भारतीय नागरिक लैजान चार्टर्ड उडान, नेपालीका लागि छैन कुनै योजना

<p>काठमाडौं । गत बैशाख २३ गतेदेखि भारत लगायतका देशमा हुने अन्तराष्ट्रिय उडान बन्दको मारमा नेपाली श्रमिक परेका छन् । सरकारले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै नियमित उडान बन्द गर्दा वैदेशिक रोजगारीको तयारीमा रहेका तथा स्वदेश फर्कने तयारीमा रहेका श्रमिकहरु समस्यामा परेका हुन् । निषेधाज्ञा सगैँ भिसा आएर टिकट काटेका नेपाली श्रमिकहरु अलपत्रमा परेका छन भने सरकारसँग उनीहरुलाई [&hellip;]</p>

काठमाडौं । गत बैशाख २३ गतेदेखि भारत लगायतका देशमा हुने अन्तराष्ट्रिय उडान बन्दको मारमा नेपाली श्रमिक परेका छन् ।

सरकारले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै नियमित उडान बन्द गर्दा वैदेशिक रोजगारीको तयारीमा रहेका तथा स्वदेश फर्कने तयारीमा रहेका श्रमिकहरु समस्यामा परेका हुन् ।

निषेधाज्ञा सगैँ भिसा आएर टिकट काटेका नेपाली श्रमिकहरु अलपत्रमा परेका छन भने सरकारसँग उनीहरुलाई रोजगारीमा पठाउँने कुनै योजना छैन । भारतीय नागरिकलाई चार्टर्ड उडान मार्फत साउदी पठाउन अनुमति दिएको सरकारले नेपाली श्रमिकलाई वेवास्ता गरेको पाईएको छ ।

साउदीको रियाद र दमामका लागि सातामा १० उडानको अनुमित दिएको छ । जसअनुसार मंगलबार ५ वटा उडान भएका थिए भने बुधबार एक उडान हुँदैछ ।

भारतमा कोरोनाको दोस्रो भेरियन्ट फैलीएको भन्दै करिब डेढ महिना अगाडीदेखि साउदी सरकारले भारत उडानमा रोक लगाएको थियो । भारतमा उडान बन्द भएपछि नेपाललाई ट्रान्जिट हव बनाएका भारतीयहरु चार्टर्ड उडान मार्फत साउदी जाने भएका छन् ।

नेपालीका लागि छैन योजना

नेपालमा रोकिएका भारतीय नागरिकका लागि चार्टर्ड उडानको अनुमति दिईएपनि नेपालीका लागि कुनै योजना बनाईएको छैन । भारतीय दुतावास र परराष्ट्र मन्त्रालयको निर्देशनका आधारमा पर्यटन मन्त्रालयले उडान अनुमति दिने निर्णय गर्दा नेपाली श्रमिकका लागि कुनै निर्णय भएको छैन ।

सरकार तथा म्यानपावर व्यवसायी संघको वेवास्ताका कारण नेपालीको श्रम गन्तव्य जोखिममा परेको छ । लामो समयसम्म भिसा पाएका नेपाली श्रमिक गन्तव्यमा जान नसके रोजगारदता कम्पनीले विकल्पका रुपमा अन्य देशका श्रमिक ल्याउन सक्ने म्यानपावर व्यवसायी रोहज गुरुङ बताउँछन् ।

म्यानपावर व्यवयासी संघका पूर्वअध्यक्ष समेत रहेका गुरुङ सरकार र व्यवसायीको वेवास्ताका कारण नेपाली श्रमिकले दुख पाएको बताउँछन् । अन्य देशले विदेशमा रोकिएका नागरिकलाई उद्धार गरीरहेको छ, हामी अरु देशका नागरिकलाई चार्टर्ड उडानको अनुमति दिन्छौँ, हाम्रा नागरिकको विषयमा खै सोचेको, उनले भने ।

साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवतजावत गर्न अनुमति दिइरहेको छ । यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान थालेका हुन् ।

भारतीय श्रमिकलाई नेपालको भूभाग हुँदै वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको निर्णयप्रति वैदेशिक रोजगार व्यवसायीहरुले आपत्ती जनाएका छन् । संघका महासचिव सुजित कुमार श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल (फेसबुकमा) एक पोष्ट गर्दै सरकारले विभेद गरेको बताएका छन् ।

‘नेपाल सरकारले कोरोना महामारीका कारण वैदेशिक रोजगारीका गन्तब्यमा अन्तर्राष्ट्रिय उडान ३१ मेसम्म बन्द गरेको छ । जसकारण वैदेशिक रोजगारीका लागि उड्न लागेका हजारौं नेपाली श्रमिक साउदी अरेबिया जान पाएनन् । तर, सरकारले भारतीय दूतावासको दबाबमा भारतीय श्रमिकलाई विशेष दर्जा दिँदै नेपालको विमानस्थल प्रयोग गरेर सातामा १० वटा उडान पठाएको छ । सरकारको अनुचित निर्णयको म घोर निन्दा गर्छु’, उनले लेखेका छन् ।

भारतदीय दुतावासको आग्रहपछि नेपालमा रोकिएका २ हजारभन्दा बढी भारतीय नागरिलाई चार्टर्ड उडान मार्फत साउदीको दमाम र रियाद विमानस्थलमा लगिने भएको छ ।

Share News