फेरी बढ्यो हवाइ भाडा, यस्तो छ नयाँ मूल्य
काठमाडाैं । हवाइ भाडाकाे मूल्य बढेकाे छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ५ ले बढाएसँगै हवाई भाडा पनि बढेको हाे । वायुसेवा सञ्चालक संघले बिहिबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको जनाएकाे छ । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक २२० रुपैयाँ भाडा बढेको हो । यस्तै अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १७० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १४ हजार ८९० रुपैयाँ पुगेको छ । काठमाडौं–भद्रपुर १५०, काठमाडौं– विराटनगर १२५, काठमाडौं–जनकपुर ६५, काठमाडौं–भरतपुर ५५, काठमाडौं–पोखरा ८०, काठमाडौं–भैरहवा १००, काठमाडौं–नेपालगञ्ज १६५, काठमाडौं–तुम्लिङटार ९५ र काठमाडौं–सिमरा रुटमा ४५ रुपैयाँ भाडा बढेको छ ।
यती एअरलाइन्सका जहाजमा ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’
काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ । आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यतीले मनोरञ्जन सेवा सुरु गर्न लागिएको जनाएको हो । यती एयरका प्रवक्ता सुदर्शन बर्ताेला अब हरेक यात्रुले मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउने बताउँछन् । ‘इन्फ्लाइट मनोरञ्जनका लागि बायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ, हामी विश्वस्त छौं, यती एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ’, उनले भने । उक्त सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु रहेको कम्पनीले जनाएको छ । कम्पनीले छिट्टै इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्न आवश्यक तयारी तथा परीक्षण भैरहेको जनाएको छ ।
हात्ती वनभोजका लागि खर्च भएको रकम भुक्तानी नगर्न निर्देशन
काठमाडाैं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उनले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने स्पष्ट पारे । पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब ७० हात्तीलाई वनभोजका रुपमा केरा, चना, भुइँकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाइएको थियो । प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा हात्ती वनभोज कार्यक्रम गरिएको हो । चितवनको सौराहास्थित प्रदेश पर्यटन कार्यालय अवलोकन गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले हात्ती वनभोज कार्यक्रको पनि शुभारम्भ गरेका थिए । उनले सफारी पर्यटनको विकासमा प्रदेश सरकारले उपस्थिति जनाउने भनेको उक्त कार्यक्रममा केही विरोधी समूहले नकारात्मक हल्ला फैलाएकाले हाललाई उक्त शीर्षकमा बजेट नदिन मन्त्रालयलाई निर्देशन दिएको बताए । उनले चितवनको पर्यटन विकासको लागि बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानोपी वाक ब्रिज निर्माणको लागि प्रदेश सरकारले दुई करोड विनियोजन गरेको जानकारी दिए । चितवनको पर्यटन प्रवद्र्धधनका लागि हात्तीलाई खाना खुवाउन प्रदेश सरकारले पनि रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो तर स्थानीय केही व्यक्ति र समूहले प्रदेश सरकारले गरेको प्रतिबद्धतालाई विवादमा तान्न खोजेपछि पर्यटनमन्त्री श्रेष्ठ उक्त प्रतिबद्धताबाट पछाडि हटेको बताइएको छ । पर्यटन सचिव मदन कोइरालाले हात्ती वनभोजमा मन्त्रालयले भुक्तानी नदिने स्पष्ट पार्नुभयो । सौरहाको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि हात्ती वनभोज कार्यक्रम मन्त्री श्रेष्ठ प्रदेशको उपस्थिति देखाउने तयारीमा रहेको मन्त्रालयले जनाएको छ । यो कार्यक्रममा प्रदेश सरकारले पनि वार्षिक सहयोग गर्नुपर्ने पक्षमा रहेका मन्त्री श्रेष्ठ प्रतिबद्धतामै राजनीति हुन थालेपछि पछि हटेकाे जनाइएको छ । स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीको सहभागितामा भएको हात्ती वनभोज कार्यक्रमको सौराहाका व्यवसायीले विरोध गरेका थिए । क्षेत्रीय होटल सङ्घ चितवन, रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एशोसिएशन र साना पर्यटन व्यवसायी समूहले हात्ती वनभोजको विरोध गरेका हुन् । उनीहरुले पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरिएको बजेट दुरुपयोग गर्ने नियतले सङ्घसंस्थासँग सहकार्य नगरी हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको आरोप लगाएका छन् । यही असार १६ गते ‘पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामक संस्थाले सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो । यसैबीच विवाद बढेपछि वनभोजको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताएको थियो । समितिका अनुसार वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन एक लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा पाँच हजार र हात्तीसारेलाई कुची बनाएबापत ज्याला १० हजार खर्च भएको छ ।