शून्य ब्याजदेखि गिफ्ट ह्याम्परसम्म : फोटोनको ‘मेगा अफर’ चितवनमा

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स, फोटोन नेपालको आधिकारिक वितरकले चितवन अटो शो २०२६ मा प्रभावशाली उपस्थिति जनाउने तयारी गरेको छ । कम्पनी वैशाख १७ देखि २१ सम्म चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुने भएको छ । कम्पनीले ईभी भ्यान, टीएम१ र पिकअप सेग्मेन्टमा विशेष अफरसहित आफ्नो प्रस्तुति दिने जनाएको छ । यस वर्षको अटो शोमा फोटोन नेपालले आफूलाई सबैभन्दा चर्चित कमर्शियल मोबिलिटी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । स्टलमा आउने आगन्तुकहरूले विभिन्न सवारी साधनहरूको आकर्षक रेन्ज अवलोकन गर्न पाउनेछन् । फोटोन हाइ रूफ ईभी भ्यान (मूल्य: रु. ५३ लाख ४९ हजार) र लो रूफ ईभी भ्यान (मूल्य: रु. ४८ लाख ४९ हजार) खरिदमा फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा गिफ्ट ह्याम्पर उपलब्ध गराइनेछ । त्यस्तै, सोकोन ईभी भ्यान (मूल्य: रु. ३९ लाख ९९ हजार) मा पनि समान सुविधाहरू समावेश छन् । यी सबै मोडलमा थप नगद छुट भने कार्यक्रममै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । बहुउपयोगी सवारी खोज्ने ग्राहकका लागि फोटोन टीएम१ (मूल्य: रु. २८ लाख ४९ हजार) मा नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछ, जसको अन्तिम अफर पनि कार्यक्रममै घोषणा गरिनेछ । साथै, फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा प्रदान गरिनेछ, जसले व्यवसायी तथा उद्यमीहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार, देशभर १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन र १४ भन्दा बढी आउटलेटसहितको अफ्टर–सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता तथा लचिलो फाइनान्सिङ सुविधाले ग्राहकलाई दीर्घकालीन स्वामित्वमा भरोसा दिनेछ । फोटोन नेपालले चितवन तथा आसपासका उद्यमी, परिवार, फ्लिट अपरेटर र कमर्शियल ग्राहकलाई स्टलमा उपस्थित भई विशेष अफरको लाभ लिन आग्रह गरेको छ । चीनको अग्रणी कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै फोटोन नेपालले यस वर्षको अटो शोमा भविष्य–उन्मुख मोबिलिटी समाधान प्रस्तुत गर्ने जनाएको छ ।   

प्यारामाउन्ट मोटर्सले ल्याउँदै वुलिंगका चार नयाँ विद्युतीय सवारी

काठमाडौं । नेपालका लागि वुलिंग मोटर्स (Wuling Motors) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल समूह एसआइसी जीएम वुलिंग (SAIC-GM-Wuling) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नेपाल भित्र्याउने तयारी गरेको हो । सन् १९५८ देखि लामो इतिहास बोकेको तथा विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको एसजीएमडब्लूको ‘वुलिंग’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर परिचित छ । नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव विस्तार गर्दै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ तथा विविध उत्पादनमार्फत अझ आक्रामक रूपमा अघि बढाउने रणनीति लिएको जनाएको छ । कम्पनीका अनुसार पहिलो मोडेल ‘एक्सियन ईभी’ ७ सिटर प्रिमियम एसयूभी हुनेछ, जसलाई ठूला परिवारलाई लक्षित गरी ल्याइँदैछ । यसमा ६९.