निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

काठमाडौं । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नेपाल नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँबाट उद्धार उडान भएको शर्माले जानकारी दिए । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए । कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ । बाहिरी जिल्लाबाट ल्याइने सङ्क्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुर्याउने गरिन्छ । रासस

आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत

काठमाडौं । सरकारले आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत गरेको छ । यसअघि नियमित रुपमा हुने आन्तरिक उडान बैशाख मसान्तभरका लागि स्थगीत गरिएको उडान अनिश्चितकालका लागि स्थगीत भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले (क्यान) ले अर्काे सूचना जारी नहुँदा सम्मका लागि उडान स्थगीत भएको जनाएको छ । वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द भएको थियो । नियमित उडान बन्द भएपछि उद्धार, चार्टर्ड लगायतका उडानहरुका लागि विशेष अनुमति दिदैँ आएको छ । यस्तै, वैशाख २३ गतेदेखि बन्द भएको अन्तराष्ट्रिय उडान भने जेठ १७ गतेसम्मका लागि स्थगीत भएको छ । अन्य गन्तव्यको उडान स्थगीत भएपनि एयर बबल अवधारण अन्तरगत भारतमा भने सातामा २ उडान हुँदै आएको छ ।

कोरोना अवधिभर होटल व्यवसायीको कर मिनाहा

काठमाडौं । धुलिखेल नगरपालिकाले कोभिड-१९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड-१९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाहा गरेको थियो । बिहीबार धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई व्यवसाय कर छुट दिन लागेका बताए । उनले होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिएको भन्दै उनले आफुहरुले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताए । धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरु सञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरुको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।