काठमाडौं । विगत एक दशकमा भियतनामी विद्युतीय सवारीसाधन (ईभी) निर्माता विनफास्ट अटोले आक्रामक विस्तारका लागि अरबौं डलर खर्च गरिसकेको छ ।
अहिले आफ्ना दुईवटा मुख्य कारखानाहरू बिक्री गर्ने र आफ्नो बहीखाताबाट ७ अर्ब डलर बराबरको ऋण हटाउने योजनाले अर्बपति फाम न्हात वुओङको भिनग्रुप व्यापारिक घरानाको सुशासनमाथि चिन्ता उब्जाइदिएको छ ।

सन् १९९० को दशकमा युक्रेनमा तयारी चाउचाउ बेचेर व्यवसाय सुरु गरेका वुओङले भिनग्रुपलाई भियतनामकै सबैभन्दा ठूलो कम्पनीका रूपमा स्थापित गरेका छन् ।
यसैमार्फत उनी होटल, मनोरञ्जन पार्क र नास्डाकमा सूचीकृत विनफास्टका मालिक हुन् । उनी समूहभित्रै गरिने जटिल लेनदेनहरूका लागि पनि चिनिन्छन् । रोयटर्सले यसअघि नै विनफास्टको बिक्री र वित्तीय व्यवस्थाका लागि भिनग्रुपसँग सम्बद्ध कम्पनीहरूमाथिको निर्भरतालाई सविस्तार प्रस्तुत गरिसकेको छ ।
![]()
फाम न्हात वुओङ ।
गत हप्ता सार्वजनिक गरिएको एक बहुपक्षीय सम्झौताअनुसार विनफास्टले आफ्नो भियतनामी उत्पादन व्यवसायलाई १३.३ ट्रिलियन डङ (५० करोड ६० लाख डलर) मा लगानीकर्ताहरूको एक समूहलाई बिक्री गर्नेछ, जसले झन्डै ६.९ अर्ब डलरको ऋणको भार पनि आफै लिनेछन् ।
एउटा नियामक फाइलिङमा कम्पनीले यो कदमले आफूलाई उत्पादनमा भन्दा पनि अनुसन्धान र उत्पादन विकासमा केन्द्रित हुने ‘एसेट–लाइट’ (भौतिक सम्पत्ति कम भएको) मोडेल अपनाउन मद्दत पुग्ने बताएको छ ।
उत्पादन एकाइलाई आफ्नो बहीखाताबाट हटाएपछि विनफास्ट ठुलो मात्रामा ऋणमुक्त हुने भिनग्रुपले रोयटर्सलाई दिएको एक बयानमा बताएको छ । गत वर्ष यस इभी निर्माता कम्पनीले बेहोरेको ३.९ अर्ब डलरको घाटाको मुख्य कारण उत्पादन लागत नै थियो र सन् २०१७ मा स्थापना भएदेखि विनफास्टले अझैसम्म नाफा कमाउन सकेको छैन ।
तर, यो सम्झौताको जटिलता र यसमा संस्थापक वुओङ तथा भिनग्रुपसँग सम्बन्ध भएका लगानीकर्ताहरूको संलग्नताका कारण केही विश्लेषकहरू र सर्वसाधारण सेयरधनीहरू माझ यसले आशंका पैदा गरेको छ ।
सिंगापुरस्थित परामर्शदाता कम्पनी वाईसीपीका अटो उद्योग विश्लेषक तथा साझेदार मेहदी जाउदीले भने, ‘रणनीतिक र वित्तीय दृष्टिकोणबाट यो कदम जायज देखिन्छ र यसले विनफास्टलाई अघि बढ्न ठोस आधार प्रदान गर्दछ। यद्यपि, सुशासनको दृष्टिकोणबाट हेर्दा यो रणनीतिक निर्णयले केही खतराका घण्टीहरू र प्रश्नचिन्हहरू खडा गर्छ ।’
यसमा एउटा मुख्य विषय घरजग्गा व्यवसायी न्गुएन होआई नामको संलग्नता हो, जसले यसै महिना मात्र उत्पादन व्यवसायको ९५ प्रतिशतभन्दा बढी हिस्सा खरिद गर्ने कम्पनीको नियन्त्रण लिएका छन् । नाम, भिनग्रुपको पहिलेको सपिङ मल शाखा रहेको भिनकम रिटेलका सञ्चालक समिति सदस्य हुन् ।
कारखाना सम्झौता सार्वजनिक हुनुभन्दा केही दिनअघि उनले फ्युचर इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ डेभलपमेन्ट (एफआईआरडी) को बहुमत नियन्त्रण प्राप्त गरे । यो कम्पनी विनफास्टबाटै अलग गरेर बनाइएको थियो र गत जनवरीसम्म यसको स्वामित्व भिनग्रुप र वुओङसँग थियो । एफआईआरडीसँग विनफास्टको पहिलो पुस्ताका इभीहरूको पेटेन्ट (पेटेन्ट अधिकार) छ र यसको दर्ता पुँजी ४.६ अर्ब डलर छ, जसमा झन्डै ९२ प्रतिशत हिस्सा नामको रहेको छ ।
‘यी स्वामित्व परिवर्तनहरू भएको यति चाँडै एफआईआरडी कसरी मुख्य खरिदकर्ता बन्यो भन्ने कुरा प्रष्ट छैन,’ जाउदीले भने ।
यस विषयमा भिनकमले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
एक बयानमा भिनफास्टले आफू ‘यी लेनदेनहरूमा कुनै पक्ष नरहेको र त्यसैले यसमा टिप्पणी गर्ने कुनै आधार वा अधिकार नभएको’ बताएको छ ।
विनफास्टले इन्डोनेसिया र भारतमा रहेका आफ्ना एसेम्बली प्लान्टहरू र आफ्नो सबैभन्दा नयाँ पुस्ताका इभीहरूको पेटेन्टहरू भने आफैसँग राख्नेछ । मे १२ मा यो सम्झौता सार्वजनिक भएदेखि विनफास्टको सेयर करिब १२ प्रतिशतले घटेको छ ।
भिनग्रुप वुओङद्वारा नियन्त्रित छ र यस कम्पनीमा कुनै ठूला संस्थागत लगानीकर्ताहरू छैनन्।
हो चि मिन्ह सहरमा आधारित भियतनाम केन्द्रित र विदेशी स्वामित्वमा रहेको कोष ड्रेगन क्यापिटल जुन भिनग्रुपका थोरै विदेशी लगानीकर्ताहरूमध्ये एक हो, उसले भने यो लेनदेनलाई ऋण र खर्च कटौती गर्ने भएकाले ‘एक सकारात्मक संरचनात्मक विकास’ भएको बताएको छ ।
सन् २०२१ मा फक्सकनको चासो
अनुभवी अटो उद्योग विश्लेषक फेलिप मुनोजका अनुसार आफ्नो उत्पादन कार्य अरूलाई सुम्पेर भिविनफास्ट जस्तो सानो ईभी निर्माताले आफ्ना बहुमूल्य स्रोतहरू अझ राम्रो सफ्टवेयर विकास गर्ने जस्ता बढी महत्त्वपूर्ण क्षेत्रहरूमा केन्द्रित गर्न सक्छ ।
सम्झौताको एक हिस्साको रूपमा नयाँ मालिकहरूले तेस्रो पक्षका लागि कार र ब्याट्रीहरू उत्पादन गर्न भिनफास्टका प्लान्टहरू प्रयोग गर्न सक्छन् ।
यस विषयको संवेदनशीलताका कारण नाम गोप्य राख्न चाहने भियतनामका एक वित्तीय विश्लेषकले नयाँ लगानीकर्ताहरूसँग साझेदारी गर्न अर्को कुनै ठूलो निर्माता तयारी अवस्थामा पर्खेर बसेको हुन सक्ने सम्भावना रहेको बताए ।
सन् २०२१ मा भिनग्रुपले ताइवानी कन्ट्याक्ट म्यानुफ्याक्चरर फक्सकनले भिनफास्टको उत्पादन लाइनका लागि आफूसँग सम्पर्क गरेको बताएको थियो, तर त्यतिबेला कुनै सम्झौता हुन सकेन ।
‘हाम्रो भियतनाममा रहेका भिनफास्टका उत्पादन सुविधाहरू फक्सकन वा अन्य कुनै मूल उपकरण निर्मातालाई बेच्ने कुनै योजना छैन,’ सम्भावित नयाँ कुराकानीबारे सोधिएको प्रश्नमा भिनग्रुपले भन्यो ।
इभी क्षेत्रमा आफ्नो विस्तार गर्न खोजिरहेको फक्सकनले भने यसबारे टिप्पणीको अनुरोधलाई कुनै जवाफ दिएन । (रोयटर्सबाट अनुदित तथा सम्पादित)
नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन
इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू
पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत
इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति