बाँकेमा आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’, वार्षिक एक करोडभन्दा बढी आम्दानी
राँझा । बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उनका परिवारको दिन बित्ने गरेको छ । ‘होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ’, घरबास सञ्चालक रानाले भने, ‘घरका सबै परिवारलाई काम पुग्ने गरेको छ, अलिअलि कमाइ पनि हुन थालेको छ ।’ रानाको परिवार जस्तै अहिले जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका घरबास स्वरोजगारीसँगै आयआर्जनका माध्यम बनेको छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । आफ्नो ठाउँ, परिवेश र माटो सुहाउँदो र आफ्नै मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । उनका अनुसार पहिलो होमस्टे सञ्चालन गर्दै आएका परिवार स्वरोजगार हुनाका साथै गाउँमा रोजगार पनि सिर्जना भएको छ । गाउँमा उत्पादन हुने स्थानीय जातका मासु र दुधसँग सम्बन्धित पदार्थको खपत पनि गाउँमै हुन थालेकाले गाउँका युवाले पनि गाउँमै काम पाउने वातावरण सिर्जना भएको छ । काम गर्न चाहने युवा गाउँमै रोजगारमा सम्लग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोडभन्दा बढी आम्दानी हुने गरेको महसचिव चौधरीको भनाइ थियो । ‘हामीले केबल जीविकोपार्जनमा मात्रै नभई आयआर्जन, संस्कृति प्रवद्र्धन, प्रकृति संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौँ’, खड्कवार नमूना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भने, ‘गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचालीमा परिवर्तन हुनाका साथै रहनसहनदेखि आर्थिक स्रोतमा पनि उल्लेख्य वृद्धि भएको छ ।’ बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको खड्कवारमा ‘संस्कृति र प्रकृति’ को संरक्षण, सम्वद्र्धन र विकासका लागि घरबासले अभियान सञ्चालन गरेको उहाँको भनाइ थियो । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । थारु, जनजाति, बाहुन र क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाँच देखाइने गरिएको अध्यक्ष रानाले बताए । स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मासु मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका सामुदायिक होमस्टेमा आन्तरिक पाहुनाको चहलपहल बढ्दो छ । यहाँ लगानीसँगै होमस्टे र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको महासचिव चौधरीले बताए । उनका अनुसार गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रका रुपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब एक करोडको लगानीमा गणेश चौधरीले सुविधा सम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याएका छन् । घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधा सम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । विसं २०७० मा सुरु भएको बाँकेको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जनका लागि मात्रै नभई आयआर्जनका माध्यम बनेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताए ।
अर्बौ रुपैयाँ फसेपछि बैंकले राख्यो फूलबारी रिसोर्ट लिलामीमा, अर्बौंको सम्पत्तिमा ठूला व्यवसायी भिड्दै
