पाँच महिनामै ईभी आयात २३ प्रतिशतले घट्यो, बजारमा स्टक क्लियरको दबाब

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को चर्चा र माग चुलिएकै बेला चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ५ महिनामा भने यसको आयातमा अप्रत्याशित गिरावट देखिएको छ ।  भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ईभी आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.५५ प्रतिशतले घटेको हो । गत आवको पहिलो ५ महिनामा ४ हजार ६ सय ९५ युनिट ईभी आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या ३ हजार ८ सय युनिटमा खुम्चिएको छ । जसले ईभी आयात ओरालो लागेको देखाउँछ । ईभीको आयात परिमाण घटे पनि राज्यको ढुकुटीमा ईभीले ठूलो योगदान पुर्‍याएको छ । चालु आवको ५ महिनामा कुल ८ अर्ब ९५ करोड रुपैयाँ बराबरका विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले ५ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । एक व्यवसायीका अनुसार ईभीको आयात घट्नुको मुख्य कारण धेरै गाडी स्टकमा रहनु हो ।  चालु आवको बजेट सार्वजनिक हुनुअघि करको दर बढ्ने आशंकामा व्यवसायीहरूले झण्डै ६ हजार युनिट ईभी आयात गरेका थिए । ती कारहरू अझै बजारमा बिक्री भइनसकेका कारण नयाँ आयातमा प्रत्यक्ष प्रभाव परेको धेरैको बुझाइ छ । तर अटो व्यवसायीहरूले भने हाल गाडीको स्टक घट्दै गएको र नयाँ गाडीको मूल्य बढ्ने क्रममा रहेको बताउँछन् ।  अटो व्यवसायी आकाश गोल्छाले स्टक धेरै घटेको र पुराना गाडीहरू पनि बिक्री भएको दाबी गर्छन् । उनले भने, ‘स्टकमा कसैको कम गाडी घटेको होला त कसैको बढी । तर समग्रमा स्टक घटेको छ ।’ गोल्छका अनुसार पछिल्लो समय गाडी आयातको अवस्था राम्रै छ । यद्यपि भन्सार बढ्ने बेला बढी आयात गरेको र त्यसपछि घट्ने सामान्य प्रवृत्ति रहेको उनको भनाइ छ । नयाँ गाडीको मूल्य बढ्ने चर्चा चलिरहँदा गोल्छा डलर, युआनको भाउ बढेकाले विदेशबाट आयात हुने नयाँ गाडीको लागत बढ्ने हुनाले गाडीको मूल्य पनि बढ्ने बताउँछन् । उनका अनुसार आगामी एक/दुई महिनामा नयाँ गाडीको मूल्यमा फरक देखिनेछ ।  यस्तै, लिपमोटर गाडीको आधिकारिक बिक्रेता साङ्ग्रिला मोर्टस्का प्रबन्धक जय गोल्छाले पुराना गाडीको मूल्यमा केही छुट दिनुको कारण ब्याट्रीको लागत घट्नु र कम्पनीबाट आएको सपोर्ट ग्राहकसम्म पुर्याउनु रहेको बताउँछन् । उनका अनुसार यो केवल स्टक क्लियर गर्नका लागि मात्र नभई विशेष परिस्थितिमा आएको अफर हो ।  यस्तै, नाडाका सदस्य आकाश गोल्छा नयाँ गाडीमा मूल्य बढाउने अवस्था नरहेको बताउँछन् । उनका अनुसार जेनजी आन्दोलनपछि केही असर परे पनि बजार सुधारात्मक लयमा फर्किरहेको छ ।  उनले बजारमा धेरै ब्रान्डहरू भएकाले प्रतिस्पर्धा अत्यधिक बढेको र बजार कन्सोलिडेट चरणमा जाँदै गरेको बताए । उनले अर्थ मन्त्रालयका निर्णयहरू राम्रो रहेको र त्यस्तो गुनासो गर्ने ठाउँ नभएको बताउँछन् । तर, राष्ट्र बैंकका नीतिहरू थप खुकुलो हुन सकेको भए अझ राम्रो हुन सक्ने उनको अपेक्षा छ । हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले भने अटो बजार केही डाउन रहेको दावी गर्छन् । यद्यपि उनी यसलाई सामान्य ट्रेन्ड मान्छन् र दशैंमा धेरैले गाडी किनेपछि त्यसपछिको अवधिमा बिक्री घट्नु स्वाभाविक रहेको बताउँछन् ।  हाल इम्पोर्टरहरू धेरै भएकाले सबैलाई प्रेसर भएको हुन सक्ने उनको भनाइ छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले चोभार बन्दरगाहमा दैनिक ३/४ वटा आउने र ५/१० वटा गाडी जाने क्रम चलिरहेको बताए ।  उनका अनुसार हाल चोभार बन्दरगाहमा सवारीसाधनको स्टक करिब ९५० को हाराहारीमा छ । जबकि यो संख्या २ महिनाअघि पनि यही हाराहरीमा रहेको थियो । हाल केही मात्रामा आयात र निर्यात भइरहेको निर्देशक गजुरेलको भनाइ छ ।  आर्थिक वर्ष सुरु हुनुअगाडि कर बढ्ने हल्लाले भित्र्याइएका केही गाडीहरू अझै स्टकमै रहेको उनले बताए ।मंसिर मसान्तसम्म भित्रिएका ३ हजार ८ सय ईभीमा १०० किलोवाटसम्मका कारको वर्चस्व देखिएको छ । जसमा ५० किलोवाटसम्मका १ हजार २१५ युनिट, ५१ देखि १०० किलोवाटसम्मका २ हजार १६४ युनिट जुन सबैभन्दा धेरै हो । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ४ सय १४ युनिट, २०१ किलोवाटभन्दा माथिका ५ युनिट तथा अनएसेम्बल ५० किलोवाटसम्मका २ युनिट आयात भएका छन् ।  तथ्यांकअनुसार नेपाली सडकमा ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कारहरू सबैभन्दा बढी लोकप्रिय देखिएका छन् । सुरुवाती महिनाहरूमा आयात सुस्त देखिए पनि पुराना स्टकहरू सकिएसँगै आगामी महिनामा ईभी आयात पुनः लयमा फर्कने अनुमान गरिएको छ ।

