काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर भारतका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइलले नेपाली बजारमा नयाँ एमजी हेक्टर एसयूभी सार्वजनिक गरेको छ । बिहीबार थापाथलीस्थित एमजी शोरुममा एक कार्यक्रमका बीच गाडी सार्वजनिक गरिएको हो ।
केही समयअघि मात्रै एमजी विन्डसर र एमजी कमेट ईभी सार्वजनिक गरेको कम्पनीले यस नयाँ गाडीको आगमनसँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको जनाएको छ ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ । आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको यस गाडीमा आरामदायी यात्राका लागि फराकिलो क्याबिन र उत्कृष्ट आन्तरिक सजावट रहेको छ ।
अत्याधुनिक जडान प्रणाली र प्रयोगकर्तामैत्री सुविधाहरू छन् । चालक र यात्रीको सुरक्षालाई ध्यानमा राख्दै उत्कृष्ट सुरक्षा सुविधाहरू समावेश तथा समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा ठूलो एसयूभी अनुभव र दैनिक प्रयोगमा बढी उपयोगिता रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक भएको दाबी गरे ।

उनका अनुसार नयाँ संस्करणमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ । नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि र व्यवहारिकताको सम्मिश्रण खोज्नेहरूका लागि यो उपयुक्त विकल्प हो ।
उनले भने, ‘नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।’
नेपाली बजारमा नयाँ एमजी हेक्टर चार फरक संस्करणमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ एमजी हेक्टर सार्वजनिक भएसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने कम्पनीको विश्वास छ । जीओ अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनका साथै भरपर्दो बिक्रीपछिको सेवा र आधिकारिक पार्टपुर्जाहरूको सहज उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
नयाँ एमजी हेक्टरलाई नजिकबाट नियाल्न र बुझ्न चाहने ग्राहकहरूले थापाथलीस्थित एमजी शोरुममा गई प्रत्यक्ष अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ ।