विज एयरले पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
काठमाडौं । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरी बेस रहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ । गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन् । यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ । विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ । सञ्चालन लागत हुने दाबी गरिएकाले यसलाई अल्ट्रा लो कस्ट जहाजसमेत भनेर चिनिएको छ । त्यसैकारण यो जहाजमा बिजनेस क्लास समावेश नगरिएको बताइएको छ । विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताए । उनले भने, ‘हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन हो, धार्मिक पर्यटन प्रवद्र्धनलाई लक्षित गरी सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ ।’
निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई
काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपुराज ज्वारचनले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई दिएका हुन । गत कात्तिकमा मन्त्री आलेकाे सिफारिसमा निगमकाे कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो । कार्यकारी अध्यक्ष निलम्बनमा परेसँगै मन्त्री आलेले महाप्रबन्धकको जिम्मोवारी ज्वारचनलाई दिएको हो । बिहीबार महानिर्देशकको थप जिम्मेवारी प्राप्त भएको उनले बताए । ज्वारचन यसअघि निगमको अपरेशन विभाग प्रमुखका रहेका थिए भने उनी एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट समेत हुन । उनी विगत १३ वर्षदेखि निगमका कार्यरत रहेका छन् ।
‘आइएमई पे’बाट प्लेन टिकट काट्दा क्यासब्याक र ३०० रुपैयाँसम्मको बोनस पाइने
काठमाडौं । ‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक अत्याधिक क्यासब्याक र ३०० रुपैयाँसम्मकाे बाेनस अफर ल्याएकाे हाे । याे अफर मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजे देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्नेले पाउने कम्पनीले जनाएकाे छ । असार ७ गते (मंगलबार) देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।