बुधबार १७ अन्तराष्ट्रिय उडान तथा अवतरण
काठमाडौं । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १७ वटा अन्तराष्ट्रिय उडान तथा अवतरण हुने भएको छ । गत बैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि बुधबार सबैभन्दा धेरै उडान हुन लागेको हो । विमानस्थल कार्यालयका अनुसार आज सबैभन्दा धेरै उडान नेपाल वायुसेवा निगमको रहेको छ । निगमको चार वटा उडान तथा ५ वटा अवतण गरी ९ वटा उडान रहेको छ । यस्तै, हिमालय एयरलाइन्सको तीन वटा अवतरण तथा एक वटा उडान रहेको छ भने सिचुवान एयरलाइन्सकाे कार्गो उडान तथा अवतरण रहेको छ । यस्तै बुधबार नै निगमले एयर बबल अवधारण अन्तरगत भारतको नयाँदिल्लीमा उडान गर्दैछ । गत बैशाख २३ गतेदेखि बन्द भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गरिएको छ । नियमित रुपमा हुने अन्तराािष्ट्रय उडान बन्द भएपनि सरकारले चार्टर्ड, उद्धार तथा कार्गो उडानलाई अनुमति दिदैँ आएको छ ।
मंगलबार १४ अन्तराष्ट्रिय उडान तथा अवतरण
काठमाडौं । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ वटा उडान तथा अवतरण हुने भएको छ । गत बैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि मंगलबार सबैभन्दा धेरै उडान हुन लागेको हो । विमानस्थल कार्यालयका अनुसार मंगलबार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजानका लागि हिमालय एयरलाइन्सले तीन तथा निगमले एक उद्धार चार्टर्ड उडान रहेको छ । यस्तै मंगलबार नै निगमले साउदी अरेबियामा समेत उद्धार उडान गर्दैछ । नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ भने हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । त्यस्तै मंगलबार नै हिमालय एयरलाइन्सले बेइजिङमा २ वटा कार्गाे उडान गर्दैछ । रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । गत बैशाख २३ गतेदेखि बन्द भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गरिएको छ । नियमित रुपमा हुने अन्तराािष्ट्रय उडान बन्द भएपनि सरकारले चार्टर्ड, उद्धार तथा कार्गाे उडानलाई अनुमति दिदैँ आएको छ ।
मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार
काठमाडौं । नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ । केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो । कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्याङ्क लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको छ । हालसम्म २२ मध्ये १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्य बाँकी पनि फिर्ता पठाउने काम भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्रको समन्वयमा ङिस्याङ गाउँपालिकाबाट पाँचजना फिस्टेल एयरबाट काठमाडौँ तथा पाँच जनालाई बलेरो जीपबाट पोखरा पठाइएको हो । ङिस्याङ गाउँपालिकाको गाउँमा १४, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङ गाउँमा एकजना गरी जम्मा २२ विदेशी पर्यटक यस जिल्लामा रोकिएका थिए । गौतमका अनुसार अब जिल्लामा १२ पर्यटक बाँकी रहेका छन् । “यहाँबाट हिजो मात्रै जर्मनी, इजरायली, नेदरल्यान्ड, आइरिस र फ्रान्सका नागारिकलाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ । केही पर्यटकलाई जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई पोखरा पठाएको छ, एकदुईजना आफैँ हिँडेर लमजुङतर्फ गएका पनि छन्”, उनले भने । अन्य जिल्लामा निषेधाज्ञा भए पनि यहाँ भएको छैन । जिल्लामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै हिँड्डुल जारी छ । वैशाखमा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक जिल्ला भित्रिएका थिए । त्यस्तै १९७ ले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका छन् । नेदरल्यान्डका नागारिक सङ्क्रमित भेटिएपछि मात्र जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रले तथ्याङ्क उपलब्ध गराएसँगै यहाँ रहेका पर्यटकको खोजी गरी उनीहरूको इच्छाअनुसार जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई गन्तव्यसम्म पठाउने काम गरिरहेको प्रजिअ लामिछानेले बताए । उनका अनुसार केही पर्यटक यहाँ नै बस्न चाहेकाले उनीहरुलाई सुरक्षित साथ रहन आग्रह गर्दै जिल्लाबाहिर जान चाहनेलाई सवारी पासको व्यवस्था गरिएको छ । विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका चेक पोष्टमा परमिट दर्ता गरेर आउने भए पनि अहिलेको अवस्थामा कतिपय दर्ता नभएका पनि रहेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । कतिपय पर्यटक विना गाइड प्रवेश गरेको संरक्षण क्षेत्रका प्रमुख गौतमले जानकारी दिए । “हाम्रो ठाउँठाउँमा चेक पोष्ट छ, चेक पोष्टमा दर्ता भएकाको तथ्याङ्क हामीसँग हुन्छ तर दर्ता नभएकाको तथ्याङ्क नहुँदा समस्या आउने गरेको छ”, उनले भने । दुई भारतीय नागारिक, तीन इजरायली तथा अन्य फ्रान्स, नेदरल्यान्ड र ब्रिटिस नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । हालसम्ममा १० पर्यटकको उद्धार भइसकेको छ भने अन्य १२ जनालाई पनि उद्धार गरी गन्तव्यसम्म पु¥याइने अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।