भीजी मोटर्सद्वारा एसआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डका विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एसआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका हुन् । ५० किलोवाट क्षमताको मोटर जडान गरिएको यस भ्यानको रेन्ज ३०० किलोमिटर रहेको छ । कम्पनीले यसको मूल्य ३९ लाख रुपैयाँ तोकेको छ । कर्पोरेट हाउस, होटल, स्कुल लगायतका संस्थागत प्रयोजनका लागि यो भ्यान निकै उपयोगी हुने भीजी मोटर्सको दाबी छ । कम्पनीका अनुसार हाल नेपालभर ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा छन् । साथै, यसका स्पेयर पार्ट्सको लागत अन्य ईभीको तुलनामा करिब ८० प्रतिशतसम्म सस्तो पर्ने बताइएको छ । सार्वजनिक कार्यक्रमकै अवसरमा कम्पनीले ईभीसम्बन्धी मिथक र भावी प्रभावबारे कार्यशाला पनि आयोजना गरेको थियो । कार्यशालामा सवारीधनीका प्रमुख चासोलाई सम्बोधन गर्दै विभिन्न विज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले जोयलोङ र एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराउँदै नेपाल भित्र्याइएका ईभी प्रविधि विश्व बजारमा परीक्षण भइसकेका र स्थानीय हावापानीमा पनि विश्वसनीय रहेको बताए । अटोमोटिभ ईभी ड्राइभ–ट्रेन विशेषज्ञ सम्राट गौतमले कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतसम्म घट्ने तथ्यांक प्रस्तुत गरे । एउटा डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु गुणस्तरमा उल्लेख्य सुधार आउने उनको भनाइ थियो । भीजी मोटर्सका बिजनेस हेड चन्दन रौनियारले विस्तृत लागत–लाभ विश्लेषण प्रस्तुत गर्दै सुरुवाती लगानी परम्परागत इन्धनमा चल्ने सवारीभन्दा केही फरक देखिए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत अत्यन्तै ठूलो हुने बताए । उनले भविष्यमा सेकेन्ड–ह्यान्ड ईभीको माग र मूल्य दुवै उच्च रहने दाबी गरे । मेकानिकल इन्जिनियर दीपक शर्माले ईभीमा चलायमान पार्टपुर्जाको संख्या कम हुने भएकाले मर्मत खर्च ६० प्रतिशतभन्दा बढीले घट्ने बताए । ईभीमा आयल चेन्ज, स्पार्क प्लग तथा जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने उनको भनाइ थियो । ब्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्दै दिनेश दाहालले आधुनिक ईभी ब्याट्रीहरू सवारीको सामान्य व्यावसायिक आयुभन्दा लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको र ब्याट्री रिसाइक्लिङमार्फत चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित हुने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि चीनबाट प्राविधिक तथा इन्जिनियरहरू ल्याई ईभी चालक र सवारीधनीलाई लक्षित गर्दै यस्ता कार्यशालाहरू निरन्तर आयोजना गरिने जानकारी दिए ।

पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर

काठमाडाैं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसअनुसार पोखरामा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । पोखरामा सिटी स्क्वायर ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट, न्यूरोडमा कार्यक्रम आयोजना हुनेछ । तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य ४६.९९ लाखबाट सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभी को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन्  ।