नेपाल आइपुग्यो चीनले दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर
काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको जहाज मार्फत उक्त स्वास्थ्य सामग्री मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उक्त सामग्री लिन सोमवार राती नेपाल एअरलाइन्सको वाइडबडी जहाज बेइजिङ गएको थियो । जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । विमानस्थलमा नै चीन सरकारले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।
हिमाल आरोहणको अनुमति दिएर सरकारले साढे ७१ करोड रुपैयाँ कमायो, चार हिमालको सफल आरोहण
काठमाडौं । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत साढे ७१ करोड रुपैयाँ कमाएको छ । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै सरकारले पर्यटकहरुबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको हो । हिमाल आरोहणका लागि विभागले सगरमाथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिइसकेको छ । ती आरोहीबाट नै सरकारले साे रकम संकलन गरेकाे हाे । पर्यटन विभागले यस सिजनको हिमाल आरोहण अन्तर्गत सगरमाथा आरोहणका लागि ४४ समूहका ४०८ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । जसमा ३ सय १५ पुरुष र ९२ जना महिला रहेका छन् । कोरोना महामारीकोबीच यस वर्षको हिमाल आरोहण सुरु भएको छ । काठमाडौं उपत्यका सहित देशका अधिकाशं जिल्लामा निषेधाज्ञाकै बीच यस वर्षको हिमाल आरोहण अन्तर्गत मंगलबार बिहानसम्म चार हिमालको सफल आरोहण भएको छ । पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा, ल्होत्से, धौलागीरि र पुमरी हिमालको सफल आरोहण भएको हो । यस वर्षको पहिलो हिमाल आरोहण अन्तर्गत गत बैशाख ३ गते ८ हजार १६७ मिटर उचाईमा रहेको धौलागिरि हिमालको सफल आरोहण भएपछि पछिल्लो समय विभिन्न हिमालको आरोहण भइरहेको छ । बहराइनको टोली सगरमाथामा यस सिजनको हिमाल आरोहण अन्तर्गत बैशाख २४ गते रोप फिक्सिङ सम्पन्न भएको सगरमाथाको आरोहण सुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेपछि व्यावसायिक आरोहण सुरु भएको हो । यस वर्षको सगरमाथा आरोहण बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् । ल्होत्सेमा रोप फिक्सिङ सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ । आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएका ६ सदस्य आरोहीले सोमबार साँझ ६ः४५ मा ल्होत्से चुचुरामा पुगेसगैँ आरोहण सुरु भएको हो । रोप फिक्सिङ टोलीमा संखुवासभा मकालु १ का तेन्जिङ शेर्पा, मकालु २ का फुर्तेन्जी शेर्पा र फुर्वा कुसाङ शेर्पा छन् । त्यसैगरी सोलुखुम्बु थामेका ङिमाटासी शेर्पा, फुर्वा छिरिङ शेर्पा र फोर्चेका तेन्जिङ ग्याल्जेन शेर्पा रहेका थिए । विभागका निर्देशक मीरा आचार्यले बसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताइन् । उनका अनुसार विभागबाट ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी एकसय २५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । त्यसैगरी, पुमरी (७,१६१ मिटर) हिमालको सफल आरोहण भएको छ । चार नेपाली र दुई भारतीयले सोमबार अपराह्न हिमाल आरोहण गरेसगैँ पुमरी हिमालको सफल रुपमा आरोहण भएको हो । विभागबाट पुमरी आरोहणका लागि नौ आरोहीले आरोहण अनुमति लिएका थिए ।
खप्तड जोड्ने सडकमा कालोपत्र सुरु, ४० करोडमा ठेक्का सम्झौता
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरीले बताए । उनले भने, ‘सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम सुरु भएको छ, बाँकी काम पनि चाँडै सुरु हुनेछ ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताए । उनले भने, ‘खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।’ विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।’ कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम सुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ । रासस