२ किलोवाट आवरको ‘म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । सुरक्षाका लागि ३६० डिग्री क्यामेरा र अत्याधुनिक एडास (ADAS) प्रणाली समावेश गरिएको छ । दोस्रो मोडेल ‘वुलिंग मिनी ईभी’ चार ढोकायुक्त कम्प्याक्ट कार हुनेछ, जुन सहरी क्षेत्रका लागि उपयुक्त मानिएको छ । ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल (GSEV) आर्किटेक्चरमा आधारित यस कारले ३०१ किलोमिटरसम्मको रेन्ज दिनेछ । यसमा डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ । तेस्रो मोडेल ‘डेरियन एमपिभी’ ७ सिटर प्रिमियम गाडी हुनेछ, जसलाई लामो दूरीको यात्रा तथा विलासी अनुभवका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ । यसले ५४० किलोमिटरसम्मको रेन्ज दिनेछ भने स्लाइडिङ ढोका र आकर्षक आन्तरिक सजावट यसको मुख्य विशेषता रहनेछन् । चौथो मोडेल ‘बिङ्गो ईभी’ नेपाली बजारमा पहिलेदेखि लोकप्रिय ह्याचब्याकको नयाँ संस्करण हुनेछ । यो ३१.९ किलोवाट आवर (३३३ किमी रेन्ज) र ३७.९ किलोवाट आवर (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । ५० किलोवाटको मोटर जडान गरिएको यस गाडीले ६७ हर्सपावर र १५० एनएम टर्क उत्पादन गर्नेछ । यसमा १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन, ७९० लिटरसम्मको कार्गो स्पेस तथा एबीएस, ईबीडी र भेरियन्टअनुसार ६ वटासम्म एयरब्याग जस्ता सुरक्षा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । प्यारामाउन्ट मोटर्सले आफ्ना सबै वुलिंग मोडेलमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउनेछ। यसले ग्राहकमा विद्युतीय सवारीप्रति थप विश्वास बढाउने कम्पनीको अपेक्षा छ । 'हामी नेपाली ग्राहकको आवश्यकता र यहाँको भौगोलिक अवस्था सुहाउँदा अन्तर्राष्ट्रिय स्तरका सवारी साधन भित्र्याउन प्रतिबद्ध छौँ,' कम्पनीका प्रवक्ताले भने, 'नयाँ लाइनअपले नेपालको दिगो यातायातको लक्ष्यलाई थप टेवा पुर्‍याउनेछ ।' यी नयाँ वुलिंग मोडेलहरू छिट्टै देशभरका आधिकारिक शोरुममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गाडीमा कर नबढ्नेमा व्यवसायी ढुक्क

काठमाडौं । नेपालको अटो क्षेत्रमा हरेक वर्ष बजेट आउनुअघि व्यवसायीहरूले धमाधम गाडी भित्र्याउने अभ्यास छ । भन्सारबाट छिटो-छिटो गाडी छुटाउने र स्टक थुपार्ने होडबाजी चल्ने गर्छ । आगामी बजेटले करका दर बढाउन सक्ने त्रासका कारण व्यवसायीहरूले पहिल्यै ठूलो परिमाणमा सवारीसाधन आयात गर्ने प्रवृत्ति देखिँदै आएको हो । तर, यस वर्ष भने अटो व्यवसायीहरू तुलनात्मक रूपमा मौन देखिएका छन् । उनीहरू मौन देखिनुको मुख्य कारण नयाँ सरकारप्रति बढेको विश्वास हो । नयाँ सरकारले बजेटमार्फत करको दर नबढाउनेमा व्यवसायीहरू ढुक्क छन् । बरु यसपटक कर घटाएर ल्याउनेमा उनीहरू आशावादी देखिन्छन् । आगामी आर्थिक वर्षको बजेट आउन अब एक महिना मात्र बाँकी रहँदा अटो बजारमा उत्साहभन्दा बढी प्रतिक्षाको अवस्था छ । विगतका वर्षहरूमा बजेटअघि नै गाडी आयात बढाउने प्रवृत्ति रहे पनि यसपालि व्यवसायीहरूले ठूलो स्टक राख्न छाडेका छन् । व्यवसायीहरूका अनुसार बजारमा माग निकै न्यून छ । साथै, नयाँ बजेटले करका दर घटाउन सक्ने हल्लाले पनि उनीहरूलाई ठूलो परिमाणमा गाडी आयात गर्नबाट रोकेको छ । अहिले अटो व्यवसायीहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटअघि ईभीमा कर बढ्ने हल्लाका कारण व्यवसायीहरूले एकैपटक ३ हजार ६ सय ३३ गाडी आयात गरेका थिए । तर, सरकारले कर नबढाएर स्थिर कायम गरेपछि ती गाडी स्टकमा थुप्रिए । यसले व्यवसायीहरूलाई थप दबाबमा पारेको थियो । लामो समयसम्म गाडी बिक्री नहुँदा चोभारस्थित सुख्खा बन्दरगाहको पार्किङ शुल्क निरन्तर तिर्नुपरेको थियो भने बैंकको ब्याजको भार पनि थपिएको थियो । फलतः गाडी बिक्रीमा चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो । गत वर्षको तुलनामा यसपालि ट्रेन्ड निकै फरक देखिएको टोयोटा नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका मार्केटिङ हेड महेन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार पहिले बजेटअघि गाडीको मूल्य बढ्ने अनुमानमा धेरै गाडी आयात गरिन्थ्यो । तर, अहिले अधिकांश उपभोक्ता कर घट्ने अपेक्षामा छन् । अर्थमन्त्री स्र्वणीम वाग्लेले पनि केही संकेत दिएकाले व्यवसायीहरू बजेट भाषणको प्रतीक्षामा रहेको उनले बताए । श्रेष्ठले भने, ‘अहिले ३/४ करोडका गाडी स्टकमा राख्न जोखिमपूर्ण रहेकाले व्यवसायीहरूले केवल मागअनुसारको नियमित आयात मात्र गरिरहेका छन् ।’ यस्तै, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा फोर्स मोटरका लागि नेपालको आधिकारिक विक्रेता हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब थापाले अटो बजार अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए । उनका अनुसार व्यवसायी मात्र होइन, ग्राहक पनि बजेटकै प्रतीक्षामा छन् । सरकार परिवर्तन र अर्थमन्त्रीका अभिव्यक्तिले बजारमा अन्योलता बढाएको उनको भनाइ छ । थापाले भने, ‘बजेटमा गाडीको मूल्य घट्छ कि भन्ने हल्लाले गर्दा ग्राहकहरूले खरिद योजना बजेटपछिका लागि सारेका छन् ।’ उनका अनुसार यसले समग्र बजारको मागमा करिब १५ देखि २० प्रतिशतसम्म गिरावट आएको छ । विगत १०/१२ वर्षको अनुभव सुनाउँदै उनले भने, ‘पहिले बजेटभन्दा एक महिनाअघि नै भन्सार यार्डहरू गाडीले भरिन्थे, तर यसपालि त्यस्तो मुभमेन्ट कतै देखिँदैन ।’ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले पनि यस वर्ष तत्काल गाडी आयात गर्ने योजना नरहेको बताए । उनले भने, ‘यस वर्ष स्थिर सरकार आएको छ । यो सरकारले करको दर घटाउनेमा हामी आशावादी छौं । बजेट आइसेपछि मात्रै गाडी ल्याउँछौं ।’ उनका अनुसार कर घट्ने चर्चाले ग्राहकहरूमा पनि केही सकारात्मक अपेक्षा सिर्जना गरेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि गत वर्षको तुलनामा यस वर्ष बजेट सार्वजनिक भएपछि मात्रै गाडी आयात गर्ने जनाएको छ । व्यवसायीहरूका अनुसार हाल बजार केही सुस्त देखिए पनि बजेटलगत्तै नयाँ मोडल भित्र्याउने तयारी भने तीव्र छ । विशेषगरी चीनमा भइरहेको ‘बेइजिङ अटो शो’ पछि नयाँ ब्रान्ड र मोडलहरू नेपाल भित्रिने क्रम बढ्ने अपेक्षा गरिएको छ । टोयोटाले पनि आफ्नो नयाँ मोडल ‘¥याभ-४ हाइब्रिड’ आगामी १५/२० दिनभित्र नेपाल ल्याउने तयारी गरेको जनाएको छ । धेरैजसो नयाँ गाडी र बाइकहरू आगामी ‘अटो शो’ मा सार्वजनिक गर्ने गरी व्यवसायीहरूले तयारी गरिरहेका छन् । अहिले विद्युतीय सवारी (ईभी) को बजार राम्रो रहे पनि अफरोडका लागि डिजेल गाडीको माग पनि उत्तिकै रहेको व्यवसायीहरू बताउँछन् । समग्रमा, अटो बजार अहिले आगामी बजेटको स्पष्ट मार्गचित्रको प्रतीक्षामा छ । करका दर घट्ने आशामा रहेका ग्राहक र जोखिम लिन नचाहने व्यवसायीका कारण आयात र बिक्री दुवैमा सुस्तता देखिएको छ ।