काठमाडौं । नियमित रुपमा हुदैँ आएको आन्तरिक तथा अन्तराष्टिय उडानमा प्रतिबन्ध लगाएपनि चार्टर्ड, उद्धार तथा कार्गाे उडानहरु भइरहेका छन् ।
सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नियमित उडानमा प्रतिबन्ध लगाए पनि विदेशी नागरिकको उद्धारका लागि चार्टर्ड तथा कार्गाे उडानहरु नियमित रुपमा हुँदै आएका छन् ।
नियमित रुपमा हुने उडानहरु बन्द भएपछि चार्टर्ड तथा उद्धार उडानमा तीन गुणासम्म बढी भाडा लिएको पाईएको छ । तीन महिना अगाडी २६ देखि २७ हजार रुपैयाँसम्ममा साउदी उडान हुँदै आएकोमा चार्टर्ड उडानमा ९५ हजारसम्म भाडा लिएको पाईएको छ ।
चार्टर्ड उडानमा एकतर्फी रुपमा खाली उडान गर्नुपर्ने भन्दैे वायुसेवा कम्पनीहरुले नियमति भन्दा भाडा महङगो भएको बताउँदै आएका छन् ।
हिमालयले भन्यो- बढी भाडा लिएको छैन
नेपाल–चीन संयुक्त लगानीमा निजी क्षेत्रद्वारा सञ्चालित हिमालय एयरलाइन्सले निषेधाज्ञाका समयमा गरिएको चार्टर्ड उडानमा बढी भाडा नलिएको जनाएको छ ।
कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतीय यात्रुका लागि साउदी अरेबिया उडानमा बढी भाडा नलिएको जनाएको हो । पर्यटन मन्त्रालयबाट सातामा तीन उडानको अनुमति पाएको भन्दै बजारमा हल्ला भएजस्तो बढी भाडा नलिएको स्पष्ट पारेको छ ।
कम्पनीले एयरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रिब्यसन सिस्टम) मार्फत यात्रीहरुलाई अत्यन्त सहज होस् र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस भनी अन्तराष्ट्रिय हवाइ उद्योग संघ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्राभल एजेन्सीले टिकट बिक्री गर्न सकिने तथा यात्रीहरुले आफूलाई अनुकूल हुने ट्राभल एजेन्सीसँग टिकट किन्न सकिने बन्दोबस्त गरिएको कम्पनीको भनाइ छ ।
वर्तमान महामारीमा एकै स्थानमा टिकट बिक्री गर्दा कोभिड सर्ने अत्यन्त जोखिम हुने हुँदा पनि सो प्रणालीमार्फत टिकट बिक्री गर्नु अनिवार्य रहेको कम्पनीको दाबी छ ।
उक्त उडानहरुले एकतर्फी यात्री बोक्नुपर्ने अर्थात् फर्किँदा विमान खाली ल्याउनुपर्ने भएकोले ती उडानमा नियमित उडानभन्दा अनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहेको कम्पनीले दाबी गरेको छ ।
मन्त्रालय भन्छ अनियमितताको जानकारी भए उजुरी गर्नुस
चार्टर्ड उडानमा ट्राभल्स एजेन्सीहरुले बढी भाडा लिएको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अनियमितता भएको जानकारी भएमा उजुरी गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बुधबार विज्ञप्ती जारी गरि अनियमिततको शंका लागेमा उजुरी गर्न आहृवान गरेका हुन ।
सरकारले नेपालमा पर्वतारोहण, पर्यटन, कूटनीतिक प्रयोजनका लागि नेपाल आएका विदेशीलाई स्वदेश फर्काउन चार्टर्ड उडानको अनुमति दिएको भन्दै मन्त्रालयले ती उडानमा अनियमितताको जानकारी भए मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका उजुरी गर्न आहृवान समेत गरेको छ ।
बढी भाडाको विषयमा दुतावासको चासो
साउदी चार्टर्ड उडानमा बढी भाडा लिएको भन्दै नेपालस्थित भारतीय दुतावासले पर्यटन मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो ।
दुतावासले मन्त्रालय र नेपार टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लाई पत्र पठाउँदै बढी भाडा लिने एजेन्सीमाथि हस्तक्षप गर्न अनुरोध गरेको थियो ।
साउदी जान नेपाल आएको २ हजारभन्दा बढी भारतीयहरु नियमित उडान बन्द भएपछि नेपालमा रोकिएका थिए । नेपालमा रोकिएका उनीहरुलाई चार्टर्ड उडान मार्फत साउदी जान सरकारले अनुमति दिइसकेको छ । जसअनुसार मंगलबार मात्र ५ वटा उडान मार्फत करिब ९ सय भारतीयहरु साउदी पुगिसकेका छन् ।
उक्त उडानमा बढी भाडा भएको भारतीयको गुनासोका आधारमा दुतावासले मन्त्रालयलाई पत्र पठाएको हो । दुतावासको पत्र पाएपछि मन्त्रालयले बुधबार चार्टर्ड उडानमा अनियमितता भएमा उजुरी गर्न आग्रह गरेको हो ।