मेरो किसानले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई प्रविधिमार्फत आधुनिकीकरण गर्ने लक्ष्यका साथ सञ्चालित मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।  सोमबार कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुवै कम्पनीबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मेरो किसानले किसानहरूसँग प्रत्यक्ष सहकार्य गरी कृषि बीउ-बिजन उत्पादन, संकलन, भण्डारण र वितरणको कार्य गर्दै आएको छ ।  कम्पनीले डिजिटल प्लेटफर्मको माध्यमबाट उत्पादित कृषि उपजहरू सिधै उपभोक्तासम्म पुर्‍याउने कार्यलाई प्राथमिकता दिँदै आएको छ ।  सेयर निष्कासनपश्चात् कम्पनी पूँजी बजारमार्फत सर्वसाधारणसँग जोडिने र यसले कृषि प्रधान देश नेपालको कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न ठूलो सहयोग पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् । कम्पनीले आफ्नो व्यावसायिक योजनाअन्तर्गत चितवनको पटिहानीमा करिब ३.५ बिघा जग्गा खरिद गरी कृषि प्रशोधन केन्द्र र दूध डेरी निर्माणको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ ।  हाल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कृषि प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ । साथै आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आधुनिक दूध डेरी समेत सञ्चालन गर्ने तयारी भइरहेको छ । हस्ताक्षर कार्यक्रममा मेरो किसान लिमिटेडका तर्फबाट अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालकहरू सुनिल थापा र सन्तोष बस्नेतको उपस्थिति रहेको थियो ।  त्यस्तै, प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगानाको उपस्थिति रहेको थियो ।

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, एउटै कम्पनीको ४० प्रतिशत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा एनआरएन इनफ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाईटेड इदी मर्दी आर.बि. हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार एनआरएन इनफ्रास्ट्रक्चरको ४० प्रतिशत बोनस बापत ५१ करोड ३७ लाख ४८९ कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस बापत १४ लाख ६२ हजार ७१० कित्ता र युनाईटेड इदी मर्दीको ५ प्रतिशत बोनस बापत २ लाख ३० हजार ४१२ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का साढे ७ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा विभिन्न कम्पनीको ७ अर्ब ४९ करोड रुपैयाँको बोनस सेयर सूचीकृत भएको हो ।  चालु आवको ७ महिनामा २१ अर्ब ९६ करोड रुपैयाँको साधारण सेयर (आईपीओ) सूचीकृत हुँदा ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर सूचीकृत भएको छ ।  यसअवधिमा ७ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड रुपैयाँको डिबेन्चर, ९२ करोड ५० लाख रुपैयाँको एफपीओ र २ करोड २९ लाख रुपैयाँको अन्य गरी कुल ५० अर्ब ९४ करोड रुपैयाँको थप सेयर नेप्सेमा सूचीकृत भएका छन् ।  समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १३ करोड रुपैयाँको म्युचुअल फण्ड, ६ अर्ब ६४ करोड रुपैयाँको साधारण सेयर, ४ अर्ब ४१ करोड रुपैयाँको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल २४ अर्ब ४२ करोड रुपैयाँको सेयर निष्काशनका लागि अनुमति दिएको छ ।