आलेले नियुक्त गरेका अधिकारी ८ महिनामै निलम्बित

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको सिफारिसमा गत कात्तिकमा सरकारले उनलाई आगामी ४ वर्षका लागि निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । मन्त्री आलेकै सिफारिसमा नियुक्त भएका अधिकारी आलेकै सिफारिसमा निलम्बित भएका हुन । अधिकारीको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानि नोक्सानी हुने देखिएकोले उनी निगमको कार्यकारी अध्यक्षमा रहन योग्य नदेखिएको, अधिकारीलाई निगममा राखिरहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानि नोक्सानी हुने साथै कर्मचारीको मनोबल गिर्न गइ निगमलाई प्रतिकूल असर पर्ने देखिएको भन्दै निलम्बन गरिएको जनाईएको छ । केही दिन अघि मात्र आफूले सिफारिस गरको व्यक्तिलाई निगममा नराखेको भन्दै मन्त्री आलेले कार्यकक्षमै बोलाएर अधिकारीलाई दुव्र्यवहार गरेका थिए ।

एनएमबि बैंकका ग्राहकलाई अन्नपुर्ण केबलकारमा छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । बैंक र केबलकारबीच सोमबार यसबारे सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

साढे ८ सयसम्म बढ्यो हवाई भाडा, कुन रुटको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो । यसअघि उडान हुने गन्तव्यमा १७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढेको छ । भाडा बढेसँगै अब काठमाडौं–धनगढीको भाडादर १६ हजार ८०५ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै भाडानै उक्त रुटको हो । संघले बढेको नयाँ भाडादर बुधबारदेखि लागु हुने जनाएको छ । आईतबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १९ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको हो । संघले अन्तर्राष्ट्रिय विमानस्थलको ५ सय रुपैयाँ र अन्य विमानस्थलमा ३ सयदेखि ४ सय रुपैयाँसम्म एयरपोट शुल्क (ट्याक्स) कायम गर्ने निर्णय गरेको छ । यस्तै, सोमबारदेखि लागु हुने गरी सार्वजनिक सवारीको समेत भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ट.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो । यस्ताे छ नयाँ मूल्य सूची :