नेपालमा पहिलो पटक भित्रिँदै विश्वप्रसिद्ध ‘जेडब्ल्यू म्यारियट’, २०३१ सम्म सञ्चालनमा आउने

काठमाडौं । नेपालको लक्जरी हस्पिटालिटी क्षेत्रमा एउटा नयाँ आयाम थपिने भएको छ । एमएस ग्रुप अन्तर्गतको कम्पनी क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेसनलबीच नेपालमा पहिलो पटक ‘जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्याली’ सञ्चालन गर्ने गरी होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको हो ।

यो सम्झौता दुई प्रतिष्ठित कम्पनीबीचको चौथो सहकार्य हो, जसले नेपालको पर्यटन र विलासी होटल व्यवसायलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

नेपालको पर्यटन विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको यस जेडब्ल्यू म्यारियट होटललाई सन् २०३१ को प्रारम्भसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

होटलमा २२१ वटा अत्याधुनिक र विलासी अतिथि कक्ष रहने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा रहने हुनाले पर्यटकका लागि यो निकै पायक पर्ने एमएस ग्रुपले जनाएको छ । यहाँबाट काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूमा सहज पहुँच हुनेछ ।

होटलमा विभिन्न स्वादका भोजनालय, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल र जेडब्ल्यू गार्डेन रहनेछन् ।

ठूला कर्पोरेट इभेन्ट र विवाहका लागि होटलमा १ हजार ६०० वर्ग मिटरभन्दा बढी क्षेत्रफलको विशाल कार्यक्रम तथा सभास्थल निर्माण गरिने जनाइएको छ ।

होटल व्यवस्थापन सम्झौता पत्रमा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका संचालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट एशिया-प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राज मेननले हस्ताक्षर गरे ।

साथै क्यापिटल होटलका तर्फबाट शशीकान्त अग्रवाल र म्यारियट इन्टरनेसनलका तर्फबाट डेभिड म्यारियटबीच थप सम्झौता आदानप्रदान गरिएको थियो ।

जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्याली, दक्षिण एसियामा म्यारियट इन्टरनेसनलको तीव्र गतिमा विस्तार भइरहेको पोर्टफोलियोको एउटा महत्त्वपूर्ण हिस्सा बन्ने विश्वास लिइएको छ ।
 

Share News