काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घटेर २ हजार ६५३.४० विन्दुमा बन्द भएको छ । बजार परिसूचक ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
शुक्रबार ३४५ वटा कम्पनीको ८५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । अघिल्लो दिन बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कारोबार भएका कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ ।
शुक्रबार सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल फाइनान्सको सेयर मूल्य करिब १५ प्रतिशतले वृद्धि हुँदा खानी खोला हाइड्रोपावरको मूल्य ११.५ प्रतिशतले बढेको छ । यस्तै अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य भने १३.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रह्यो । उक्त बण्डको ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९को करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १७ करोड ५० लाख रुपैयाँ नाघेको छ ।
शुक्रबार ५ उपसमूह हरियो रहँदा ८ उपसमूह ओरालो लागेका छन् । वित्त उपसमूह सबैभन्दा धेरै १।०६ प्रतिशतले बढेको छ । विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ ।