धनगढी । अब कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलबाट पनि उडान हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शनिबार आयोजित एक कार्यक्रमबीच सो बताएका हुन् ।
यससँगै अब सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको उनले बताए ।
‘जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहीबाट पहिलो उडान भर्नुपर्ने नियम लागू गराएको छु, अब धनगढीबाटै पहिलो उडान हुने छ, जहाज आउने नआउनेबारे काठमाडौंमा सोध्नु पर्दैन,’ उनले भने ।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणको शनिबार शिलान्यास गर्दै उनले सुदूरपश्चिमका यात्रुले प्लेन आउने-नआउने विषयमा काठमाडौंबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन् ।
साथै, यही असार १३ गतेबाट लागू हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीले आफ्नो पहिलो उडान भर्नुपर्ने निर्णय लागू भएको उनले जानकारी गराए ।
मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नतिसहित क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि शुभारम्भ भएको जानकारी गराए । ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट एक अर्ब रुपैयाँ बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्नसमेत निर्माण व्यवसायीलाई उनले आग्रह गरे । रासस