सगरमाथा आरोहण गरेकी डा भुषालले मनास्लु र आमादब्बल हिमाल आरोहण गर्ने

काठमाडाैं ।  नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् । डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ । सगरमाथाको सफल आरोहण गर्ने भुषाल पहिलो नेपाली महिला चिकित्सक हुन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भुषालले हाई अल्टिच्युड मेडिसिन फिजिसियन (उच्च उचाई चिकित्सक) स्पोर्टस मेडिसिन बन्ने आफ्नो इच्छा जाहेर गरिन् । उनले भनिन्, ‘आगामी २०२२ अक्टोबर, नोभेम्बरमा मनास्लु हिमाल र आमा दब्लम शिखर चढ्ने मैले योजना बनाएको छु ।’ उनले आगामी दिनमा हिमाल आरोहणमा रुची राख्ने तर यो विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगको लागि बाँसबारीमा हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेडमार्फत काम गर्ने योजना बनाएको बताईन् । उनले गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । काठमाडौंमै जन्मिएकी प्रितीको बुवाको जन्मथलो भने अर्घाखाँची हो ।

पर्यटनमन्त्री श्रेष्ठकोे पहिलो निर्णय : हेरिटेज मार्ग बनाउनेदेखि पर्यटन क्षेत्र उकास्नेसम्म

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताएका हुन । उनले आफू सांसद भएदेखि शुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताए । कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर उनले हस्ताक्षर गरे । उनले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । मन्त्री श्रेष्ठले आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो । निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताए । उनका अनुसार निगमले ६४औँ वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय गरिएको छ । निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्नेसमेत निगम व्यवस्थापनले निर्णय गरेको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने निगमले उल्लेख गरेको छ । निगममा नयाँ नेतृत्व आएसँगै तदारुकताका साथ प्रशासनिक कार्यमा देखिने गरी गतिशीलता तथा नीतिगत कार्यमा ठोस सक्रियतासहित कार्यारम्भ गरिएको पनि निगमले जनाएको छ ।