काठमाडौं । पर्यटन व्यवसायीहरुले गर्वका साथ नाम लिने पर्यटन पूर्वाधार हो पोखराको फूलबारी रिसोर्ट । तर ३० वर्षको यात्रामा यो प्रोजेक्ट फेल भएको छ । २०४६ सालको उदारिकरणपछि नेपालको पर्यटन क्षेत्रमा बनेको पहिलो र ठूलो पर्यटन पूर्वाधार हो फूलवारी रिसोर्ट । १३८ रोपनी क्षेत्रफलमा बनेको यो परियोजना अन्तत असफल भएको छ । दी फूलबारी लिमिटेडले कर्जा तिर्न नसकेपछि नेपाल बैंकले होटलको सबै पूर्वाधार लिलामीमा निकालेको छ । यस रिसोर्टले २०५५ सालमा बैंकबाट १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएको थियो । २० वर्ष अघिदेखि होटलले व्याज तथा किस्ता बैंकलाई बुझाएको छैन । ‘२०७६ कात्तिकमा हामीले कर्जा पुर्नसंरचना गरेर ३ अर्ब ४५ करोड रुपैयाँ बनाएका थियौं । त्यसपछि पनि फूलबारीले रकम बुझाएन’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने–‘पुर्नसंरचना भएपछि पनि ऋणिले पैसा बैंकलाई तिरेको छैन । हामी २०५९ सालदेखिकै हिसावमा फर्कन सक्छौं । त्यसअवस्थामा बैंकले ऋणिसँग लिनु पर्ने साँवा, व्याज, हर्जना हिसाव गर्दा २० अर्ब हुन सक्छ ।’ फूलबारी रिसोर्टमा नेपाल बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी संचय कोषले फूलबारी रिर्सोटमा २०५५ सालमा १३१ करोड रुपैयाँ कर्जा लगानी गरेको थिए । होटल पूर्ण रुपमा बनेर सञ्चालन भए लगत्तै नेपालमा माओवादी सशस्त्र द्वन्द्वले उग्र रुप लिएको थियो । द्वन्द्वको बेलामा विदेशी पर्यटकको आगमन नाजुक भएपछि यो होटल आर्थिक संकटमा परेको थियो । राजनीतिक अस्थिरता, भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगायतको कारण नेपालको पर्यटन व्यवसायमा पटक पटक प्रतिकूल असर पर्दा फूलबारी रिसोर्ट कहिल्यै नाफामा आउन सकेको थिएन । बैंकले पटक पटक कर्जा पुर्नसंरचना गर्दै ऋणिलाई सहजीकरण गरेपनि फूलबारी रिसोर्टले आफ्नो वित्तीय व्यवस्थापन गर्न नसकेको र पटक पटक गरिएको समझदारी पनि पालना नभएपछि होटलको चल अचल सम्पत्ति सबै बिक्रीमा राखिएको बैंकले जनाएको छ । अमात्य ग्रुपले लगानी गरेको यस होटलको मूल्य लगानीकर्ता पिउस बहादुर अमात्य हुन् । यो ग्रुपले विगत दुई दशकदेखि आर्थिक संकट झेल्दै आएको छ । १३८ रोपनी जग्गा, त्यसमा बनेको सूविधा सम्पन्न होटल, मेसिनहरु, त्यसभित्रका सबै चल सम्पत्तिको मूल्य अर्बौमा भएकोले यसमा ठूला व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । बैंकले आगामी साउन ५ गतेसम्म कति मूल्यमा किन्न तयार हुने हो सो खुलाई आवेदन माग गरेको छ । (असार ४ गते कर्जा रकम अपडेट गरिएकाे)
बिक्री भएको ३७ वर्षपछि कमलपोखरी सार्वजनिक नै कायम
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष पुरानो धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको कमलपोखरी अर्थात् पलिस्वाँ पुखुः ३७ वर्षपछि पुनः सार्वजनिक नै हुने अदालतको फैसलापछि मध्यरातिसम्म बोडेवासीले बाजागाजासहित खुसीयाली मनाएर बोडे परिक्रमा गरेका छन् । यही असार १ गते अपराह्न उच्च अदालत पाटनले कमलपोखरीको मुद्दाको अन्तिम किनारा लगाउँदै उक्त पोखरी सार्वजनिक नै रहेको फैसला गरेको थियो । मध्यपुरथिमि नगरपालिकाका पूर्वनगरप्रमुख मदनसुन्दर श्रेष्ठले उच्च अदालत पाटनका न्यायाधीशद्धय राजेन्द्र खरेल र रमेश ढकालको संयुक्त इजलालसले भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्दै कमलपोखरी सार्वजनिक रहेको फैसला गरेकाे जानकारी दिनए । उनले भने, ‘कमलपोखरी बिक्री भएपछि बोडेका बासिन्दाले पोखरी जोगाउन संरक्षण समिति बनाएर अभियान नै चाल्नुभयो, भक्तपुर जिल्ला अदालतले विसं २०७५ असार १९ गते पोखरी सार्वजनिक भएको फैसला गर्दै संरक्षणलाई आदेश दिएपछि नगरपालिकाले तत्कालै ७५ लाखको बजेट विनियोजन गरेर संरक्षण अभियान थाल्याैँ, आज फेरि जनताको पक्षमा फैसला आउँदा हामी खुसी भएका छौँ ।’ पाटन उच्च अदालतको प्रत्येक पेशीमा बोडेका युवा, महिला, ज्येष्ठ नागरिक, जनप्रतिनिधिदेखि यहाँका बासिन्दाले अदालत परिसर क्षेत्रमा पोखरी सार्वजनिकरूपमा फर्काउन माग गर्दै हातहातमा प्लेकार्ड बोकेर धर्ना दिएका थिए । अदालतको फैसला आउनेबित्तिकै धर्नामा बसेका स्थानीयवासीमा खुसीयाली छाएको स्थानीयवासी एवं शिक्षासेवी वीरेन्द्र जयनाले बताए । उनले भने, ‘अदालतको फैसलाले जनताको जित भएको छ, यो फैसलाले सिङ्गो बोडेवासी र मध्यपुरवासीमा खुसी छाएको छ, सेतै कपाल फुलेका ज्येष्ठ नागरिकदेखि महिला, युवा, नेतासमेतले घाम पानी नभनी पोखरी फर्काउन लागि पर्नुभएको थियो, यो फैसलाले सार्वजनिक सम्पत्तिमा आँखा लगाउने भूमाफियालाई सचेत गराएको छ, जनताको पक्षमा फैसला आएको छ ।’ जनताको पक्षमा फैसला आउने आशामा अदालत परिसरदेखि राति बोडेमा भएको ¥यालीमा समेत पूर्वनगरप्रमुख श्रेष्ठ, वर्तमान नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, ८ नं वडाध्यक्ष रमेश थापा श्रेष्ठ, कमलपोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधर, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को १५ रोपनी नौ आना सार्वजनिक पोखरी विसं २०४२ असार ३१ गते पोखरीको रेखदेख गर्ने कान्छी पोडेनीको नाममा दर्ता भई विसं २०५१ माघ २२ गते अधिकृत वारेसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौ| ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको थियो । त्यसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको थियो । स्थानीयले गणेशमान चक्रधरको संयोजकत्वमा ऐतिहासिक कमलपोखरी (पलिस्वाँ पुखुः) संरक्षण समिति नै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै मुद्धा दायर गरेका थिए । त्यसपछि जिल्ला अदालत भक्तपुरले विसं २०७५ असार १९ गते मङ्गलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको उक्त मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला सुनाउँदै पोखरीको संरक्षण गर्न आदेश जारी गरेको थियो । जग्गा खरिद गर्ने पक्षले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटन मुद्दा दर्ता गराएका थिए । अवैधरूपमा दर्ता तथा किनबेच गरी पोखरी पुरेर जग्गा टुक्र्याउन डोजर आएपछि मात्रै पोखरी बिक्री भएको स्थानीयवासीले चाल पाएका थिए । मध्यपुरथिमि नगरपालिकाले दुई वर्ष लगाएर कमलपोखरी संरक्षण अभियान चलाउँदै पोखरी सफा गर्ने, पोखरीमा पानी भर्ने वरिपरि ढुङ्गाको पर्खाल निर्माण गर्दै पोखरीको वरिपरि दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक र ऐतिहासिक शैलीमा पुनःनिर्माण गरी बार लगाइएको छ । पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ । पोखरीमा पाँच लाखको लागतमा दुई डुङ्गा सञ्चालनमा ल्याइएको, दुई हजार माछाका भुरा छाडेको र पोखरीमा रोपिएको कमलको बिरुवाबाट अहिले फूल फुल्न थालेको छ । पोखरीमा अहिले आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गर्न पाएको श्रेष्ठले बताए । उच्च अदालतको फैसलामा खुसीयाली मनाउँदै हिजो साँझदेखि रातिसम्म बोडेमा बाजागाजासहित ¥याली प्रदर्शन गरिएको बोडे युवा क्लबका दीलकृष्ण प्रजापतिले जानकारी दिए । उनले वर्तमान र पूर्वजनप्रतिनिधि, स्थानीयवासीले धिमेबाजा बजाएर बोडे र यहाँको कमलपोखरी परिक्रमा गरी खुसीयाली मनाएको बताए । रासस