काठमाडौं । सन् २०२६ को मार्च १ देखि अप्रिल ३० सम्ममा हिमाल आरोहीबाट १ अर्ब १६ करोड ९१ लाख ४४ हजार रुपैयाँ बराबरको रोयल्टी जम्मा भएको छ । २९ हिमालमा आरोहण अनुमति लिएका आरोहीबाट सो रकम संकलन भएको हो ।
विभागका अनुसार १ हजार ५० जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् । जसमा १२५ समूहबाट ७९४ पुरुष र २५६ महिला छन् । पछिल्लो समय सगरमाथा आरोहण गर्ने आरोहीको संख्या बढ्दै गएपछि रोयल्टी रकम पनि बढ्दै गएको छ ।
सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब १ करोड २८ लाख २३ हजार रुपैयाँ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि ४७ आरोही समूहबाट ४६४ जना त्यसतर्फ गएका छन् । जसमध्ये ३६४ जना पुरुष र एक सय जना जना महिला छन् ।
ल्हाेत्से हिमालबाट ४ करोड ९७ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । उक्त हिमालमा ९ आरोही समूहबाट १११ जनाले अनुमति पाएका छन् । जसमा ७८ जना पुरुष र ३३ जना महिला छन् । मकालु हिमालबाट २ करोड ७२ लाख ३९ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । उक्त हिमालमा आरोहणको लागि १० आरोही समूहबाट ६२ जनाले अनुमति लिएका छन् । जसमा ४४ पुरुष र १८ महिला छन् ।
कञ्चनजंघा हिमालबाट १ करोड ६० लाख रुपैयाँ संकलन भएकाे छ । उक्त हिमालमा आरोहणको लागि ४ समूहबाट ३६ जनाले अनुमति पाएका छन् ।
धौलागिरी हिमालबाट १ करोड ३४ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । धौलागिरी हिमाल आरोहणको लागि ४ आरोही समूहबाट ३० जनाले अनुमति पाएका छन् । जसमा १८ पुरुष र १२ जना महिला छन् ।
त्यस्तै आमदवलामबाट १ करोड ३७ लाख रुपैयाँ, अन्नपूर्ण हिमालबाट १ करोड २० लाख रुपैयाँ, अन्नपूर्ण (आईभी) बाट १९ लाख १८ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।
अन्य हिमालहरूमा चुलु फार इस्टबाट ६ लाख २१ हजार रुपैयाँ, सारीबुङबाट ९ लाख ३५ हजार रुपैयाँ, थ्रोङ पिकबाट ७ लाख २७ हजार रुपैयाँ, नुप्से हिमालबाट ७७ लाख ६३ हजार रुपैयाँ, हिमलुङ हिमालबाट ३ लाख ७२ हजार रुपैयाँ, मनास्लु हिमालबाट ४ लाख ५४ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।