटा पीकअप खरिदको प्रक्रिया सुरु

काठमाडौं । नेपाल प्रहरीले ८५ वटा पीकअप खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा धेरै गाडीमा क्षति पुगेसँगै प्रहरीले गस्तीमा प्रयोग गर्ने पीकअप खरिद गर्न लागेको हो । प्रहरीले खुलाएको टेन्डरमा ७५ युनिट पेट्रोलबाट चल्ने पीकअपको लागि बोलपत्र माग गरिएको छ । विद्युतीय पीकअप भने १० युनिट खरिद गर्न लागिएको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्न टेण्डर आह्वान गरेको हो । इच्छुक कम्पनी/टेण्डरदाताले आगामी कात्तिक ९ गते (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन पाउने छन् । त्यसपछि विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। प्रहरी प्रधान कार्यालयका अनुसार टेण्डर १४ कात्तिक अपराह्न २ बजे खोलिने छ ।

बीवाइडीको १ करोड ४० लाख गाडी उत्पादन

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी सहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ ।  उक्त अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बीवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भालाई हस्तान्तरण गरिएको थियो । बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्त्वपूर्ण चरण हो । कामाकारीमा रहेको कारखाना एसियाभन्दा बाहिर बीवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो ।  दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ । समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरूको उपस्थिति थियो । बीवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्याय बताएको छ । कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । हालसम्म बीवाइडीका छ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बिवाइडीका कार उत्पादन भइरहेका छन् ।  ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ । सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बीवाइडीले जनाएको छ ।  

वीरगञ्जमा दिपल एस०५ सार्वजनिक, सुरु भयो टेस्ट ड्राइभ र एक्सचेन्ज

वीरगञ्ज । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले वीरगन्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको दिपल एस ०५ सार्वजनिक गरेको छ । बुधबार आयोजना गरिएको समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, विरगञ्ज दिपल नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाललगायतले नयाँ दिपल एस ०५ लाई सार्वजनिक गरेका हुन् । दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो । दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ समावेश छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । दिपल एस ०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिने कम्पनीको दाबी छ । साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डसिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ । वीरगञ्जमा दिपलको नयाँ सोरुम, चारदिने टेस्ट ड्राइभ र एक्स्चेन्ज यसैबीच वीरगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा नोभस ब्रदर्स प्रालिले दिपलका अत्याधुनिक ईभीको बिक्री वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइरहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।